Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपहिलो ६ महिनामा ओमसतिया गाउँपालिकाको पुँजीगत खर्च ३५ प्रतिशत

पहिलो ६ महिनामा ओमसतिया गाउँपालिकाको पुँजीगत खर्च ३५ प्रतिशत


बुटवल । स्थानीय तहहरुमा धमाधम विकास निर्माणका कामहरु हुन थालेका छन् । चालू आर्थिक वर्षको पहिलो छ महिनामा ओमसतिया गाउँपालिका रुपन्देहीले ३५ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालू वर्षको सुरुका महिनाहरु कार्यसम्पादनका लागि प्रक्रियामा जाने, उपभोक्ता समिति गठन गर्ने, डेन्डर आह्वान गर्ने, योजना सम्झौता गर्नेजस्ता काम हुने हुँदा पुँजीगत खर्च खासै नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर गौतमले जानकारी दिए ।

योजना सम्झौता भएपछि भने निर्धारित समयमै सम्पन्न गर्ने रणनीतिअनुरुप योजनाहरुलाई कार्यान्वयनमा ल्याइएको गौतमले बताए । उनका अनुसार हालसम्म ७० प्रतिशत योजनाहरु सम्झौता भइसकेको र माघ मसान्तसम्म ९० प्रतिशत योजनाहरु सम्झौता गरिसक्ने योजना छ । ठेक्का प्रक्रियाबाट गर्नुपर्ने दुई/तीन वटा योजनाहरु भने बाँकी रहेको उनले बताए । साथै पालिकाले यही माघ २७ गते गाउँसभा गर्ने मिति तय गरेकोले गाउँसभाले गर्ने निर्णयअनुसार थप प्रभावकारिता अपनाएर अगाडि बढ्ने उनको भनाइ छ । चालू आर्थिक वर्षमा करिब छ सयको हाराहारीमा ५० हजारदेखि ५० लाख रुपैयाँसम्मका योजनाहरु रहेको उनले जानकारी दिए । उनका अनुसार विशेष अनुदानअन्तर्गत दुई करोड ५० लाखको बहुबर्षीय योजना, एक करोड रुपैयाँको एकवटा योजना, ५० लाख रुपैयाँबराबरका सातवटा योजनाहरु छन् ।

गाउँपालिकाले चालू खर्चलाई कम गर्दै पुँजीगत खर्च गर्नमा बढी जोड दिएको छ । लेखा अधिकृत कमल प्रसाद शर्माका अनुसार गत आर्थिक वर्षमा ८२ दशमलव ५४ प्रतिशत पुँजीगत र ८१ दशमलव ५८ प्रतिशत चालू खर्च भएको थियो । यस वर्ष कुल ५१ करोड ३७ लाख २१ हजार रुपैयाँ बजेटमध्ये चालूतर्फ ३० करोड ५० लाख ५७ हजार र पुँजीगततर्फ २० करोड ८६ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकामा आन्तरिक आम्दानीका स्रोतहरु कम हुँदा संघीय सरकार र प्रदेश सरकारमा बढी निर्भर रहनुपर्ने अवस्था छ । आम्दानी वृद्धिका लागि करको दरभन्दा दायरा वृद्धिमा बढी केन्द्रित भएको शर्माले बताए । करको पहुँचमा हुनुपर्ने सबै पहुँचभित्र आउँदा आन्तरिक आम्दानीमा पनि वृद्धि हुँदै गएको उनको भनाइ छ । चालू आर्थिक वर्षमा तीन करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेको उनले बताए । पुस मसान्तभित्र एक करोड २४ लाख ८३ हजार रुपैयाँ सङ्कलन भइसकेको छ । यहीअनुसार राजस्व सङ्कलन भएमा लक्ष्य भेटाउन कुनै समस्या नपर्ने उनले बताए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया