नेपालमा कहिले आउँछ चिनियाँ रेल ?
अध्ययनमै अझै कम्तीमा साढे तीन वर्ष बित्नेछ, केरुङ–काठमाडौं रेलमार्ग
काठमाडौं,कोभिड–१९ को सुरुवातदेखि बन्द भएको केरुङ (तिब्बत)–काठमाडौं (नेपाल) रेलमार्गको चर्चा अहिले फेरि सुरु भएको छ । चीनले कोभिडविरुद्ध लगाउँदै आएको लकडाउनलाई खुकुलो पार्न थालेपछि नेपालमा पनि चिनियाँ लगानीका आयोजनाहरुमा चहलपहल सुरु भएको छ । चिनियाँ टोली नेपाल आएर आयोजनाहरुको अध्ययन र कामलाई अगाडि बढाउन थालेका छन् ।
पुस लागेपछि नेपालमा सञ्चालित विभिन्न आयोजनामा चासो दिने मात्र होइन केरुङ–काठमाडौं रेलमार्गको अध्ययनलाई पनि तीव्रता दिन थालेको छ चीनले । रेलमार्गको अध्ययनको लागि चिनियाँ टोली काठमाडौं आउनुअगाडि नेपाल–चीनका कोही सडक नाका पनि चीनले एकतर्फी रुपमा खोलेको छ भने रसुवागढी नाका दुईतर्फी नै खुला भएको छ । काठमाडौंबाट केरुङमा रेलमार्ग जोडियो भने नेपालले चीनसँग मात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि नयाँ मार्गबाट व्यापार गर्न पाउने अपेक्षा गरिएको छ । त्यही भएर यो रेलमार्गको बारेमा जनचासो बढेको हो ।
खासगरी भारतीयहरुले लगाउने नाकाबन्दीको कारण आजित नेपालीहरु ठूला पूर्वाधार विकासको कामलाई बढी नै चासो दिने गर्छन् । अझ केरुङ–काठमाडौं रेलमार्ग त २०७२ सालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीपछि चर्चामा आएको हो । जुन चर्चा कोभिड–१९ को कारण लकडाउन सुरु भएसँगै सेलाएको थियो ।केरुङ–काठमाडौं जोड्ने रेलमार्ग मात्र होइन उत्तरी नाकाबाट नेपाली भू–भागमा जोड्ने जुनसुकै सडक मार्ग पनि नेपालीको चासोको विषय बन्ने गरेको छ ।
त्यस्ता सडक मार्गहरु बीसौँ वर्षसम्म निर्माण पूरा नभए पनि चासो र चर्चाको विषय बन्दै आएको छ । नेपालीहरुले भारतीय नाकाको विकल्पको रुपमा चिनियाँ नाका हेर्ने गरेको कारण रेलमार्ग, सडक मार्ग सधैँ चर्चाको विषय बन्ने गरेको हो । चीनले १ जुलाई १९६२ देखि कोदारी राजमार्ग निर्माण सुरु गरेदेखि उत्तरी नाकाबारे नेपालमा मात्र होइन भारत पनि जति चर्चा थियो, अहिले पनि त्योभन्दा बढी नै चर्चा हुने गरेको छ, नेपाल–चीनबीच सडक वा रेलमार्गबारे ।
तत्कालीन राजा महेन्द्रको आग्रहको कारण कोदारी राजमार्ग निर्माणमा माओ त्सेतुङले ठूलो चासो दिएका थिए । माओकै कारण उक्त सडक मार्ग निर्माण भएपछि नेपालमा मात्र होइन भारत पनि ठूलो चर्चा भएको थियो । कोदारी राजमार्ग निर्माण सुरु गर्ने बेला आफूहरुले तिब्बतमा रेलमार्ग बनाउने र त्यसपछि त्यो रेलमार्ग नेपालसम्म पुग्ने बताएका थिए, माओले । अहिले सिगात्से–केरुङ–काठमाडौं रेलमार्गलाई माओकै योगदानको रुपमा हेरिन्छ ।
कोभिड–१९ सुरु हुनु अगाडि सन् २०१८ मा चिनियाँ प्राविधिकहरुले केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरेका थिए । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको बेला सम्भाव्यता अध्ययन गर्नेसम्बन्धी हस्ताक्षर भएपछि केरुङ–काठमाडौं रेलमार्गले थप चर्चा पाएको हो । उक्त रेलमार्ग प्राविधिक रुपमा चुनौतीपूर्ण र आर्थिक रुपमा बढी खर्चालु हुने देखिए पनि असम्भव भने नभएको बताइएको थियो । चिनियाँ प्राविधिकहरुले अहिले पनि उक्त रेलमार्गलाई चुनौतीपूर्ण नै देख्छन् । किनकि अहिलेसम्मका अध्ययनले यो रेलमार्ग करिब ९८ प्रतिशत जमिनमुनि हुने प्रारम्भिक अनुमान गरिएको छ । त्यही भएर प्राविधिकहरुले यसलाई चुनौती मानेका हुन् ।
यो रेलमार्ग अर्को चुनौती भनेको तिब्बतको चार हजार मिटरको उचाइबाट करिब १३ सय ५० मिटरको काठमाडौंसम्म आइपुग्नेछ । रेलमार्ग जमिन बाहिरबाट बनाउँदा ठाडो ओरालो पर्ने भएकाले चिनियाँ प्राविधिकले जमिनभित्रै यो रेलमार्ग हुने अहिलेसम्म अनुमान गरेका छन् । प्राविधिक रुपमा यो रेलमार्ग चुनौतीपूर्ण रहनुको अर्को कारण भनेको नेपाल तथा हिमालयन क्षेत्र भूकम्पको बढी जोखिमपूर्ण स्थान रहेको कारण भूकम्प प्रतिरोधी रेलमार्ग बनाउनु नै हो ।
चिनियाँ टोली रसुवागढी, नुवाकोट पुगेर अध्ययन गर्नासाथ अब चाँडै रेलमार्ग निर्माण सुरु भइहाल्छ कि भन्ने कौतूहलता काठमाडौंमा सुरु भइहाल्छ । यसअघि मात्र होइन यो पुसको अन्तिम साता रेल विभागका महानिर्देशक रोहित कुमार बिसुरालसहितको रेल विभागको अधिकारीहरु र छ जनाको चिनियाँ टोली रसुवागढी नाकामा गएर रसुवा र नुवाकोटको केही भाग हेरेर काठमाडौं फर्कँदा सबै सञ्चारमाध्यमको समाचार मात्र बनेन, राजनीतिक दलका नेता र कार्यकर्ता पनि अब चिनियाँ रेल चाँडै नेपाल आइपुग्ने चर्चा गर्नमा व्यस्त रहे ।
राजनीतिक र सञ्चारमाध्यमको साथै सर्वसाधारणबीचको चर्चाले केरुङ–काठमाडौं रेलमार्ग चाँडै निर्माण सुरु भइहाल्छ कि जस्तो सुनिए पनि वास्तविकता भने अलि फरक छ । रेल विभागका महानिर्देशक बिसुरालका अनुसार यो रेलमार्गको अध्ययनको लागि गत पुस १७ गते अर्थात् सन् २०२३ को जनवरी १ तारिखदेखि कम्तीमा साढे तीन वर्ष लाग्नेछ । त्यसपछि मात्र उक्त रेलमार्ग निर्माणको आर्थिक स्रोतको बारेमा अध्ययन हुनेछ । आर्थिक स्रोतको व्यवस्था भएपछि मात्र रेलमार्ग निर्माणको मोडालिटी तयार भएर ठेक्का लाग्नेछ । तर, साढे तीन वर्षमा अध्ययन पूरा गर्न विना कुनै बाधा लगातार रुपमा काम हुनुपर्छ ।
यो रेलमार्गको अध्ययन गर्न चीनको ‘रेलवे फस्र्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुप को–अपरेट लिमिटेड’ अहिले नेपाल आएको हो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको बेला सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुसार छ जना चिनियाँ प्राविधिकको टोली नेपाल आएर बसेको छ । अहिलेसम्म अध्ययन गर्ने टोलीले नेपालमा कार्यालय पनि खोलेको छैन । उसले होटलमा बसेर आफ्नो काम गरिरहेको छ ।
स्थलगत सर्भे गरेको चिनियाँ टोलीले यसै वर्ष एरियल सर्भे गर्नेछ । यो सर्भे गर्दा चिनियाँ टोलीले प्लेनको सहयोग लिनेछ । अर्थात् प्लेनबाट रेलमार्गको फोटोग्राफी लिनेछ । यसबाट जमिनको वास्तविकता पत्ता लाग्नेछ । अर्थात् रेलमार्गमा भएका भीर, खोला, जमिनको अवस्था पत्ता लाग्नेछ । त्यसपछि मात्र चिनियाँ टोली डिटेल फिजिबिलिटी अध्ययनमा जानेछ । त्यसको लागि विभिन्न भागमा मेसिन प्रयोग गरेर प्वाल पार्नेछ । ती प्वालबाट मेसिनबाटै जमिनभित्रको मोटा, ढुंगाको अवस्था, खानी छ वा छैन ? पानीको मात्रा कति छ ? रकको बनावट कस्तो छ ? भन्ने पत्ता लाग्छ । त्यसले मात्र यो रेलमार्गको लागत अनुमान गर्न सकिन्छ ।
तर, अहिले नै यति रकम लाग्छ, निर्माण सुरु भएको यति समयमा सकिन्छ भनेर अनुमान नै गर्न सकिँदैन । ‘कुनै बाधा अवरोध भएन भने पनि अध्ययन गर्न नै वर्षौँ लाग्छ’, महानिर्देशक बिसुरालले भने, ‘चिनियाँ टोलीले लगातार अध्ययन गर्न पाएमा साढे तीन वर्षमा फिजिबिलिटी स्टडी सकिन्छ भन्ने योजना बनाएका छन् । अझ अध्ययनको क्रममा केही समस्या देखा परेमा त्यो साढे तीन वर्ष पनि लम्बिन सक्छ ।’
अहिले चीनले केरुङबाट काठमाडौं रेलमार्ग बनाउने भनेर अध्ययन गरिरहेको छ भने भारतले पनि रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग बनाउने भनेर अध्ययन गरिरहेको छ । यी दुई देशबीच कसले चाँडो रेलमार्ग काठमाडौं ल्याउने भन्ने प्रतिस्पर्धा गरेमा मात्र चाँडो रेलमार्ग बन्ने देखिन्छ ।
नत्र अध्ययनमै वर्षौँ समय बित्नेछ । अहिले चर्चा गरेजसरी चिनियाँ रेल काठमाडौंमा चाँडै देख्न पाइने अवस्था भने छैन । यसको अध्ययन चीन आफैंले आफ्नो खर्चमा गर्दै छ । त्यही भएर अध्ययन कति समयमा सकिन्छ भन्ने एकीन चीनमै भरपर्छ । नेपालले अध्ययनमा खर्च नगर्ने भएको कारण चीनले चाहेमा मात्र यसको साढे तीन वर्षमा अध्ययन पूरा हुने हो । भौगर्भिक अध्ययन पूरा भएपछि मात्र लागत कति लाग्ने भन्ने एकीन हुनेछ । भौगर्भिक अध्ययन पूरा भएपछि आर्थिक रुपमा थेग्ने अवस्था आएन भने यसको निर्माण नै सुरु हुनेछैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया