Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीका लागि १०८ मुलुक खुला

वैदेशिक रोजगारीका लागि १०८ मुलुक खुला

१० मुलुकसँग मात्र श्रम सम्झौता


काठमाडौं । नेपाल सरकारले संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान चाहनेका लागि एक सय आठ वटा मुलुक खुला गरेको छ । तर वैदेशिक रोजगारीका लागि यति धेरै मुलुक खुला गर्दा सरकारले १० वटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ ।

नेपाल सरकारले कतार, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मलेसिया, मौरिसस र सयुक्त अधिराज्य (बेलायत) सँग मात्र श्रम सम्झौता तथा द्विपक्षीय समझदारी गरेको छ ।

यसमध्ये नेपाल सरकार र कतार, यूएई, दक्षिण कोरिया, बहराइन, मलेसिया, मौरिसस र बेलायतका सरकारसँग श्रम सम्झौता गरिएको छ । नेपाल सरकार र जापान सरकारबीच सहयोग समझादारी सम्झौता, नेपाल सरकार र इजरायल सरकारबीच ‘संयुक्त परीक्षण कार्यक्रम’ सम्झौता तथा जोर्डन सरकारबीच साधारण दुईपक्षीय सामान्य सम्झौता भएको छ । सन् २००५ मा कतार, सन् २००७÷२०१९ मा यूएई, सन् २००७ मा दक्षिण कोरिया, सन् २००८ मा बहराइन, सन् २००९÷२०१९ मा जापान, सन् २०१५÷२०२० मा इजरायल, सन् २०१७ मा जोर्डन, सन् २०१८ मा मलेसिया, सन् २०१९ मा मौरिसस र सन् २०२२ मा बेलायतसँग नेपाल सरकारले श्रम तथा द्विपक्षीय सम्झौता गरेको हो ।

१५औँ योजनामा वैदेशिक रोजगारीको हकमा यसलाई सुरक्षित मर्यादित र व्यवस्थित गर्ने बताइएको छ । जसअनुरुप सरकारले वैदेशिक रोजगारका चरणहरुलाई सुरक्षित, शोषणमुक्त, मर्यादित र अधिकतम प्रतिफलदायक बनाउने रणनीति लिएको थियो । जसको कार्यनीति अर्थात् कार्यान्वयनका लागि प्रमुख गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता गर्नुका साथै विदेशमा रहेका नेपाली श्रमिकहरुको हक–हितको संरक्षण र सामाजिक सुरक्षाका लािग श्रम कूटनीति अवलम्बन गरिने, देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान र व्यवस्थापन गर्दै जगेडा श्रमिकलाई गन्तव्य मुलुकसँग श्रम सम्झौता गरी वैदेशिक रोजगारमा पठाउने व्यवस्था गरिने, वैदेशिक रोजगारका लागि जानेहरुको पूर्व अभिलेख राखी त्यसलाई सुरक्षित, मर्यादित एवम् व्यवस्थित गरिने तथा साथै सबैखाले विकृतिहरुको कडाइका साथ नियन्त्रण गरिने लगायतका विषयहरु समावेश गरेको पाइन्छ तर सरकारले यसलाई कार्यान्वयन गर्न नसक्दा समस्या यथावत् रहेको पाइन्छ । सरकारले आफ्नो कार्यनीतिमा प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने बताए पनि त्यसलाई कार्यान्वयन गर्न सकेको पाइँदैन ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकका लागि गन्तव्य मुलुकको रुपमा खाडीका छ राष्ट्र कतार, यूएई, साउदी अरब, ओमान, बहराइन, कुवेत र मलेसिया रहेका छन् । ती सम्पूर्ण मुलुकमा दुईपक्षीय श्रम सम्झौता हुनसकेको छैन जसले गर्दा नेपाली श्रमिकहरु गन्तव्य मुलुकमा सुरक्षित रहेको पाउँदैनौँ । सरकारी तथ्यांकले नै वैदेशिक रोजगारी सुरक्षित नरहेको देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा दुई सय ८० जना नेपालीले ज्यान गुमाएका छन् । जसमा श्रम स्वीकृति लिएर गएका दुई सय ७१ जना पुरुष र नौ जना महिलाले बिरामी तथा दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

यस्तै, संस्थागत श्रम स्वीकृतिका लागि एक सय आठवटा मुलुक खुला गरे पनि नेपाली श्रमिकहरु व्यक्तिगत प्रयासमा एक सय ४० वटाभन्दा बढी मुलुक गएको मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले अफगानस्तिान, इराक र लिबियाको प्रतिबन्धलाई भने यथावत् राखेको छ । श्रम तथा द्विपक्षीय सम्झौता नहुँदा असुरक्षित रोजगारीको उपमा पाएको वैदेशिक रोजगारीका समस्या घट्नेभन्दा बढ्ने निश्चित रहेको छ । संस्थागत र व्यक्तिगत प्रयासमा कामका लागि यति धेरै मुलुकमा नेपाली श्रमिक पुग्दा पनि त्यसलाई व्यवस्थित गर्न सरकारले सकेको छैन । दर्जनौँ मन्त्रीहरु फेरिँदा पनि वैदेशिक रोजगारीको समस्या जहाँको त्यहीँ रहेको जानकारहरुको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया