Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीको पीडा : छ महिनामै ६ सय १२ नेपालीले विदेशमा ज्यान गुमाए

वैदेशिक रोजगारीको पीडा : छ महिनामै ६ सय १२ नेपालीले विदेशमा ज्यान गुमाए


काठमाडौं । बाध्यात्मक तथा असुरक्षित रोजगारीको ‘नारा’ पाएको वैदेशिक रोजगारी निरन्तर जोखिमयुक्त रहेको छ । मुलुकमा पर्याप्त रोजगारी नहुँदा नेपाली नागरिकहरु एक सय ७० भन्दा बढी मुलुकमा पुगेको प्रतिवेदनले जनाएको छ । यसरी रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली नागरिकले अकालमै ज्यान गुमाउनुपरेको छ । यसलाई रोक्नु नवनियुक्त श्रममन्त्री डोलप्रसाद अर्यालसामु चुनौती बनेर आएको छ । यस वर्ष मात्र २३ वटा मुलुकमा छ सय १२ जना नेपालीले ज्यान गुमाएका छन् ।

चालू आर्थिक वर्षको छ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका छ सय १२ जना नेपालीले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जानकारी दिएको छ । ज्यान गुमाउनेहरुमध्ये साउदी अरबमा सबैभन्दा धेरै एक सय ८५, मलेसियामा एक सय २३, कतारमा एक सय १७, संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय चार, कुवेतमा ३० जना, बहराइनमा १२ जना, दक्षिण कोरियामा ११ जना, जापानमा पाँच जना, साइप्रस र रोमानियमा क्रमशः चार/चार जनाले ज्यान गुमाएका छन् । माल्दिभ्स, ब्रुनाई, जोर्डन र टर्कीमा क्रमशः दुई जना र बुलगेरिया, सेचल्स, पोर्चुगल, पोल्यान्ड, ओमान, माल्टा, इजरायल, क्रोएसिया र मकाउमा क्रमशः एक–एक जनाले ज्यान गुमाएका छन् । विदेशमा रहेका नेपाली नागरिकले कार्यस्थल असुरक्षित, भनेजस्तो काम र सेवा सुविधाको अभावका कारण उत्पन्न तनाव, अज्ञानता, दुर्घटना लगायतका विविध कारणले गर्दा ज्यान गुमाउने गरेका छन् । यसका साथै विभिन्न प्रतिवेदनले विदेशमा रहेका युवाको हृदयाघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको बताएको छ । यसका साथै हत्या समेत कारकको रुपमा रहेको छ ।

विदेश पुगेका नागरिकले सबैभन्दा ठूलो क्षति ज्यान गुमाउनको साथै अंगभंग तथा बिरामी समेत पर्दा थप समस्यामा परेको देखिन्छ । समीक्षा अवधिमा खाडी, मलेसिया साथै अन्य मुलुकमा गरेर एक सय १४ जना नेपाली अंगभंग तथा बिरामी भएका छन् । समीक्षा अवधिमा साउदी अरबमा ३८ जना, यूएईमा २४ जना, कतारमा २२ जना, मलेसियामा १६ जना, कुवेतमा पाँच जना, कोरिया र रोमानियामा क्रमशः दुई जना नेपाली अंगभंग तथा बिरामी भएका छन् ।

विदेशमा ज्यान गुमाउने तथा अंगभंग तथा बिरामी हुनेको हकमा बोर्डले शव झिकाउने तथा घाइते, बिरामीहरुलाई स्वदेश ल्याउनमा सहजीकरण गर्दै आएको छ । बोर्डले कल्याणकारी कार्यअन्तर्गत मृतकका नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गर्ने, अंगभंग÷बिरामी भएका कामदारलाई आर्थिक सहायता, कामदारका परिवारलाई औषधोपचार सहयोग, शव झिकाउने, शव ढुवानी, अभिमुखीकरण तालिम दिने लगायतका काम गर्दै आएको छ । उक्त कार्यहरु बोर्डको अनिवार्य दायित्वअन्तर्गत कल्याणकारी कार्य हो ।

समीक्षा अवधिमा तीन सय ४९ जनाको शव स्वदेश झिकाई सम्बन्धित पक्ष अर्थात् परिवारजन वा नजिकको हकवालालाई बुझाएको छ । साउदी अरबबाट एक सय नौ वटा, मलेसियाबाट ९२ वटा, युएईबाट ५१ वटा, कतारबाट ५० वटा, कुवेतबाट १९ वटा, बहराइनबाट सातवटा, कोरियाबाट पाँचवटा, साइप्रसबाट चारवटा शव स्वदेश झिकाइएको छ । रोमानियाबाट तीनवटा, क्रोएसियाबाट तीनवटा, जापान, माल्टा, बुल्गेरिया, सेचेल्स, टर्कीबाट भने क्रमशः एक–एकवटा शव स्वेदश झिकाइएको छ । बोर्डले विदेशमा रहेको नेपाली नियोगसँगको समन्वयमार्फत शव झिकाउने गर्छ । स्वदेश झिकाएको शव बोर्डले मृतकको घर ठेगानासम्म ढुवानी गर्ने गर्छ । साथै बोर्ड सचिवालयले मृतकका परिवारका नजिकका हकवालालाई आर्थिक सहायता प्रदान गरेको छ । आर्थिक सहायतास्वरुप मृतकका हकवालालाई सात लाख रुपैयाँ प्रदान गर्ने गरेको पाइन्छ ।

बोर्डले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३ मा रही वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गरेको पाइन्छ । यस्तै, बोर्डले अनिवार्य दायित्वअन्तर्गत कल्याणकारी कार्य गर्दै आएको छ भने वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम कार्यान्वयन चरणमा रहेको उनको भनाइ छ ।

असुरक्षित रोजगारीको उपमा पाएको वैदेशिक रोजगारी असुरक्षित रहेको भन्दै पछिल्लो ज्वलन्त उदाहरण कतार विश्वकप २०२२ नै बन्न पुग्यो । कतारले विश्वकप २०२२ सञ्चालन गरिरहँदा आप्रवासी श्रमिकको मृत्युलाई लिएर प्रशस्त प्रश्नहरु उठिरहे । विश्वकप २०२२ को सञ्चालक कतार भइरहँदा आप्रवासी श्रमिकको सुरक्षा र सेवा सुविधालाई लिएर कतार सरकारले गैरजिम्मेवारी भएको भन्दै स्वयं विश्वकपमा सहभागी खेलाडीहरुले समेत त्यसको विरोध समेत जनाए ।

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरुप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्न सक्ने मृत्युलाई समेत नरोकेको समेत उल्लेख ग¥यो । एम्नेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्नेमा त्यसलाई नरोकेको बताएको छ। कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो । सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जनाजतिको मृत्युलाई रोक्न सकिन्थ्यो’ भन्ने उक्त अध्ययनले निष्कर्ष समेत निकालेको थियो ।

खाडी र मलेसिया नेपाली श्रमिकको गन्तव्य तथा असुरक्षित मुलुक रहेकोमा अन्य विकसित तथा अविकसित मुलुक समेत नेपालीको लागि असुरक्षित बन्दै गएको छ, यसमा सरकारले ध्यान दिनु आवश्यक रहेको छ । गन्तव्य मुलुकको बारेमा, त्यहाँको वातावरण, आफ्नो कार्यस्थल बसोबास क्षेत्रलगायतको विषयमा श्रमिकलाई उचित जानकारी दिई उनीहरुलाई सुरक्षित रहन तालिम दिने तथा दक्ष कामदार पठाएको खण्डमा विदेशमा हुने मृत्युलाई कम गर्न सकिन्छ । यसका लागि सरकार तथा निजी क्षेत्र र स्वयं श्रमिकहरुले ध्यान पु-याउनु आवश्यक छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया