Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसंसारभर सुरक्षित मानिने एटीआर विमान नेपालमा भने असुरक्षित

संसारभर सुरक्षित मानिने एटीआर विमान नेपालमा भने असुरक्षित

पोखरामा यतिको विमान दुर्घटनामा ७२ जनाको निधन


पोखरा,हवाइ यात्रालाई विश्वमै सुरक्षित र द्रुत यातायातको रुपमा लिइन्छ । सडक, रेलमार्ग तथा पानी जहाजबाट महिनौँ र वर्षौँ लाग्ने यात्रा हवाइजहाजबाट केही घण्टामै गर्न सकिन्छ अझ त्यो पनि भरपर्दो र सुरक्षित तरिकाले । हवाइ यात्रा द्रुत भए पनि नेपालमा भने असुरक्षित बन्दै गएको यहाँ भएका दुर्घटनाको रेकर्डले देखाउँदै लगेको छ । अझ नेपालमा त संसारभर नै सुरक्षित र भरपर्दो मानिएको एटीआर सिरिजको विमान नै दुर्घटनामा परेको छ, आइतबार । एटीआरलाई नेपालको भौगोलिक अवस्थिति अनुकूल सुरक्षित उडानको विमान मानिन्छ । त्यही भएर पछिल्लो प्रविधिको एटीआर जहाज नेपालमा भित्र्याएर सञ्चालन हुँदै आएको छ ।

नेपालमा हुने हवाइ दुर्घटनाले आन्तरिक रुपमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमै नेपालको हवाइ यात्रा असुरक्षित छ भनेर प्रचार हुने गरेको छ । यसले नेपालको अन्तर्राष्ट्रिय उडानको साथै आन्तरिक उडानमा पनि नकारात्मक प्रभाव परेको छ ।अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले नेपालमा हवाइ यात्रा असुरक्षित भन्ने ंंंंंंंंंंंंंंप्रतिवेदनका कारण युरोपेली संघ ईयूले युरोपमा नेपाली विमान उडान प्रतिबन्ध लगाएको धेरै भइसक्यो । आईकाओले सन् २०२२ मा गरेको अध्ययनमा नेपालले हवाइ सुरक्षामा केही सुधार गरेको देखाए पनि आइतबार पोखरामा भएको यति एयरलाइन्सको नाइन एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटनाले नेपालको हवाइ यातायात अझै सुरक्षित छैन भन्ने सन्देश दिएको छ । आईकाओको पछिल्लो प्रतिवेदनले ईयूलाई नेपालको हवाइ उडानको प्रतिबन्ध हटाउन नैतिक दबाब परेको बेला आइतबार पोखरामा भएको यतिको विमान दुर्घटनाले प्रतिबन्ध लम्ब्याउन सहयोग पुग्ने देखिएको छ ।

काठमाडौंबाट पोखरा उडेको यतिको उक्त विमान पोखरा विमानस्थल नजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा चालक दलका चार र ६८ यात्रुसहित सबै ७२ जनाकै निधन भएको छ । विमान बस्तीमा नखसी नदीको खोँचमा खसेको कारण बस्तीमा भने मानवीय क्षति भएन । खराब मौसम नभए पनि यतिको विमान दुर्घटनामा परेको हो । दुईवटा इन्जिन हुने एटीआरको विमान दुर्घटनाले हवाइ उड्डयनमा कार्यरतहरुलाई पनि झसङ्ग बनाइदिएको छ । एउटा इन्जिन फेल भएमा अर्को इन्जिनले काम गर्नुपर्नेमा आइतबार पोखरामा भएको दुर्घटनाले विभिन्न आशंका उब्जाएको छ । तर, ल्याण्ड गर्न केही सेकेन्ड मात्र बाँकी रहेको बेला इन्जिनले काम नगरेको आशंका गरिएको छ । जमिननजिक आइसकेको कारण अर्को इन्जिन स्टार्ट गर्न नै नभ्याई दुर्घटना भएको अनुमान गरिएको छ ।

नेपालको आन्तरिक उडानमा यतिधेरै यात्रु एकै पटक दुर्घटना परेको यो नै पहिलो घटना हो । चालक दलका चारसहित ७२ जना यात्रु बोकेको विमान अहिलेसम्म दुर्घटनामा परेको थिएन । यसअघि गत जेठ १५ गते तारा एयरको विमान मुस्ताङमा दुर्घटना हुँदा चालकदलका तीनसहित २२ जनाको निधन भएको थियो । नेपालको हवाइ उडानको इतिहासमा विभिन्न समयमा भएका हवाइ दुर्घटनामा मन्त्रीसहित नौ सय बढीको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा ५६ वटा हवाइ दुर्घटना भइसकेको छ । नेपालको हवाइ यातायात सुरु भएको भर्खर ७६ वर्ष मात्र भएको छ । अझ हवाइ यातायात बढेको डेढ दशक मात्र भएको छ । यो डेढ दशकमा भएका दुर्घटना नै सबैभन्दा बढी छ ।

राम्रो मौसममा पनि आन्तरिक उडानमा रहेको एटीआर विमान पोखरामा दुर्घटना भएको खबर विश्वका चर्चित सञ्चारमाध्यमहरु सीएनएन, बीबीसी, अलजजिरालगायत अधिकांश शक्तिसम्पन्न राष्ट्रका सञ्चारमाध्यमका प्रमुख समाचार बन्न पुग्यो । यसले नेपाल हवाइ यात्राका लागि आईकाओले भनेजस्तै अति खतरनाक देश हो कि भन्ने सन्देश बढेको छ ।पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । कोभिड–१९ को कारण थिलथिलो भएको पर्यटन क्षेत्रमा केही आशा पलाउन लागेकै बेला विमान दुर्घटनाले नेपालको डलर आम्दानी हुने सबैभन्दा भरपर्दो व्यवसाय पर्यटन क्षेत्रमै असर पर्ने आशंका गरिएको छ ।

पोखरा आन्तरिक मात्र होइन बाह्य पर्यटकहरुको पनि गन्तव्य हो । अहिले काठमाडौंको नागढुंगादेखि पोखरासम्म नै सडक यातायात सहज छैन । नागढुंगा–मुग्लिङ र मुग्लिङ–पोखरा खण्ड सडक पुनर्निर्माणमा छ । सोही कारण अधिकांश मानिसहरु हवाइ यात्रा गर्न बाध्य छन् । यही बेला हवाइ दुर्घटना हुनाले यात्रा रद्द गर्नेहरुको संख्या बढ्ने आशंका पर्यटन व्यवसायीहरुले गरेका छन् ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु रहेकामा विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १५ जना विदेशी नागरिक र ५३ जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना अशक्त भएका व्यक्ति सवार थिए । बिहान यतीको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार सम्पूर्ण उडान स्थगित गरिएको थियो ।

सार्वजनिक विदासम्बन्धी हतासको निर्णय
पोखराको सेती नदीको खोँचमा आइतबार बिहान यति एयरको विमान दुर्घटनामा परेपछि बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपालमा हवाइ र सडक यातायात दुर्घटनाबाट पछिल्लो समयमा धेरैको ज्यान जान थालेको छ । तर, यस्ता दुर्घटना कम गराउन सुरक्षाका उपाय कडाइका साथ पालना गर्न लगाउनुपर्नेमा सरकारले हतास भएर सार्वजनिक विदा दिएको छ ।

नेपालमा सार्वजनिक विदा धेरै भएर काम गर्ने समय नै कम भएको सबैतिर अनुभव गरिएकै बेला सरकारले एक्कासि सार्वजनिक विदा दिएको हो । यस्तो विदाको चौतर्फी विरोध भएको छ । पुस ३० गते शनिबार, माघ १ गते माघी विदा परेको बेला फेरि २ गते पनि विदा दिँदा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । यसले आम नागरिकको काममा ठूलो बाधा पारेको छ ।

सरकारले सार्वजनिक विदा दिएकामा बहालवाला तथा पूर्वप्रशासकहरुले पनि सरकारको विरोध गरेका छन् । सरकारले विमान दुर्घटनामा निधन भएकाहरुको लागि पोखरामै शोकसभा आयोजना गर्न सक्थ्यो तर देशैभर विदा दिने निर्णयले सबै काम अवरोध भएको छ । ‘शोक मनाउन पोखरामा विदा दिने निर्णयसम्म गरेको भए हुने थियो’, सरकारका एक जना सचिवले आर्थिक दैनिकसित भने, ‘पोखरामा भएको विमान दुर्घटनाको शोक मनाउन भनेर देशभर नै विदा दिनु उचित होइन । दुर्घटनापछि के गर्ने भनेर सरकार हतासमा परेको जस्तो देखियो । यो विदा हतासको निर्णय हो ।’

यी हुन् दुर्घटनाग्रस्त विमानमा सवार यात्रु
पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको दुर्घटनामा १५ जना विदेशी र छ जना शिशु रहेको खुलेको छ । यती एयरलाइन्सका अनुसार दुर्घटना भएको उक्त विमानमा नेपाली यात्रुहरु किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्णबहादुर गुरुङ, जितेन्द्रबहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ थिए ।त्यस्तै, श्लोक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्की गुरुङ, शिवकुमार गुरुङ, सीता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल, सञ्जय जैसवाल, सोनु जैसवाल, रचना काफ्ले पनि सो विमानमा थिए ।

त्यसैगरी उक्त विमानमा सीताकुमारी खड्का, अनिलकुमार राजभार, भगवती कुँवर, अविशेक कुश्वाह, ओममाया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना सवार थिए । अन्य यात्रीमा सविना रायमाझी, राजन सापकोटा, अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा. शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र लवराज तिमिल्सिना सवार थिए ।

विमानमा सवार विदेशी नागरिकमा मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे थिए । साथै, शिशुहरुमा कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा थिए भने बाँकी दुई जना शिशुहरुको नाम खुलेको छैन ।

विमानमा आकाशमै आगो !
पोखरामा आइतबार बिहान दुर्घटनाग्रस्त यति एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए ।

‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ’, उनले रासससँग भने, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।’

पाँच सदस्यीय जाँच आयोग गठन
सरकारले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । सरकारले गैरसैनिक हवाइ उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरेको हो ।

पूर्वसचिव नागेन्द्र घिमिरे संयोजकत्वको सदस्यमा हवाइ विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाइ मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।
आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ । आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया