Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमेक इन नेपाल ‘स्वदेशी’मा आबद्ध स्वदेशी उत्पादनलाई सहुलियत दिन सरकार सकारात्मक

मेक इन नेपाल ‘स्वदेशी’मा आबद्ध स्वदेशी उत्पादनलाई सहुलियत दिन सरकार सकारात्मक


काठमाडौं । उद्योग सचिव डा. तोय नारायण ज्ञवालीले मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध हुने सदस्यहरूलाई सहुलियत दिन सरकार सकारात्मक रहेको बताएका छन् ।

आठौँ उद्योग दिवसको अवसरमा नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको ‘परिसंघमा परिचर्चा’नामक अन्तरक्रियामा उनले उद्योगीहरूको समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । औद्योगिक पूर्वाधार, लगानी पूर्वाधार, योजनामा मन्त्रालयले काम गरिरहेको भन्दै उनले उद्योग मन्त्रालय उद्योगीहरूलाई सहजीकरण गर्ने मन्त्रालय रहेको बताए । उनले आगामी कम्तीमा १० वर्षका लागि औद्योगिक नीति के हुनुपर्ने हो भन्ने विषयमा काम गरिरहेको जानकारी गराए ।

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले सरकारसँगको सहकार्यमा अगाडि बढाइरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानमा आबद्ध सदस्यहरूलाई सहुलियत दिन आग्रह गरेका थिए । भारत, अष्ट्रेलियालगायत मुलुकमा सरकारको अग्रसरमा मेक इन अभियान सञ्चालन भइरहेकोमा नेपालमा परिसंघको अग्रसरतामा मेक इन नेपाल अभियान सञ्चालन भइरहेको छ । मेक इन नेपाल अभियानमा आबद्ध उत्पादनहरूलाई सहुलियत दिइए स्वदेशी उत्पादन बढाउन र निर्यात गर्न प्रोत्साहन मिल्ने अध्यक्ष अग्रवालले बताए ।

उद्योग मन्त्रालय उद्योगीहरूको फोकल मन्त्रालय बन्नुपर्नेमा जोड दिँदै उनले त्यसले उद्योगहरूको महत्व बढाउने र उद्योगीहरूको समस्या समाधानमा अन्य मन्त्रालय एवं सरोकारवाला पक्षसँग समन्वय गर्न सहयोग गर्ने बताए । उनले नीतिगत स्थिरतामा जोड दिँदै निश्चित अवधिसम्म नीति परिवर्तन नुहने गरी उद्योगी, लगानीकर्तालाई आश्वस्त पार्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले नेपाल उद्योग परिसंघले औद्योगिक विकासका लागि प्रभावकारीरूपमा आफ्ना गतिविधिहरूलाई अगाडि बढाउँदै आएको बताए । उनले उद्योग क्षेत्रको विकासका लागि गहन अध्ययन गरेर परिसंघ अगाडि बढ्दै आएको भन्दै सरकारले निजी क्षेत्रबाट यस्तै प्रयासको अपेक्षा गरेको बताए । निजी क्षेत्र र सरकार मिलेर नै औद्योगिक विकास गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै परिसंघको उद्योग समिति सभापति गोकुल भण्डारीले आयात प्रतिस्थापन सम्भव भएका वस्तुहरूको आयात निरुत्साहित गर्नुपर्ने बताए । उद्योग तथा लगानी प्रवद्र्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानुनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन एकीकृत औद्योगिक विकास ऐन तर्जुमा गरी कार्यान्वयन गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूले राखेका सुझाव एवं जिज्ञासालाई उद्योग सचिव ज्ञवाली र विभागका महानिर्देशक तिवारीले सम्बोधन गरेका थिए । कार्यक्रममा परिसंघका उपाध्यक्षहरू राजेश अग्रवाल, विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, परिसंघका महानिर्देशक दिपकराज जोशीलगायत परिसंघ सदस्य उद्योगी व्यवसायीहरू सहभागी थिए । यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार’ रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया