Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयातायात कार्यालय प्रमुख पोखरेलद्वारा करोड बढी गैरकानुनी आम्दानी

यातायात कार्यालय प्रमुख पोखरेलद्वारा करोड बढी गैरकानुनी आम्दानी


काठमाडौं,यातायात व्यवस्था कार्यालय सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गणेश प्रसाद पोखरेलले करोड बढी भ्रष्टाचार गरेको आरोप लागेको छ । उनले एक करोड छ लाख ३३ हजार तीन सय ३९ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

भ्रष्टचार गरेको उजुरी आएसँगै अख्तियारले गरेको अनुसन्धानको क्रममा शाखा अधिकृत पोखरेलले चार करोड ३७ लाख ८८ हजार चार सय दुई रुपैयाँको कारोबार गरेको थाहा भएको छ । अख्तियारले उनको सेवा अवधि अर्थात् प्रवेश समय २०४६ असार १ गतेदेखि २०७८ फागुन १५ सम्मको सम्पूर्ण आम्दानी, खर्चको बारेमा अनुसन्धान गरेको थियो । सो क्रममा उनको आम्दानी तीन करोड ३१ लाख रुपैयाँभन्दा बढी र खर्च तथा लगानी चार करोड ३७ लाख रुपैयाँभन्दा बढी पाइएको छ ।

सो क्रममा कारोबार रकम उनको आम्दानीभन्दा निकै बढी भएको ठहर गरिएको छ । सेवा अविधमा सम्पत्तिको अनुसन्धान गर्दा पोखरेलको पारिश्रमिक बचत, विभिन्न भत्ता तथा पुरस्कार, घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा, घर बहाल आम्दानी, बीमा, विप्रेषण प्राप्त, सेयरबाट प्राप्तिलगायतका आम्दानी भने तीन करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँ रहेको छ ।

त्यसैगरी सोही जाँच अवधिमा निजको ब्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेसन दस्तुर, अध्ययन खर्च, कर्जाको सावाँ ब्याज भुक्तानी, घर बहाल कर, जग्गाबिक्री गर्दा तिरेको पुँजीगत लाभकर, बीमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सामाजिक कार्यमा गरेको खर्च, मोटरसाइकल खरिद, सेयर खरिद तथा लगानी, सुन खरिदमा भएको खर्च र बैंक मौज्दातसमेत गरी चार करोड ३७ लाख ८८ हजार ४० रुपैयाँ खर्च तथा लगानी रहेको देखिन्छ ।

शाखा अधिकृत पोखरेलले खर्च तथा लगानी आम्दानीभन्दा एक करोड छ लाख ३३ हजार तीन सय ३९ रुपैयाँले देखिन आएको हुँदा जफत÷असुलउपर गरिपाऊँ भन्दै अख्तियारले विशेष अदालतसमक्ष मुद्दा दायर गरेको हो । हाल उक्त स्रोत नखुलेको सम्पत्ति पोखरेलको श्रीमती विमला न्यौपाने पोखरेलबाट समेत जफत तथा असुल गर्न पाउनुपर्ने अख्तियारले दाबी गरेको छ ।

अख्तियारले स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ मात्र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ गको दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम विमला न्यौपाने पोखरेललाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम रहेको सम्पत्तिबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदाबी गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया