Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण

बोर्डलाई नौ अर्ब ६२ करोडबराबरका स्वामित्व हस्तान्तरण


काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले नौ अर्ब ६२ करोड रूपैयाँबराबरको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ ।

निर्देशनालयअन्तर्गतको मेलम्ची खानेपानी उपआयोजना–२ बाट बिच्छ्याइएका तथा निर्माण गरिएका थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको पीआईडीका आयोजना उपनिर्देशक एवं प्रवक्ता ई. चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिए । उपआयोजना–२ बाट काठमाडौंको सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रमा प्रशोधित मेलम्चीको खानेपानी उक्त केन्द्रबाट काठमाडौंका विभिन्न नौ स्थानमा रहेका १० वटा खानेपानी ट्याङ्कीहरूमा आपूर्तिका लागि बिच्छ्याइएका थोक वितरण प्रणालीका चार मिमिदेखि एक हजार चार सय मिमि ब्याससम्मका ठूला डक्टाइल आइरन पाइपलाइन र निर्माण गरिएका संरचना तथा ट्याङ्कीहरूको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडबीच थोक वितरण प्रणाली, संरचना र पानी ट्याङ्कीहरूको स्वामित्व हस्तान्तरण सम्बन्धमा सम्झौता भएको थियो । खानेपानी मन्त्रालयका सहसचिव त्रिरेश प्रसाद खत्रीको उपस्थितिमा भएको सम्झौतामा आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयूकेएलका उपप्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा आयोजना निर्देशक सापकोटाले थोक वितरण प्रणालीका सञ्चालन निर्देशिका, जगेडा पाइप तथा फिटिङ्स, दुईवटा सवारीसाधन, थोक वितरण प्रणालीको नक्सा, जीआईएस नक्सा र परीक्षण प्रमाणपत्र बोर्डलाई हस्तान्तरण गरेका थिए । आयोजना कार्यान्वयन निर्देशनालयबाट स्वामित्व लिएपश्चात् बोर्डले तत्कालै सुरू हुनेगरी थोक वितरण प्रणालीको सञ्चालन, मर्मत सम्भार र खानेपानीको गुणस्तर कायम गर्ने कार्यको जिम्मा केयूकेएललाई दिने व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया