Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत

विद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत


सोलुखुम्बु,हिमाली जिल्ला सोलुखुम्बुमा निर्माण गरिएको जलविद्युत् आयोजनाले न्यूनतम मापदण्डको ख्याल नगर्दा सोलुखोला बगरमा परिणत भएको छ । जिल्लामा निर्माणसम्पन्न भएर विद्युत् उत्पादन सुरु गरेको ९.५ मेगावाटको मध्य सोलुखोला जलविद्युत् आयोजनाले मापदण्डको ख्याल नगर्दा अहिले सोलुखोला नै सुख्खा बगरमा परिणत भएको हो ।

सधैँ खोलामा बगिरहने पानी आयोजनाले सबै लगेपछि अहिले सोलुदूधकुण्ड नगरपालिका ३ र ४ क्षेत्रको खोला नै सुख्खा बनेको छ । विद्युत् विकास विभागको नियमअनुसार आयोजनाहरु निर्माण गर्दा कम्तीमा १० प्रतिशत पानी खोलामा छोड्नुपर्ने मापदण्ड भए पनि यहाँका आयोजना त्यसलाई पालना गर्नमा चुकेका छन् । यसका कारण सोलुखोलाको जलप्राणीहरुको अस्तित्व नै गम्भीर संकटमा परेको छ भने पर्यवरणमा समेत असर गरेको स्थानीय दावा तामाङको गुनासो छ ।

घरकै छेउबाट सधैँ छङछङ बगिरहने खोला अहिले बगरमा परिणत भएपछि उराठलाग्दा भएको सोलुदूधकुण्ड नगरपालिका ४ बोल्दोका स्थानीय बताउँछन् । दूधकुण्डबाट आउने पानी भएकाले सधैँ दूधजस्तै सेतो बगिरहाने सोलुखोला सुख्खा हुँदा बटुवाहरुले समेत सोध्ने गरेको अर्का स्थानीय दावा शेर्पाले बताए ।

हाल खोलाका माछा, पाहालगायतका जलप्राणीहरु सबै मरेको स्थानीय दावा तामाङ (ए)को भनाइ छ । खोलाकै नजिक बस्ती भएकाले विगतमा आफूहरुको दैनिकी माछा मार्नमा बित्ने गरे पनि अहिले त्यही खोला देखेर निकै विरक्त लाग्ने गरेको स्थानीय रमन तामाङको भनाइ छ । जिल्लामा तल्लो सोलुखोला, माथिल्लो सोलुखोला, बेनी, लिखुखोलालगायत आधा दर्जनभन्दा बढी विद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । अधिकांश आयोजनाहरुले खोलामा मापदण्डअनुसारको पानी छोड्ने सवालमा आनाकानी गरिरहेको सर्वसाधारण बताउँछन् ।

ढुंगा उत्खननको थलो बन्दै
सोलुखोलाको पानी सुकाएर बगरमा परिणत भए पनि अहिले सोलुखोला नै क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । अहिले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकालिरहेको छ भने ती ढुंगाहरु क्रसरमा ढुवानी हुने गरेको स्थानीय रमन तामाङले बताए ।

रोजगार दिने भन्दै क्रसर उद्योगीहरुले आफूहरुलाई खोलाभित्रको ढुंगा निकाल्न लगाएको तामाङ बताउँछन् । जसका कारण नजिकका बस्तीहरुमा समेत असर गर्नसक्ने स्थानीयको चिन्ता छ । विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु र खोलाको ढुंगा गिटीहरु समेत क्रसरले धमाधम उत्खनन गरिरहँदा समेत स्थानीय सरकारदेखि प्रशासन समेत मौन छ ।

जसका कारण वातावरणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्नसक्ने वातावरण विज्ञ राजन थापाले चिन्ता व्यक्त गरे । जंगली जनावर तथा जल प्राणीहरुको अस्तित्व जोगाउन समेत खोलामा कम्तीमा १० प्रतिशत पानी छोड्नैपर्ने थापाको भनाइ छ ।सुबास दर्नाल


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया