अनिश्चयको भुमरीमा नागढुंगा सुरुङ्ग मार्ग
‘एक वर्ष म्याद थप भयो तर काम सकिन्न’
काठमाडौं,त्रिभुवन राजपथबाट काठमाडौं प्रवेश गर्ने बहुचर्चित नागढुंगा सुरुङ्गमार्गको म्याद सरकारले २५ अप्रिल २०२३ देखि २४ अप्रिल २०२४ अर्थात् नेपाली मिति २०८० बाट २०८१ वैशाख १२ गते एक वर्षका लागि थप गरिदिएको छ । एक वर्ष म्याद थप भए पनि थपिएको म्यादमा पनि काम सकिने अवस्था छैन ।
सरकारले स्थानीयका समस्या पूर्ण रुपमा समाधान नगर्नु, बीचबीचमा नयाँ–नयाँ समस्या निस्किनु र सुरुङ्गमार्ग खुम्चिने समस्या आएमा थप जटिलता आउने भन्दै थप म्यादमा पनि काम सम्पन्न हुनेमा आशंका थपिएको आयोजनाको कन्सल्टेन्ट (परामर्शदाता) कम्पनी निप्पोन कोईले सडक विभागलाई जानकारी गराएको छ ।
परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले बिहीबार पनि सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई भेट गरी समस्याको जानकारी गराउँदै समाधान गरिदिन आग्रह गरेको थियो । परामर्शदाता कम्पनीले आयोजना समयमै सक्ने हो भने बाह्य तथा आन्तरिक कुनै पनि समस्या ननिस्किने वातावरण बनाइदिन पटक–पटक आग्रह गर्दै आएको छ ।
सरकारले स्थानीयलाई मुआब्जा तोके पनि मुआब्जाको सबै रकम उपलब्ध गराएको छैन । सोही कारण स्थानीयले बेलाबेलामा सुरुङ्गमार्गको बाहिरी काममा बाधा सिर्जना गरिरहेका छन् । धमाधम काम भइरहेको बेला पुस २० गतेदेखि सरकार आफैंले ढुंगा, गिट्टी, बालुवाको समस्या सिर्जना गरिदिएपछि अहिले मुख्य सुरुङ्गमार्ग खन्ने काम नै रोकिएको छ ।
२०२३ को जनवरी ६ अर्थात् गत पुस २२ गतेदेखि रोकिएको मुख्य सुुरुङ्गमार्ग खन्ने काम अझै सुरु भएको छैन । यसले नै संकेत गरेको छ कि सुरुङ्गमार्गको काम अनिश्चयको भुमरीमा पर्दै गएको छ । २६ सय ८८ मिटर मुख्य सुरुङमार्गमध्ये जनवरी ८, २०२३ अर्थात् २०७९ पुस २४ गतेसम्म १७ सय ८२ दशमलव ८० मिटर मात्र खनिएको छ । त्यसमध्ये फिनिसिङको काम भने नौ सय ५७ दशमलव १० मिटर अर्थात् ३४ प्रतिशत मात्र पूरा भएको छ ।
सरकारले सिर्जना गरेको ढुंगा, गिट्टी, बालुवाको समस्याको समयमा भने परामर्शदाता कम्पनीले सुरुङमार्गभित्रको आन्तरिक अध्ययनमा समय दिएको थियो । यसले सुरुङमार्ग निर्माणमा देखिनसक्ने थप प्राविधिक समस्या समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । सरकारले क्रसरको समस्या आगामी असार मसान्तसम्मको लागि समाधान गर्ने निर्णय गरिसकेको छ ।
‘कोभिडको कारण पाउनुपर्ने एक वर्षको थप म्याद पाएका छौँ’, आयोजनाको कन्सल्टेन्ट कम्पनी निप्पोन कोई सम्बद्ध एक इन्जिनियरले बिहीबार आर्थिक दैनिकसित भने, ‘२५ अप्रिल २०२३ अर्थात् २०८० वैशाख १२ गते सुरुङ्गमार्गको काम सक्ने भन्ने थियो ।
कोभिडको कारण रोकिएको कामको म्याद २४ अप्रिल २०२४ अर्थात् २०८१ वैशाख १२ गतेसम्मका लागि थप भएको भन्ने अनौपचारिक जानकारी आएको छ । यद्यपि लिखित जानकारी आएको छैन । तर, त्यो थप मितिमा पनि काम सकिने सम्भावना छैन ।’ ती इन्जिनियरका अनुसार निर्माण कम्पनीले भने पाँच सय ५४ दिन म्याद थप गर्न माग गरेको थियो ।
सडक विभागले एक वर्षको म्याद थप गरेर निर्माणसम्पन्न हुने मिति २०८१ वैशाखसम्मको लागि दिए पनि निर्माण कम्पनी भने अक्टोबर २०२४ अर्थात् २०८१ असोज÷कात्तिकसम्म काम सक्ने योजनासाथ काम गरिरहेको छ ।
तर, त्यसका लागि पनि सरकारले स्थानीयका समस्या पूर्ण रुपमा समाधान गर्नुपर्नेछ भने बीच–बीचमा निर्माण सामग्रीको अभाव हुने गरी सरकारी तवरबाटै समस्या सिर्जना गरिनुहुन्न ।
यदि सुरुङ स्कुचिङ अर्थात् खुम्चिने समस्या देखा परेमा भने निर्माण पूरा हुने मितिमा अझै पुनर्विचार हुनेछ ।सरकारी निर्णय र स्थानीयको कारण समस्या सिर्जना नभएमा भने २०८१ असोज÷कात्तिकसम्म सुरुङमार्गबाट गाडी चल्नेछ । धादिङतर्फबाट सुरुङमार्ग खन्न केही सहज भए पनि काठमाडौंबाट खन्ने काममा भने माटो धेरै आएकाले ढिला भइरहेको छ । उक्त आयोजना जापान सरकारको सफ्टलोनमा निर्माण भइरहेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
- प्रहरी महानिरीक्षक(एआइजी)मा वसन्तबहादुर कुँबर नियुक्त
- रोजगारी सिर्जनामा मुख्यमन्त्री अधिकारीको जोड
- रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै
- सुकुम्वासीका छोराछोरी पढ्ने नमूना विद्यालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया