Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय बजेटमा नेपाललाई दिने अनुदान घट्यो

भारतीय बजेटमा नेपाललाई दिने अनुदान घट्यो


काठमाडौं,भारतीय बजेटमा नेपाललाई दिने अनुदानको आकार अघिल्लो वर्षको बजेट भाषणको भन्दा घटेको छ भने संशोधित बजेटभन्दा वृद्धि भएको छ । बुधबार आएको भारतको नयाँ बजेटमा सन् २०२३ मा नेपाललाई साढे पाँच अर्ब भारु अनुदानस्वरुप दिने उल्लेख छ ।

गत वर्षको बजेटमा भारतले सात अर्ब ५० करोड भारु अनुदानमा दिने बताएको थियो । तर पछि संशोधन गर्दै चार अर्ब २५ करोडमा घटाएको थियो । त्यसमध्ये दुई अर्ब ११ करोड भारु नेपाललाई वितरण गरेको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ ।

भारतले हरेक वर्ष छिमेकी देशहरुलाई अनुदानस्वरुप बजेटमै उल्लेख गरेर विकास सहायता प्रदान गर्दै आएको छ । यस वर्ष उसले नेपालबाहेक अफगानिस्तान र बंगलादेशलाई दुई÷दुई अर्ब, भुटानलाई ऋण र अनुदान गरी २४ अर्ब, श्रीलंकालाई डेढ अर्ब, माल्दिभ्सलाई चार अर्ब र मंगोलियालाई सात करोड भारु विनियोजन गरेको छ ।

चार सय ५० खर्ब भारुको खर्च अनुमान
भारतको केन्द्र सरकारले आर्थिक वर्ष २०२३÷०२४ को लागि संघीय बजेट सार्वजनिक गरेको हो । बजेटमा यो वर्ष सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । वित्तमन्त्री निर्मला सीतारमणले कुल चार सय ५० खर्ब भारु आकारको बजेट सार्वजनिक गरेकी हुन् ।

यसमा कुल प्राप्ति (सापटीबाहेक) दुई सय ७२ खर्ब भारु र कर आय दुई सय ३३ खर्ब भारु अनुमान गरिएको छ । वित्तमन्त्री सीतारमणका अनुसार कुल राजस्व र कुल खर्चबीचको फरक (फिस्कल डिफिसिट) कुल गार्हस्थ्य उत्पादनको ५.९ प्रतिशत रहनेछ ।

उनले सन् २०२५÷०२६ मा यस्तो अन्तर ४.५ प्रतिशतले झार्ने अनुमान गरेकी छिन् । चालू वर्षको यस्तो अन्तर पूर्ति गर्न ११.८ लाख करोड बजारबाट सापटी लिइने उनले बजेटमा उल्लेख गरेकी छिन् । पुँजीगत खर्च ३३ प्रतिशतले बढाएर १० लाख करोड बनाइएको छ जुन जीडीपीको ३.३ प्रतिशत हो ।

भारतीय बजेटका मुख्य विशेषता
वित्तमन्त्री सीतारमणले ल्याएको उक्त बजेटमा सात लाख भारुसम्म वार्षिक आम्दानी गर्नेलाई आयकरमा पूर्ण छुट दिइएको छ । त्यस्तै ट्याक्स स्ल्याब पनि ६ बाट घटाएर ५ गरिएको छ । यसअनुसार तीन लाखसम्म आम्दानी गर्नेले कर तिर्नुपर्नेछैन भने तीनदेखि छ लाखसम्म कमाउनेले पाँच प्रतिशत र १५ लाखभन्दा माथि कमाउनेले ३० प्रतिशत कर तिर्नुपर्नेछ । यसमा वार्षिक नौ लाख आयकर्ताले ४५ हजार भारु कर तिरे पुग्नेछ ।

बजेटमा आयात शुल्क पनि कम गरिएको छ । यसले केही वस्तुहरु सस्तो हुने देखिएको छ । जस्तो ब्याट्री बनाउने सामानको आयात शुल्क घटाइएको छ । टीभी प्यानेल, मोबाइल पार्टजस्ता वस्तुको पनि आयात शुल्क घटाइएको छ । यसबाहेक चुरोट, रक्सी, सुन, चाँदी, कम्पाउन्डेड रबरको भन्सार शुल्क बढाइएकोले यी वस्तु महँगो हुने देखिएको छ ।

वित्तमन्त्री सीतारमणले प्रधानमन्त्री आवास योजनाको लागि ६६ प्रतिशतले बजेट बढाएर ७९ हजार करोड वितरण गरेकी छिन् । त्यस्तै रेल बजेटतर्फ नयाँ परियोजनाको लागि ७५ हजार करोडको कोष र कुल २.४ लाख करोड बजेट विनियोजन गरेकी छिन् । बजेटमा ५० वटा नयाँ विमानस्थल निर्माणको घोषणा गरिएको छ ।

भारतीय बजेटमा किसानका लागि धेरै घोषणा गरिएको छ । त्यस्तै स्वच्छ ऊर्जामा जोड दिइरहेको भारतले ऊर्जा सुरक्षाको लागि ३५ हजार करोड भारु विनियोजन गरेको छ ।

त्यस्तै भारतले रक्षा बजेट बढाएर ५.९४ लाख करोड बनाएको छ । अघिल्लो बजेटमा यो ५.२५ लाख करोड मात्रै थियो । नयाँ हतियार, एयरक्राफ्ट, लडाकु जहाज र अन्यका लागि १.६२ लाख करोड छुट्याइएको छ ।

यता पूर्वाधार विकासका लागि जीडीपीको ३.३ प्रतिशत अर्थात् १० लाख करोड विनियोजन गरिएको छ ।त्यस्तै भारतको प्रतिव्यक्ति आय बढेर १.९७ लाख करोड पुगेको वित्तमन्त्रीले बजेट भाषणका क्रममा बताएकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया