Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकृषिमा स्नातक गरेका सचिन कृषिमा रमाउँदै

कृषिमा स्नातक गरेका सचिन कृषिमा रमाउँदै


दोलखा ।  कृषिमा स्नातक अध्ययन सेकका भीमेश्वर नगरपालिका–४ जिलुका सचिन चौलागाई कृषि पेसा अँगालेका छन् । गाउँमा वैदेशिक रोजगारीको लहर चलेको लामो समय भयो । उनका साथीहरू पनि लहडमै भए पनि काम गर्नका लागि विदेश गएका/जाने क्रममा छन् । तर चौलागाई भने आफ्नो अध्ययनलाई व्यवहारमा उतार्न लागेका छन् ।

गतवर्ष मात्रै तीनवर्षे बालीविज्ञानमा स्नातक सकेका चौलागाईले गतवर्षदेखि गाउँमा गोलभेँडा खेती सुरु गरेका थिए । सँगै पढेका साथी विदेश जाने तयारी गरिरहँदा चौलागाई भने खेतमा गोलभेँडाको टनेल बनाउन व्यस्त देखिन्छन् । गतवर्ष उनको फार्ममा लटरम्म फलेको गोलभेँडा देख्दा गाउँका अन्य छिमेकी तथा उनका साथी पनि अचम्मित भएको चौलागाईले सुनाए ।

गत वर्ष छ लाख लगानी गरेर गोलभेँडाको खेती सुरु गरेका हुन् । सुरुको वर्षमै राम्रो आम्दानी गर्न सफल भएपछि उनले हाल खेतीलाई अझ विस्तार गरेका छन् । साथै उनले उत्पादन गरेका गोलभेँडा जिल्लामा नै खपत भएपछि उनलाई बजारको पनि समस्या भएन । साथै उनको व्यावसायिक खेतीको अवलोकन गर्न भीमेश्वर नगरपालिकाका मेयर समेत उनको फार्ममा पुग्ने गरेका छन् ।

उनलाई सबै प्रकारका बाली तथा तरकारी खेती गर्ने तरिका थाहा छ तर गोलभेँडाको बजार राम्रो रहेकोले सुरुमा यसैको खेती गर्न लागेको उनी बताउँछन् । हिजोआज उनको दैनिकी गोलभेँडाको टनेलको स्याहार सुसार तथा नयाँ बिरुवा लगाउनेमै बित्ने गर्छ ।

भर्खर २२ पुगेको चौलागाईले गतवर्ष नै १२ लाख रुपैयाँबराबरको गोलभेँडा उत्पादन गरेर बिक्री गरेका थिए । चार रोपनीबाट सुरु भएको उनको व्यवसाय फस्टाउँदै अहिले ७ रोपनीमा पुगेको छ । यसवर्ष उनले व्यवसायमा लगानी वृद्धि गर्दै तीन रोपनी जग्गा थप गरेर ६० वटा गोलभेँडाको टनेल हालेका छन् । सुरुको वर्ष नै राम्रो आम्दानी लिएका उनले छ लाखको व्यवसायलाई २५ लाखमा पु-याएको बताए ।

गोलभेँडाखेतीमा टनेल निर्माण, मल, बीउ, कीटनाशक औषधिसहित यसवर्ष लगानी करिब २५ लाख पुग्ने उनको भनाइ छ । पढेको सीपलाई सदुपयोग गरेर आफूलाई कृषिमै आत्मनिर्भर बनाउन व्यवसायमा लगानी वृद्धि गरेको उनले बताए ।

यस्तै उनलाई स्थानीय सरकारको आंशिक सहयोग समेत गरेको छ । प्रदेश र केन्द्र सरकारबाट पाउने सहयोग तथा अनुदान भने उनले लिएका छैनन् । उनलाई गतवर्ष प्रोत्साहनस्वरूप वडाबाट २५ हजार रूपैयाँ सहयोग मिलेको थियो ।

‘तीन वर्ष बाली विज्ञान अध्ययन गर्दा सिकेका प्राविधिक ज्ञान र सीपलाई सदुपयोग गर्ने योजना बनाई कृषि पेसामा हात हालेको हुँ सफल भइरहेको छु र भोलिको दिनमा सफलता पाउने मैले विश्वास लिएको छु’, चौलागाइले भने, ‘मुलुककै कृषि पेसामा योगदान गर्ने रहर भएको हुँदा विदेश जाने सोच छैन ।’


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया