Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीमा आर्थिक मन्दीको खतरासँगै पलायन हुनुपर्ने त्रास

पूर्वी क्षेत्रका उद्योगी तथा व्यवसायीमा आर्थिक मन्दीको खतरासँगै पलायन हुनुपर्ने त्रास


विराटनगर । प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनले गर्दा उद्योगी तथा व्यवसायीको ध्यान चुनावतिरै केन्द्रित थियो । तर अब चुनाव सकिएपछि उनीहरूको ध्यान आर्थिक क्षेत्रमा नै गएको छ । उनीहरूमा आर्थिक संकट आउने चिन्ता व्यक्त गर्न थालेका छन् ।

बिस्तारै उद्योगी व्यवसायीको ध्यान अब आफ्नो कर्जा र ब्याज बुझाउनेतर्फ आकृष्ट हुन थालेको उद्योगी तथा व्यवसायीले बताउन थालेका छन् । अहिलेको अवस्थामा वित्तीय संस्थाहरू धराशायी हुँदै गएका छन् । ‘वित्तीय संस्था चल्ने जनताको पैसाले हो । वित्तीय संस्थाले त पुलको काम मात्र गर्ने हो । ऋण लिएकाले कर्जा तिर्दिनँ भनेर हात उठाइसकेपछि बचतकर्ता माझ चिन्ताजनक अवस्था बन्नु स्वाभाविकै पनि हो । ऋणीहरूले हामी ऋण तिर्दैनौँ भनेर बैंक र वित्तीय संस्थाको विरोधमा सडक आन्दोलनको घोषणा गर्नेबित्तिकै देशको अर्थतन्त्र कता पुग्ने हो, थाहा छैन’, यहाँका एक उद्योगीले भने ।

सुनसरी मोरङ औद्योगिक करिडोरमा लामो समयदेखि उद्योग सञ्चालन गर्दै आएका एक उद्योगीले दिएको जानकारीअनुसार मुलुकमा आर्थिक मन्दीले गर्दा व्यापार व्यवसाय सबै घाटामा छन् । त्यसमा थप वित्तीय संस्थाले ब्याज बढाइदिँदा सबै उद्योगी तथा व्यवसायी ठूलो मर्कामा परेका छन् । भनसुन गर्न नसक्नेहरू राजस्व बुुझाउनुपर्ने कार्यालयमा लाइन बस्न थालेका छन् । बैंकका चेयरम्यान, अध्यक्ष आफ्नो कसैका आफन्त भए तिनकै घरमा कुद्ने क्रम पनि अहिले बढेको छ । बैंक तथा वित्तीय संस्थाले मनोमानी गर्दै ब्याजदर बढाउँदा आफूले जे गर्दा पनि हुन्छ भन्ने मनोबल बढ्दै गएको अवस्थाले गर्दा अबको देशको अर्थतन्त्र कुन अवस्थामा पुग्ने हो थाहा नभएको कुरा ती उद्योगीले बताएका छन् ।

करिडोरमा बैंकको प्रेसर सहन नसकेर ठूला–ठूला घटना घटेको र अहिलेसम्म पनि अनुसन्धानको क्रममा रहेर पत्ता लाग्न नसकेको इतिहास जीवित्तै रहेको व्यवसायी बताउँछन् । विराटनगरमा मात्रै पनि बैंक तथा वित्तीय संस्थाका कारण थुुप्रै घटना घटिसकेको स्मरण गर्दै अर्का एक उद्योगीले भने, ‘कति व्यवसायी आफैँ मरे, कतिले परिवारसहित विराटनगरबाट विस्थापित भए, विराटनगरमा करोडपति रहेका उद्योगी व्यवसायी पनि बैंककै कारण सडकपति पनि भएका छन् ।’ यस्तो अवस्थाबाट गुुज्रिएको देशको अर्थतन्त्रलाई सरकार र सम्बन्धित निकायबाट अध्ययन एवं अनुसन्धान गरी सही दिशामा ल्याउने काम अब आउने सरकारले गम्भीर भएर पहल गर्नुुपर्ने उनीहरूको भनाइ छ । उद्योग व्यवसायी क्षेत्रमा देखिएको यो विकराल अवस्थालाई सरकारले गम्भीर रूपमा नलिई आलटाले नीति लिएमा करिडोरका चल्तापुर्जा उद्योगीदेखि सामान्य व्यवसायी समेत निकट भविष्यमै पलायन हुने क्रम बढ्न जाने कुरालाई कसैले टाल्न नसक्ने खतरा बढ्न थालेको उद्योगी तथा व्यवसायी नै बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया