Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योग संगठन मोरङले ‘विराट एक्स्पो’ गर्ने

उद्योग संगठन मोरङले ‘विराट एक्स्पो’ गर्ने


विराटनगर । उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने उद्देश्यका साथ विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको परिसर एवं पुरानो हवाई फिल्डमा आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म सञ्चालन हुने संगठनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । उद्योग संगठनले सबैभन्दा पहिले एक्स्पोको आयोजना कोशी महोत्सवका नामबाट २०५३ सालमा आयोजना गरेको थियो । २०७९ मा विराट एक्स्पोको सातौँ संस्करणसम्म आइपुग्दा यो एक्स्पो नेपालमा आयोजना हुने थोरै औद्योगिक प्रदर्शनीमध्ये आफ्नै छुट्टै औद्योगिक प्रदर्शनीको पहिचान र ब्रान्डको स्थापना गर्न सफल भएको आयोजकको दाबी छ । विराट एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान हुने बताइएको छ । एक्स्पोले उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त सघाउ पु-याउने अपेक्षा राखेको आयोजकले जनाएको छ ।

कृषि–उत्पादनको व्यवसायीकरण गर्न एक्स्पोको अहम् भूमिका हुने दाबी आयोजकको छ । त्यसबाहेक यो एक्सपोबाट पर्याप्त रूपमा पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुने र आन्तरिक पर्यटनको प्रवर्द्धन हुने दाबी पनि उद्योग संगठन मोरङको रहेको छ । एक्स्पोबाट नवप्रवर्द्धक स्टार्टअपहरूको व्यावसायिक विकासमा सहयोग पुग्ने र त्यसबाट स्वदेशी उत्पादनको उत्पादकत्व एवं बजारको दायरा फराकिलो बनाउन ठूलो योगदान पुग्ने बताइएको छ । उद्योग संगठनले यस पटकको सातौँ संस्करणमा केही फरक र नयाँपन दिने प्रयत्न गरेको भन्दै कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै यस पटकको एक्स्पोलाई विशुद्ध औद्योगिक एक्स्पोको फ्लेवर दिन खोजिएको जानकारी दिएको छ । आर्थिक एवं औद्योगिक क्षेत्रका विषयगत मुद्दाहरूमा नीतिगत छलफल गरेर अनुभवको आदान–प्रदान गर्न दैनिकरूपमा फरक–फरक विषयमा प्राविधिक सत्र, अन्तरक्रिया तथा सेमिनारहरूको आयोजना पनि एक्सोमा हुने जानकारी दिइएको छ ।

एक्स्पोमा प्रदेश नम्बर १ मा लगानीका सम्भावित क्षेत्रहरूको लगानी पेभिलियन, नवउद्यमीहरूको उद्यमशीलता विकास गर्न स्टार्टअप पेभिलियन, श्रम–रोजगार र सीप फाँटका लागि छुट्टै पेभिलियन तथा पर्यटन क्षेत्रलाई पनि छुट्टै पेभिलियनको आयोजकले व्यवस्थापन गरेको जानकारी संगठनका अध्यक्ष सुयेश प्याकुरेलले दिए । उनले विराट एक्स्पो–२०७९ को आन्तरिक तयारीका सबै कार्यहरू पूरा भएको पनि जानकारी दिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया