Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकञ्चनपुरमा पनि कोरोना भाइरस जोगिन सचेतना अभियान सुरु

कञ्चनपुरमा पनि कोरोना भाइरस जोगिन सचेतना अभियान सुरु


कञ्चनपुर, फागुन २५

चीनलगायत विश्वभरमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण नागरिकहरुको स्वास्थ्यमा पर्नसक्ने असरलाई मध्यनजर गरी कञ्चनपुरका विभिन्न स्थानीय तहहरुले पनि सचेतना अभियान सुरु गरेका छन् । नोवल कोरोना भाइरस नेपालमा पनि भित्रिनसक्ने सम्भावना बढेपछि कञ्चनपुरका अधिकांश स्थानीय तहहरुले बढी भीडभाड र जमघट हुने मेला महोत्सव, चाडपर्व, दिवस, भेला, सभा समारोह, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न नगराउन सार्वजनिक रुपमा आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड –१९) छिमेकी राष्ट्र भारतमा पनि देखापरेको र भारतसँगको खुल्ला सिमानाका कारण नेपालमा आवतजावत बढी हुने भएकोले कञ्चनपुरको दक्षिणी सीमा बेलौरीको वैशाखा भन्सार नाकामा स्वास्थ्य परीक्षणका लागि बेलौरी नगरपालिकाले हेल्थ डेस्क स्थापना गर्ने तयारी गरेको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिए । उनका अनुसार दक्षिणी क्षेत्रबाट भारतमा आवतजावत गर्दा वैशाखा भन्सार नाकाको बाटो मात्रै प्रयोग गर्न आग्रह गरिएको छ । फागुन २५ गते आइतबारका दिन विभिन्न नगरपालिका तथा संघ÷संस्थाले गर्ने भनिएको नारी दिवस विशेष कार्यक्रम र रानाथारु समुदायको होरी मिलनलगायतका सबै कार्यक्रम पनि स्थगित गरिएको नगर प्रमुख चौधरीले बताए ।
कोरोना भाइरसको संक्रमणबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षणहरु देखिने भएकोले यस्ता लक्षणहरु देखिनासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिए । यस रोगबाट बच्नका लागि साथीभाइहरुसँग हात नमिलाउने, साबुन पानीले राम्ररी हात धुने, मुखमा मास्क प्रयोग गर्ने, श्वासप्रश्वासका बिरामीको नजिक नजाने, जनावरको सम्पर्कबाट टाढा रहने, अण्डा तथा मासुलगायतका खानेकुरा राम्ररी पकाएर मात्रै सेवन गर्न अपिल गरिएको छ ।

यस्तै भीमदत्त नगरपालिकाले कोरोना संक्रमणलाई मध्यनजर गरी नगरको भारतसँग सीमा जोडिएका क्षेत्र ब्रह्मदेव, गड्डाचौकी र दोधारा चाँदनी झोलुङ्गे पुलमा स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क राख्ने तयारी गरेको छ । भीमदत्त नगरपालिकाको विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले ब्रह्मदेब र झोलुङ्गे पुलमा डेस्क राख्ने निर्णय गरेको हो । कोरोना संक्रमण फैलिएपछि पश्चिमी सीमा नाका गड्डाचौकीमा यस अघि नै स्वास्थ्य जाँच सुरु गरिएको छ । गड्डाचौकीस्थित हेल्प डेस्कले भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँच गर्दै आएको छ । गड्डाचौकीमा दुई वर्षदेखि हेल्थ डेस्क सञ्चालन हुँदै आएको छ । विपद् व्यवस्थापन समितिले गड्डाचौकी बाहेक ब्रह्मदेव र झोलुङ्गे पुल भएर पनि भारतबाट आउने भएकाले हेल्थ डेस्क राख्ने तयारी गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘कोरोना संक्रमण अहिलेको विश्वव्यापी समस्या हो, त्यसबाट जोगिन प्रचारप्रसार र सचेतनाका कार्यक्रम आवश्यक छन्’, नगर प्रमुख विष्टले भने, ‘त्यसका लागि भारतबाट आउने व्यक्तिहरुको स्वास्थ्य जाँचका लागि गड्डाचौकीमा स्वास्थ्य जाँच भइरहेको छ, त्यसबाहेक ब्रह्मदेव र झोलुङ्गे पुलबाट आउने व्यक्तिहरुका लागि पनि हेल्थ डेस्क राख्ने तयारी गरिएको छ ।’ गड्डाचौकीस्थित हेल्थ डेस्कलाई स्वास्थ्य जाँचका लागि बिहीबार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले दुई थर्मोमिटर दिएको छ । ती थर्माेमिटरबाट स्वास्थ्य जाँच भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया