Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘राजस्व परिचालनको अवस्था २० प्रतिशतले कमजोर’

‘राजस्व परिचालनको अवस्था २० प्रतिशतले कमजोर’


काठमाडौं,उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राजस्व परिचालनको अवस्था गत वर्षको तुलनामा अत्यन्त कमजोर भएको बताएका छन् । यस वर्षको मंसिर मसान्तसम्मको राजस्व परिचालनलाई गत वर्षको सोही अवधिसम्म तुलना गर्दा करिब २० प्रतिशत कम भएको उनले जानकारी दिए ।

‘राजस्वको लक्ष्य कहिले पूरा हुन्छ कहिले पूरा हुँदैन तर गत वर्षको जति पनि परिचालन गर्न नसक्नु चिन्ताको कुरा हो’, उनले भने, ‘भूकम्प, नाकाबन्दी र कोरोना महामारीबाट जोगाएर ल्याएको अर्थतन्त्रलाई अहिले कुनै प्रतिकूलता नहुँदा पनि जोगाउन निकै कठिन भएको छ ।

’ प्रवासी नेपाली मञ्च अमेरिकाको शिक्षा तथा सीप विभागले आयोजना गरेको भर्चुअल अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजस्वले सामान्य खर्च समेत धान्न नसकेको बताएका हुन् ।

अहिले वैदेशिक सहयोगमा पनि नेपाल पछि परिरहेको उनको भनाइ थियो । नेपाली अर्थतन्त्रलाई लयमा फर्काउनका लागि सरकार क्रियाशील रहेको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रलाई जोगाउनका लागि प्रवासमा भएका नेपालीहरुले अहिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको बताए । प्रवासमा भएका सबै नेपालीहरुले वैध माध्यमबाट मात्रै रेमिट्यान्स पठाइदिए नेपाली अर्थतन्त्रलाई निकै सहयोग पुग्ने उनको भनाइ थियो ।

वैध ढंगले रेमिट्यान्स पठाउन कानुनमा संशोधन गर्न आवश्यक भए पनि सरकार तयार रहेको उनले बताए । ‘कानुनमा संशोधन आवश्यक छ वा कुनै इन्सेन्टिभ आवश्यक छ भने त्यो बारेमा पनि प्रवासी नेपालीहरुले जानकारी गराउँदा उचित हुन्छ तर गैरबैंकिङ च्यानलबाट आएको रेमिट्यान्सलाई रोक्नु आवश्यक भएको छ’, उनले भने ।

यस्तै उनले गैरआवासीय नेपालीहरुलाई आर्थिक र सामाजिक अधिकारसहितको गैरआवासीय नागरिकता दिने विषयमा सबै सहमत रहेकोले केही महिनाभित्र नै यससम्बन्धी कानुन बनिसक्ने जानकारी दिए । यसैगरी अर्थमन्त्री पौडेलले गैरआवासीय नेपालीहरुलाई नेपाल जाँदा भिसा लिनुपर्ने कानुनी व्यवस्थालाई पनि संशोधन गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डा.बद्री केसीले नेपालबाट कामदारलाई विदेश पठाउँदा सीपमूलक तालिम दिएर मात्र पठाउनुपर्ने बताए । यस्तै प्रवासी नेपाली मन्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले प्रवासी नेपालीका लागि लगानी सुरक्षित गर्ने, सम्पत्ति फिर्ता ल्याउन सहजीकरण गर्ने, डलर खाता खोल्ने, आईपीओमा लगानी गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था भएमा रेमिट्यान्स र लगानी अझै देशमा भित्रिने बताए ।

कार्यक्रममा अमेरिकी राजदूतावासका आर्थिक कन्सुलर होमकान्त भण्डारीले अमेरिकाबाट नेपालमा लगानी भित्र्याउन नीतिगत सुधारको आवश्यकता रहेको औँल्याए । प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षता भएको कार्यक्रममा युनिभर्सिटी अफ मिनासोटाका एसोसिएट प्रोफेसर डा. सतीस देवकोटा र युनिभर्सिटी अफ इलिनोइमा अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका विद्यार्थी थोमस बास्तोलाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा सन् २००० पछि निरन्तर बढ्दै गएको र करिब एक चौथाइ हिस्सा कायम रहेको अवस्थालाई ग्राफ र पाई चार्टहरूबाट स्पष्ट पारिएको थियो । कार्यपत्रले विदेशी मुद्राको सञ्चितिमा सकारात्मक प्रभाव पारे पनि श्रमशक्तिको विदेश पलायनले आयात बढ्ने र उत्पादन घट्ने एकसाथ भएको समेत चित्रण गरिएको छ ।

कोभिड १९ का कारण अर्थतन्न्त्रका तमाम क्षेत्र खस्किए पनि वैदेशिक मुद्रा सञ्चितिमा आर्थिक वर्ष सन् २०२०÷०२१ मा रेमिट्यान्सले करिब ७० प्रतिशत योगदान गरेर अर्थतन्त्रलाई टेवा पुगेको कार्यपत्रमा उल्लेख छ ।

रेमिट्यान्सको रकमलाई उत्पादनका क्षेत्रमा लगानी गर्ने वातावरण बनाएर समावेशी अर्थिक वृद्धिका लागि परिचालन गर्ने र देशमै रोजगारी सिर्जना गर्न सरकारले ध्यान पु¥याउनुपर्नेमा कार्यपत्र प्रस्तुतकर्ता बास्तोलाले जोड दिए ।

नेपालको विकासका लागि तीन चरणको कार्यनीति अवलम्बन गरेर पहिलो चरणमा कृषि, कृषिजन्य उद्योग, पर्यटन, नवीकरणीय ऊर्जा, आधारभूत आवश्यकताका क्षेत्रमा, दोस्रो चरणमा मानव संसाधनको विकास, औद्योगीकरणको क्षेत्र र सेवा क्षेत्रमा र तेस्रो चरणमा सामाजिक सुरक्षा, समता, समान अवसर आदि क्षेत्रमा लगानी केन्द्रित गरेर करिब आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सकिने अर्का कार्यपत्र प्रस्तोता डा. देवकोटाको धारणा छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया