Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा रहेका श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा समेट्न आग्रह

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा समेट्न आग्रह


काठमाडौं । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा समेट्न आग्रह गरेको छ । सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा संघकी कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सरकारले तत्काल सकारात्मक पहल गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा उनले संघले स्थापनाकालदेखि नै निकै प्राथमिकताका साथमा वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि नेपाल सरकारलगायत सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै आएको स्मरण गराउँदै विदेशमा रहेका बहुसंख्यक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेट्न सरकारको ध्यानाकर्षण समेत गराइन् । विदेशमा रहेका श्रमिकको श्रमको ठूलो हिस्सा नेपालमा रेमिट्यान्सको माध्यमबाट भित्रिरहेकोले उनीहरूलाई आफ्नो देशप्रति थप जिम्मेवार र अपनत्व महसुस गराउन सक्ने उनको भनाइ थियो ।

संघले वैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई आर्थिक, कानुनीलगायतका सहयोग र परामर्श समेत दिँदै आएको जानकारी गराउँदै उनले सरकारसँग सहकार्यका लागि तत्पर रहेको बताइन् ।

अध्यक्ष थापाले नेपाली कामदरहरूलाई वैदेशिक रोजगारमा जानुअघि अनिवार्यरूपमा सीपमूलक तालिम र गन्तव्य मुलुकको भाषा र रहनसहनबारे जानकारी दिनु जरुरी रहेको उल्लेख गरिन् । यसका लागि सातवटै प्रदेशमा सीपमूलक तालिम केन्द्र स्थापना गर्न जरुरी रहेको र यसका लागि संघले नेपाल सरकारसँग समन्वय गरिरहेको छ । संघले झण्डै एक दशकदेखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षामा समेट्नको लागि नेपाल सरकारसँग पहल गर्दै आएको छ ।

वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक कार्यविधि बनाई तत्काल कार्यान्वयनका लागि एक उच्चस्तरीय संयन्त्रमार्फत आवश्यक प्रक्रियाहरू अघि बढाउनका लागि संघ र सामाजिक सुरक्षा कोषबीच सहमतिपत्रमा हस्तारक्षर सम्पन्न भइसकेको छ । सो सम्झौतापत्रअनुरूप सहकार्य गरी संघ अघि बढ्न तयार रहेको अध्यक्ष थापाको भनाइ छ । त्यो सम्झौतालाई कार्यान्वयनमा ल्याउन समेत उनले सरकारसँग आग्रह गरिन् ।

देशमा रहेका नेपालीको सामाजिक सुरक्षाका लागि रोजगारदाता मुलुकलाई पनि जिम्मेवार बनाउन पहल गर्नुपर्ने आवश्यकता उनले जोड दिइन् । जीवनको उर्वर समय र उमेरमा वैदेशिक रोजगार गएका तर त्यही वैदेशिक रोजगारबाट घाइते भएर वा अंगभंग भएर स्वदेश फर्किएकाहरूको जीवनयापनका लागि सामाजिक सुरक्षा अनिवार्य रहेको उनको भनाइ छ । अहिले सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई यो योजनामा जोड्नका लागि आवश्यक कार्यविधि संशोधनसहित पारित भइसकेको तर कार्यान्वयनमा आउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् । यसैगरी अध्यक्ष थापाले सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, नेपालमा सीप तथा तालिम केन्द्र स्थापना गर्न र रिइन्ट्रिग्रेसनमा संघले सरोकारवाला निकायहरूसँग पहल गरिरहेको जानकारी गराइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया