Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररेमिट्यान्स कम्पनीको आवरणमा हुण्डीको धन्दा

रेमिट्यान्स कम्पनीको आवरणमा हुण्डीको धन्दा

अनलाइनमार्फत २० करोड बढी हुण्डी गरेको भन्दै मोडर्न रेमिटका सञ्चालक पक्राउ


काठमाडौं,रकम ओसारपसार गरी सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई भुक्तानी दिने कार्यलाई कानुनी र औपचारिक भाषामा भन्नुपर्दा रेमिट्यान्स अर्थात् विप्र्रेषण भनिन्छ । यो सरकारको नियन्त्रण र नियमनमा हुन्छ । तर यस्तो रकमको ओसारपसार तथा आदानप्र्रदान सरकारको नियन्त्रण र नियमनभन्दा बाहिर गएर गरिन्छ भने त्यसलाई हुण्डी भनिन्छ । नेपालमा हुण्डीको कारोबार अवैध अर्थात् गैरकानुनी छ ।

नेपालमा वैधानिकरुपमा हुने रकम कारोबार अर्थात् रेमिट्यान्स रकमको चर्चा गर्दा चालू आर्थिक वर्षको यही कात्तिक मसान्तसम्ममा रेमिट्यान्स रकम २० दशमलव चार प्रतिशतले बढेर तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँ पुगेको छ । यसो भन्नुको अर्थ नेपालले चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा तीन खर्ब ७८ अर्ब चार करोड रुपैयाँबराबरको रकम वैधानिकरुपमा विदेशबाट नेपाल भित्र्याएको छ । जुन नेपाली युवाहरुले विदेशबाट कमाएर आफ्नो देशमा बैंकिङ च्यानलमार्फत पठाएका हुन् ।

यसबाट सरकारले राजस्व पाउँछ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या एक सय दुई दशमलव पाँच प्रतिशतले बढेर एक लाख ९५ हजार एक सय ९६ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या संख्या पनि पछिल्लो अवधिमा ४६ दशमलव चार प्रतिशतले बढेर ८७ हजार चार सय २८ पुुगेको छ ।

नेपालको राष्ट्र बैंकको यो तथ्यांकअनुसार वैदेशिक रोजगारीमा रहेका यी युवाहरुलाई कुनै न कुनैरुपमा विदेशबाट नेपालमा पैसा पठाउँछन् । तर यसमा पनि धेरै व्यक्तिहरुले औपचारिकभन्दा पनि अनौपचारिक माध्यमबाट नेपालमा पैसा पठाउने गरेका छन् । राज्यले अवैध घोषणा गरेको यस्तो कार्यको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त रेमिट्यान्स कम्पनीहरुकै सक्रियता रहने गरेको छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर वास्तविकता यही हो ।

धेरै कम्पनीहरुले रेमिट्यान्स कम्पनीकोरुपमा काम गरी कानुनसम्मतरुपमा ठूलो परिमाणमा रेमिट्यान्स रकम भित्र्याई राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आएको भए पनि एकाध कम्पनीहरुले भने रेमिट्यान्स कम्पनीको नाउँ नै बदनाम गरी हुण्डीको कारोबार गर्ने गरेको देखिएको छ । केही समयअघि मात्र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुण्डीको कारोबार गरेको गोप्य सूचनाको आधारमा मोडर्न रेमिट प्रालिका सञ्चालक समेत रहेका ३५ वर्षीय उदय चन्द्र यादवलाई पक्राउ गरेपछि रेमिट्यान्स कम्पनीको नाउँमा हुने हुण्डी कारोबारको पर्दाफास भएको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत कसुरमा संलग्न रहेको अभियोगमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–१ ठेगाना भएका ३५ वर्षीय यादवलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार धनुषा क्षीरेश्वर नगरपालिका–१ बाट केही व्यक्तिहरुले अवैध रुपमा अनलाइनमार्फत २० करोडभन्दा माथिको रकम हुण्डी कारोबार गरेको सूचनाको आधारमा सीआईबीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न यादवलाई कारोबारमा प्रयोग भएका ल्यापटप, मोबाइल फोन समेतका उपकरणहरुसहित पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । प्रहरी उपरीक्षक थापाका अनुसार पक्राउ परेका यादवको हैसियत मोडर्न रेमिट प्रालिको सञ्चालकको रुपमा रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया