Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२९ वर्षयता पहिलोपटक उच्च दरमा घट्यो कच्चा तेलको भाउ

२९ वर्षयता पहिलोपटक उच्च दरमा घट्यो कच्चा तेलको भाउ


काठमाडौं, फागुन २७
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २९ वर्षयता पहिलोपटक उच्च दरमा घटेको छ । पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक) र रुसबीच उत्पादन कटौती गर्न सहमति नजुटेपछि सोमबार तेलको भाउ २५ प्रतिशतभन्दा बढीले घटेको रोयटर्सले जनाएको छ ।रोयटर्सका अनुसार ब्रेन्ट एलसीओसीएल क्रुड फ्युचर प्रतिब्यारेल २७ प्रतिशतले घटेर ३५.५ डलरमा झरेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि २७ प्रतिशतले घटेर प्रतिब्यारेल ३२.३० डलर कायम भएको छ । सन् १९९१ यता पहिलोपटक कच्चा तेलको मूल्यमा धेरै गिरावट आएको हो ।

तेल बजारलाई सन्तुलनमा राख्न ओपेकले रुससँग आवश्यक कदम चाल्न आग्रह गरे पनि रुसले नमानेपछि कच्चा तेलको मूल्यमा गिरावट आएको हो । यसका साथै तीन वर्षयताको ओपेक–रुस सहकार्यको सहमति पनि तोडिएको छ । यसलगत्तै साउदी अरेबियाले कच्चा तेल उत्पादन तीव्र पार्ने योजना अघि सारेको छ । कोरोना भाइरसको कारण विश्वभर नै तेलको मागमा कमी आउनुका बाबजुद रियादले अप्रिलदेखि प्रतिदिन १ करोड ब्यारेल तेल उत्पादन गर्ने योजना बनाएको हो । साउदी अरेबियाले गत सप्ताहान्तमा आधिकारिक बिक्री मूल्य अप्रिलका लागि सबै ग्रेडको कच्चा तेल प्रतिब्यारेल ६ देखि ८ अमेरिकी डलर तोकेको छ । उसले गत महिनाहरुमा ९७ लाख ब्यारेल प्रतिदिन उत्पादन गरिरहेको थियो ।

ओपेक सदस्यराष्ट्रहरु रुसमाथि दबाब सृजना गर्न खोजिरहेका छन् । रुस विश्वको दोस्रो ठूलो तेल उत्पादक देश हो । गत हप्ता ओपेकले गरेको उत्पादन कटौती प्रस्ताव रुसले अस्वीकार गरेपछि उनीहरुले दबाब दिने प्रयास गरिरहेका छन् । रुसले भने ६ देखि १० वर्षसम्म आफू तेलको कम मूल्यको सामना गर्न तयार रहेको बताएको छ । विश्व तेल उत्पादनमा अमेरिका, रुस र साउदी अरेबिया प्रमुख राष्ट्र हुन् ।

साउदी अरेबिया, रुस र अन्य मुख्य तेल उत्पादक राष्ट्रले अमेरिकी तेल उत्पादन दबाउन सन् २०१४ मा पनि बजार हिस्साको लागि प्रतिस्पर्धा गरेका थिए । तर अमेरिका भने ओपेक सदस्य राष्ट्र होइन । हाल विश्वमा धेरै तेल अमेरिकाले नै उत्पादन गर्दै आएको छ । इन्टरनेशनल इनर्जी एजेन्सीले सोमबार तेलको माग सन् २००९ यताकै पहिलोपटक सन् २०२० मा खुम्चिने बताएको छ । उसले आफ्नो यसअघिको १० लाख ब्यारेल प्रतिदिन उत्पादनको वार्षिक अनुमान प्रक्षेपण संशोधन गर्दै ९० हजार ब्यारेल प्रतिदिनमा खुम्चिने बताएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया