Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा गएका युवाको स्वास्थ्यबारे सरकार नै अनभिज्ञ

वैदेशिक रोजगारीमा गएका युवाको स्वास्थ्यबारे सरकार नै अनभिज्ञ


प्रवीण राउत
काठमाडौँ, फागुन २८
वैदेशिक रोजगारीमा गएका युवाहरुको स्वास्थ्यबारे स्वयं सरकार नै अनभिज्ञ रहेको पाइएको छ । विदेशमा रहेका युवाहरु कोरानो भाइरस (कोभिड १९) बाट प्रभावित भए/नभएको बारे आर्थिक दैनिकले स्वास्थ्य, श्रम, परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग जानकारी माग्दा सबै मन्त्रालय र कार्यालयले अनभिज्ञता जनाउँदै पन्छिएका हुन् ।

वैदेशिक रोजगारीमा गएका युवाहरुको अवस्थाबारे सबैले स्पष्ट संख्या समेत दिन सकेनन् भने अर्को मन्त्रालयको नाम लिँदै पन्छिए । नेपाली युवाहरु एक सय ५० भन्दा बढी मुलुकमा पुगेका छन् । करिब ४० लाख बढी युवाहरु वैदेशिक रोजगारीमा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यसमध्ये धेरै मलेसिया, खाडी देशहरु र दक्षिण कोरियामा छन् । मलेसिया तथा खाडी मुलुकमा कोरोनाको संक्रमण देखापरेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । धेरै नेपाली युवा रहेको कारण ती देशमा रहेका युवाहरुको स्वास्थ्य चासो सरकारले लिनु उसको कर्तव्य भए पनि बेवास्ता गरेको पाइएको हो ।

परराष्ट्रले केही भनेको छैन कसरी थाहा पाउनु ? : श्रम
श्रम मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा गएका युवाहरुमध्ये कति संख्यामा कोरोना भाइरसबाट प्रभावित वा संक्रमित हो भन्ने संख्याको विषयमा आफूहरु जानकार नभएको बताए । ‘प्रभावित वा संक्रमितको संख्याको विषयमा जानकारी भएन’, उनले आर्थिक दैनिकसँग भने, ‘यस विषयमा परराष्ट्रलाई जानकारी हुन्छ । परराष्ट्रमार्फत मन्त्रालयलाई कुनै जानकारी आएको छैन ।’

वैदेशिक रोजगारीमा गएका युवाहरुमध्ये कति संख्यामा कोरोना भाइरसबाट संक्रमित छन् वा छैनन् भन्ने विषय थाहा पाउनु आवश्यक रहेको उनले स्वीकारे । ‘विदेशमा रहेका कति नेपाली कोरोना प्रभावित छन् भनी थाहा पाउनुपर्छ’, उनले भने, ‘तर को–को प्रभावित छन् भनेर सार्वजनिक भने नगर्दा राम्रो हुन्छ ।’

विश्व स्वास्थ्य संगठनको निर्देशन सबै मुलुकले पालना गर्नुपर्ने तथा संगठनले प्रभावितहरुलाई यात्रामा बन्देज लगाएकोले प्रभावित भएको खण्डमा भने सोहि मुलुकमा उपचार हुने बताए । ‘प्रभावित भएको खण्डमा सोही मुलुकमा उपचार हुन्छ’, उनले भने, ‘त्योबाहेकको अवस्था अर्थात् रेस्क्यु (उद्धार) गर्नुपर्ने अवस्थामा भने सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा निर्माण भएको कार्यदलले निर्णय लिन्छ ।’

परराष्ट्रलाई सोध्नुहोस् भन्दै पन्छियो प्रधानमन्त्री कार्यालय
प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र कुमार पौड्यालले वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोना भाइरस संक्रमणको वा प्रभावितको संख्या थाहा नभएको बताए । ‘विदेशमा रहेका नेपालीहरुको अवस्थालाई लिएर परराष्ट्रबाट जानकारी आउनुपर्ने हो’, उनले भने, ‘प्रभावित वा संक्रमण भए/नभएको बारेमा जानकारी छैन । यसको लागि स्वास्थ्य मन्त्रालयलाई समेत थाहा हुन सक्छ । स्वास्थ्यमा सम्पर्क गर्दा जानकारी आउँछ कि !’

परराष्ट्र मन्त्रालय भन्छ : थाहा छैन
यता स्वास्थ्य र परराष्ट्रले समेत सो विषयमा आफूहरुलाई जानकारी नभएको जवाफ दिएका छन् । परराष्ट्रका अधिकारीहरुले समेत कोरोना भाइरसको संक्रमण र प्रभावितबारे आफूहरुलाई जानकारी नभएको बताए । ‘हामीले पनि सञ्चारमाध्यममा आएअनुरुप वैदेशिक रोजगारीमा गएका युवाहरुमा कोरोना भाइरसको संक्रमण देखिएको भनेर थाहा भएको हो’, ती अधिकारीले भने, ‘आधिकारिक रुपमा भने जानकारी कतैबाट आएको छैन ।’

कोरोनाबारे जानकारी दिइरहेका छौ“ : स्वास्थ्य मन्त्रालय
यता स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विकास देवकोटाले वैदेशिक रोजगारीमा गएका युवाहरुलाई कोरोना भाइरसबारे जानकारी गराइरहेको दाबी गरे । ‘सम्बन्धित दूतावासमार्फत सूचना प्रवाह गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न आग्रह गरेका छौँ’, उनले भने, ‘युवाहरुमा कोरोना भाइरसको संक्रमण भए/नभएको वा प्रभावित बनेको अवस्थाबारे भने जानकारी छैन ।’

विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अडनोम गेब्रियसले मार्च ९ मा एक सूचना गर्दै एक सयभन्दा बढी मुलुकले कोरोना भाइरस देखापरेको तथा कोरोना भाइरसबाट एक लाख मानिस प्रभावित भएको बताएका छन् । संगठनका अनुसार मलेसिया, इटाली, कतार, संयुक्त अरब इमिरेट्स (युएई) लगायतका मुलुक तथा अमेरिका, युरोपमा समेत कोरोना भाइरस देखा परेको जनाएको छ । यो भाइरस सुरुमा चीनमा देखिएको थियो । त्यसपछि फैलिएर विश्वव्यापी बनेको हो । हालसम्म यसबाट मर्ने संख्या चार हजार नाघिसकेको छ ।

युवाहरुको गुनासो : हामीलाई कुनै सूचना आएको छैन तर सुरक्षित छौं
वैदेशिक रोजगारीमा गएका युवाहरुले आफूहरु सुरक्षित रहेको बताएका छन् । आर्थिक दैनिकसँग अनलाइन सम्पर्कमा आएका उनीहरुले सुरक्षित रहे पनि सरकारबाट आएको सूचना थाहा नभएको गुनासो गरेका छन् । वैदेशिक रोजगारीको क्रममा मलेसिया गएका ३७ वर्षीय विकास श्रेष्ठ, ३४ वर्षीय पुण्डरी पौड्यालले आफूहरुलाई दूतावास तथा नेपाली नियोगहरुमार्फत कोरोना भाइरसबारे कुनै जानकारी नआएको बताए ।

२०१८ मा मलेसिया गएका पौड्याल एड माइनल कम्पनीमा कार्यरत छन् । जोरबारी सहरमा रहेको उक्त कम्पनीमा आफूहरु सुरक्षित रहेको उनले बताए । ‘हामी विभिन्न कम्पनीमा काम गर्ने १४/१५ जना नेपालीहरु एकै स्थानमा बस्दै आएको छौँ’, उनले भने, ‘हामी सुरक्षित छौं । यहाँ अन्य व्यक्तिहरु पनि सहज रुपमा हिँड्डुल गरेको हुदाँ अवस्था सामान्य छ ।’

श्रेष्ठले पनि आफूहरु कोरोनाबाट सुरक्षित रहेको बताए । आफूहरु अन्य दिनजस्तै दैनिक काममा जाने गरेको उनको भनाइ छ । त्यस्तै, दक्षिण कोरियाको उल्सन सहरमा काम गर्दै आएका भक्तपुर बालकोटका ३३ वर्षीय कुमार विष्टले राजदूतावास तथा कम्पनीले समेत कोरानाबाट सुरक्षित रहन आग्रह गरेको बताए । ‘राजदूतावासले सूचना जारी गर्दै कोरोनाको विषयमा थाहा दिएको छ’, उनले भने, ‘हामी १५/२० जना नेपालीहरु यहाँ छौं । कोरोनाको कारण असहज परिस्थिति छैन ।’ होन्डाई कम्पनीमा कार्यरत उनले कम्पनीमा नियमित काम गरिरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया