Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी पूरा

विराटनगरमा हुनलागेको अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी पूरा


विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा हुनलागेको अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको छ । परिसंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा माघ १९ देखि २८ गतेसम्म हुनलागेको प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो ।

एक्स्पोमा बृहत् रुपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्र, उपभोग्य वस्तुका चार सयजति स्टलहरु रहने जानकारी दिइएको छ । चौतर्फी रुपमा मन्दी छाएको आर्थिक क्षेत्रलाई एक्स्पोले केही चलायमान बनाउने अपेक्षा राखिएको परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोमा स्थानीय तहहरुबाट केही घरेलु, महिला, लघु, साना तथा कृषि क्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गरेका छन् । प्रदेश १ को पर्यटन प्रवर्द्धनका लागि अनेकौँ सम्भावनाको खोजी गर्न र ती क्षेत्रको प्रवर्द्धन गर्न एक्स्पोले महत्वपूर्ण काम गर्ने घिमिरेको भनाइ छ ।

एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट प्रतिनिधित्व गर्ने उद्योगी व्यवसायीहरुले समेत आफ्ना उत्पादनको प्रवर्द्धन गर्ने मौका पाउनेछन् । छिमेकी मुलुक भारतको बिहार, जोगबनी, बथनाह, फारवीसगञ्ज, अररीया, रानीगञ्ज, वीरपुर, भीमनगर, बंगाल सिलिगुडीबाट ५० हजार अवलोकनकर्ता आउने लक्ष्य आयोजकको छ । यस्तै एक्स्पोलाई रोचक र ज्ञानवर्द्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने ‘प्लानेटेरियम’ स्थापना गरेर विशेष किसिमको कक्षभित्र ३६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइएको छ ।

परिसंघले पहिलोपटक आयोजना गरेको यो एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालय, नेपाल पर्यटन बोर्ड र १ नं. प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालयलगायतको सहयोग रहेको छ । यस्तै विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिकाले एक्स्पो उत्साहजनक रुपमा अघि बढाउन प्रवर्द्धनमा सहयोग पु-याएका छन् । एक्स्पोमा मोरङ व्यापार संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल अटोमोबाइल्स एसोसिएसन, हिसान, प्याब्सन, नेपाल नर्सिङ संघ, विराटनगर नर्सिङ कलेज, मेडिकल एसोसिएसन कोशी, इलेक्ट्रिक्स संघको महत्वपूर्ण सहभागिता रहने आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया