Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोटेश्वर–कलंकी सडकखण्डमा लेन प्रयोगमा नयाँ नियम

कोटेश्वर–कलंकी सडकखण्डमा लेन प्रयोगमा नयाँ नियम


काठमाडौँ, फागुन २८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न कोटेश्वर–कलंकी सडकखण्डको लेन प्रयोगमा नयाँ नियम लागू गर्नेभएको छ । नयाँ नियमअनुसार कोटेश्वर–कलंकी ८ लेन सडकखण्डमा यात्रुवाहक तथा मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने मुख्य (द्रुत) लेनबाट मात्र चलाउन पाउनेछन् । उक्त नियम चैत्र २ गतेदेखि लागू गरिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

पछिल्लो समय उपत्यकाको सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थितरूपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति बसाउन उक्त नियम लागू गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ‘यो सडक व्यवस्थित र सुविधायुक्त छ, यात्रुवाहक, मालवाहक र बिस्तारै गुड्ने गाडीहरू बाँया लेनबाट र साना हलुका र द्रुत गतिमा गुड्ने सवारी साधन दाहिने लेनबाट चल्ने अन्तर्राष्ट्रिय अभ्याससमेत रहेकोले यसलाई कार्यान्वयन गर्दा सडक अनुशासन कायम हुने र दुर्घटना न्युनीकरण हुने अपेक्षा गरिएको छ’, उनले भने ।

महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न ट्राफिक नियमको पालना, सडक अनुशासन र सडक सभ्यता अभिवृद्धि हुने र ट्राफिक नियमको पालन गर्ने प्रवृत्तिको समेत विकास हुने हुँदा यसको प्रभावकारी कार्यान्वयन गर्नका लागि सम्बन्धित सरोकारवाला निकायरसंघ संस्था, यातायात सञ्चालक र व्यवसायीहरू, नागरिक समाज आदिसँग छलफलसमेत गरेको जनाएको छ । यस नियम कार्यान्वयनको लागि ट्राफिक प्रहरीलाई सहयोग पुग्ने गरी अनुगमनको लागिसमितिसमेत गठन गरिएको महाशाखाले जनाएको छ ।

मासिक ८५ को हाराहारीमा सवारी दुर्घटना : कोटेश्वर–कलंकी १० किमि लम्बाइ भएको ८ लेनको उक्त सडकमा लेन अनुशासन पालना नहुँदा मासिक ८५ को हाराहारीमा सडक दुर्घटना हुने तथ्याङ्क रहेको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सवारी साधनहरूले जथाभावि लेनको प्रयोग गरी सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ ग्लास र साइड लाइटको प्रयोग नगरी जथाभावि ओभरटेक गर्ने, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउनेलगायतका असावधानीले दुर्घटनाको जोखिम बढेको हुनाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अवस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए । महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किमि प्रतिघण्टा र सर्भिस लेनमा २० किमि प्रतिघण्टाको दरले गति निर्धारण गरेको छ । यो नियम यसअघि नै महाशाखाले जडीबुटी–सूर्यविनायक सडकखण्डमा पूर्णरूपमा कार्यान्वयन गरिसकिएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया