Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा यसरी गरियो घोटाला

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा यसरी गरियो घोटाला

कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीले यसरी फत्ते गरे काम


काठमाडौं,नेपाल सरकारले काभ्रेको पनौतीमा रहेको आईटी पार्कमा जडान गर्नको लागि खरिद गरेको सेक्युरिटी प्रिन्टिङ मेसिनमा करोडौँको घोटाला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उक्त मेसिन खरिद गर्नका लागि बोलपत्र (टेण्डर) तयार पार्दैमा सेटिङ गरेर भ्रष्टाचार गरेको उजुरीकर्ताको दाबी छ ।दुईवटा प्याकेजमा भएको बोलपत्र आह्वानमा पहिलोमा ४० करोडभन्दा बढी र दोस्रोमा १८ करोड गरी ५८ करोडभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै आयोगमा गत मंसिर २८ गते उजुरी परेको हो ।

सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ सेन्टर) ले २०७७ फागुन २ मा आईएफबी नं.एसपीसी÷ जी÷एनसीबी–०१÷ ०७७–०७८ नेशनल कम्पिटिटिभ बिडिङ (एनसीबी)मार्फत सप्लाई, डेलिभरी, स्टलेसन एण्ड कम्युसनिङ अफ आई सेक्युरिटी डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टमको लागि र २०७९ असोज ४ आईएफबी नं. एसपीसी÷ जी÷एनसीबी– ०२÷०७९–०८० मार्फत सेक्युरिटी प्रिन्टिङ सप्लाई एण्ड डेलिभरी अफ एक्साइज स्टाम्प बोलपत्र आह्वान गरेको थियो ।

पहिलो बोलपत्र आईएफबी नं. एसपीसी÷ जी÷एनसीबी –०१÷०७७–०७८ मा म्याक्स इन्टरनेशनलले ७२ करोड ८८ लाख ८९ हजार सात सय ४० रुपैयाँमा सम्झौता गरेको थियो । सो बोलपत्रले दुई थान एचपी इन्डिगो–मोडल डब्लुएस ६९०० को पाटी कम्पनीको सिलिटर रिवान्डर इम्पेक्सन मेसिन, फलेक्सव भर्निस मेसिन र आईटी सिष्टम (सर्भर÷स्टोरेज÷स्विच) दिन कबुल गरेको थियो ।

यस बोलपत्रलाई मिलेमतोमा दिइएको योग्यताबाट प्रस्ट हुन्छ । यो ७३ करोडको ठेक्कामा एचपी इन्डिगो–मोडल डब्लुएस ६९०० को प्रेस हो तर ठेक्का प्रक्रिया मिलाउनको लागि बोलपत्रको पाना ३१ मा विशेष अनुभव बुँदा नं. ३ मा द मिनिमम सप्लाई भ्यालु अफ हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिष्टम अर क्रिटिकल आईटी सिष्टम (सर्भर अर इन्टरप्राइज स्टोरेज अर हाइपर कन्भरेज इन्फ्रास्ट्रक्चर) को तीन वर्ष ४० करोड भ्याटसहित काम गरेको अनुभव भएको हुनुपर्ने भनिएकोमा म्याक्स इन्टरनेशनलले प्रिन्टिङ मेसिन र अरु सम्बन्धित मेसिनहरु सप्लाई गरको अनुभव नै छैन ।

म्याक्स इन्टरनेशनल आई सिष्टम सप्लाई गर्ने कम्पनीको हो । यो कुरो म्याक्स इन्टरनेशनलको वेबसाइटमा नै उल्लेख गरिएको छ । योग्यतामा प्रिन्टिङ प्रोडक्सन सिस्टम अथवा क्रिटिकल आईटी सिस्टमको अनुभव भए पनि हुने भनेर म्याक्सले नै पाउने गरी मागेको थियो । अथवा भनेर प्रिन्ट प्रोडक्सन सिष्टमको अनुभव नभए पनि हुने भनेर ठेक्का निकाल्दा नै म्याक्सलाई ठेक्का दिने उद्देश्यले योग्यतामा नै अथवा राखिएको थियो ।

ठेक्कामा उल्लेख भएको ७ कलर डिजिटल प्रेस एचपी इन्डिगो–मोडल डब्लुएस ६९०० को एकथानको जम्मा भारतीय रुपैयाँ ५ करोड पर्नेछ भने पाटी कम्पनीको मेशिन एक थानको लगभग १.५० लाख युरो पर्छ भने आईटी सिस्टम १२ करोड भनेर दिइएको छ ।यस बोलपत्रमा एचपी इन्डिगो मेशिनको नाम उल्लेख नगरे पनि योग्यताक्रम एचपी इन्डिगोको मात्र मिल्ने गरी राखिएको हुँदा एचपी इन्डिगोबाहेक अर्को एक कम्पनीले १२ करोड कममा बोलपत्र हाल्दा सुरक्षण मुद्रणले अस्वीकृत गरेको थियो ।

यो बोलपत्र एनसीबीमार्फत म्याक्स इन्टरनेशनलले पाए पनि म्याक्स इन्टरनेशनलले फुजिटो प्रा.लि.लाई एलसी खोलेर एचपी इन्डिगो प्रिन्टिङ मेसिन आयात गरेको हो ।दोस्रो बोलपत्रको सम्बन्धमा प्रिन्ट्सेल इम्याजिङ प्रा.लि. ललितपुरसँग ३८ करोड ६४ लाख १७ हजार छ सय ४० रुपैयाँमा सम्झौता हुँदै छ । प्रिन्टसेल इम्याजिङ प्रालि ललितपुर भनेको फुजिटोको नेपालस्थित भगिनी कम्पनी हो ।

फुजिटो प्रालिनै एचपी इन्डिगो मोडल डब्लुएस ६९०० नेपालको अधिकृत बिक्रेता हो । उक्त एचपी इन्डिगोमा लाग्ने मसी र अन्य कार्टेजहरुको अधिकृत बिक्रेता पनि फुजिटो प्रा.लि.सँग मात्र उपलब्ध छ ।
तसर्थ दोस्रो बोलपत्रमा पहिलो ठेक्का पाएको फुजिटो प्रालिसँग सहकार्य गर्नको लागि बाध्यता हुन आउँछ । यस दोस्रो बोलपत्रमा ४३ करोड ३२ लाख थान स्टिकर छाप्नको लागि माग गरिएको छ । बोलपत्रमा कबोल गरिएको मूल्य हेर्दा प्रतिस्टिकर ८९ पैसा प्रतिस्टिकर पर्न आउँछ ।

हाल अन्तःशुल्क स्टिकर मद्रास सेक्युरिटी प्रिन्टिङले जम्मा १८ पैसा प्रतिस्टिकर छापिरहेको छ । यस्तै उक्त स्टिकर जनक शिक्षा सामग्री केन्द्रले ३० पैसा प्रतिस्टिकर छापिरहेको छ । हाल प्रिन्ट्सेल इम्याजिङ प्रालिले दिने प्रविधि डिजिटल प्रिन्ट भए पनि तीन गुणा महंगो कुनै पनि हालतमा हुनै सक्दैन । सामान्यतः ३०÷४० प्रतिशतसम्म महंगोलाई सामान्य मानिए पनि तीन गुणा महंगोलाई सामान्य मान्न नसकिने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ ।

स्मरण रहोस्, पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड घुस बार्गेनिङसम्बन्धी टेप र यो प्रकरण एकै हो तर केपी ओलीको सरकार ढलेपछि सञ्चारमन्त्री नियुक्त भएका ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेललाई नै उक्त डिजिटल प्रिन्टिङ मेसिन खरिदको जिम्मेवारी दिएर गुपचुप ढंगले काम फत्ते गरेका थिए । अहिले बनेको सरकारले यति ठूलो भ्रष्टाचारको विषयमा कसरी हेर्छ त्यो भने हेर्न बाँकी नै छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया