Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटेलिकमद्वारा फाइभजीको परीक्षणको सुरुवात

टेलिकमद्वारा फाइभजीको परीक्षणको सुरुवात


काठमाडौँ ।  नेपाल टेलिकमले फाइभजीको परीक्षणको सुरुवात गरेको छ । नेपाल टेलिकमले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर आइतबार फाइभजीको परीक्षणको सुरुवात गरेको हो ।

विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको कम्पनीले जनाएको छ । कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले नयाँ प्रविधिका रुपमा ई–सिमको देशव्यापी वितरण गरिरहेको जानकारी दिए ।

यस्तै भोवाईफाई सेवा व्यावसायिकरुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप परीक्षणकार्य अन्तिम चरणमा रहेको उनले बताए । प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भू–भागमा सेवाको पहुँच पु-याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको सुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उनले उल्लेख गरे । यस्तै उनले नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभएर सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् । अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफारहित रुपमा भए पनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरु उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उनको भनाइ थियो । विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुनेगरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न समेत उनले निर्देशन दिइन् ।

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि उल्लेख गरिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टि सर्वोपरी हुनुपर्ने बताए । ‘कम्पनीले सेवाहरु देशभर विस्तार गरेर मात्र पुग्दैन, वितरित सेवाहरु गुणस्तरीय, भरपर्दो र निरन्तर उपलब्ध गराउनु पर्छ’, उनले भने । सेवाहरु निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजस्वमा थप बढोत्तरी हुने अर्यालले बताए । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उनले बताए ।

सो कार्यक्रमका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजस्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।

यस्तै कम्पनीले १९औँ वार्षिकोत्सवको अवसरमा अफर पनि उपलब्ध गराइएको छ । यसअन्तर्गत २९४ रुपैयाँमा १० दिनका लागि २० जीबी डाटा, ९८ रुपैयाँमा तीन दिनका लागि छ जीबी डाटा र ४९ रुपैयाँमा एक दिनका लागि एक एमबीपीएस अनलिमिटेड डाटा र अन नेट एक सय मिनेट कल सुविधा उपलब्ध गराइएको छ । यसैगरी दुई सयदेखि चार सय ९९ रुपैयाँको रिचार्ज गर्दा दुई जिबी बोनस डाटा, दैनिक एक जिबी प्रयोग गर्न सकिने तथा पाँच सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा दैनिक दुई जिबीका दरले चार दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ ।

यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि १२ हजार रुपैयाँमा २० एमबीपीएस डाटा, एक लाइन टेलिफोन र एउटा एनटीटीभीसहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फागुन २९ गतेसम्मका लागि उपलब्ध गराइएको छ ।

वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, बसपार्क, एयरपोर्ट, अस्पताललगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेको पनि जनाइएको छ ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निःशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया