Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधान्नै नसक्ने मूल्यवृद्धि

धान्नै नसक्ने मूल्यवृद्धि

 विदेशी मुद्राको सञ्चिति भने १० प्रतिशतले वृद्धि


काठमाडौं,चालू आर्थिक वर्षको पहिलो छ महिनामा आम नागरिकले धान्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्षको पहिलो छ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै मूल्यवृद्धि बढेको जनाएको हो ।राष्ट्र बैंकले चालू आर्थिक वर्षको पुस महिनामा मूल्यवृद्धि सात दशमलव २६ प्रतिशतले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ५ दशमलव ६५ प्रतिशत मात्र थियो ।

त्यसमा पनि खाद्य तथा पेय पदार्थ समूहको पाँच दशमलव ६२ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको आठ दशमलव ५७ प्रतिशतले मूल्यवृद्धि भएको छ ।सबैभन्दा बढी मूल्यवृद्धि तराईमा भएको छ भने सबैभन्दा कम मूल्यवृद्धि हिमाल र त्यसपछि काठमाडौं उपत्यकामा छ । राष्ट्र बैंकका अनुसार तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत, काठमाडौं उपत्यकामा छ दशमलव ९३ प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

२०७८ पुसमा तराईमा छ दशमलव १५ प्रतिशत, पहाडमा पाँच दशमलव ३४ प्रतिशत, काठमाडौंमा पाँच दशमलव २८ प्रतिशत र हिमालमा पाँच दशमलव २२ प्रतिशत मात्र मूल्यवृद्धि भएको थियो । यसले सबै क्षेत्रका नागरिक मूल्यवृद्धिको चपेटामा परेको देखाएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी छ महिना अर्थात् साउनदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार उपभोग्य वस्तुको मूल्यवृद्धि चार दशमलव ४७ प्रतिशत, मध्यवर्ती वस्तुको मूल्यवृद्धि १३ दशमलव ८० प्रतिशत र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि १३ दशमलव ८० प्रतिशतले भएको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा वार्षिक विन्दुगत थोक मूल्यवृद्धि नौ दशमलव ८२ प्रतिशत छ । अघिल्लो वर्षको पुस महिनामा यस्तो मूल्यवृद्धि आठ दशमलव शून्य आठ प्रतिशत मात्र थियो ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य १६ दशमलव ४३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, विविध वस्तु तथा सेवाको आठ दशमलव ६८ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरहणहरुको आठ दशमलव ३३ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

मूल्यवृद्धि भए पनि विदेशी मुद्राको सञ्चिति बढेको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले बढेर २०७९ पुस मसान्तमा १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकसँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले घटेर एक खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । २०७९ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको छ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १० महिना चार दिनको वस्तु आयात र नौ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । २०७९ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७ दशमलव छ प्रतिशत, ७५ दशमलव पाँच प्रतिशत र २३ दशमलव चार प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५ दशमलव एक प्रतिशत, ५७ दशमलव आठ प्रतिशत र २२ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

वस्तु आयातमा कमी
राष्ट्र बैंकले वस्तु आयात २० दशमलव सात प्रतिशतले कमी आएको जनाएको छ । चालू आवको पछिल्लो छ महिनामा कुल सात खर्ब ९२ अर्ब ६७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५१ दशमलव एक प्रतिशतले बढेको थियो ।
चालू आवको पछिल्लो छ महिनामा कुल वस्तु निर्यात पनि ३२ प्रतिशतले घटेको देखिएको छ । सो अनुसार यही पुस मसान्तसम्ममा ८० अर्ब ८१ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

प्रतिवेदन अनुसार वस्तु आयात तथा निर्यात दुवैमा कमी आएसँगै मुलुकको व्यापारघाटामा पनि कमी आएको छ । जसबाट कुल वस्तु व्यापारघाटा १९ दशमलव दुई प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु निर्यात ९५ दशमलव पाँच प्रतिशतले बढेको थियो ।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४० दशमलव एक प्रतिशत र २५ दशमलव दुई प्रतिशतले घटे पनि अन्य मुलुकतर्फको निर्यात भने तीन दशमलव छ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढ्दा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुल वस्तु आयात भने ५१ दशमलव एक प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव चार प्रतिशत, २४ दशमलव छ प्रतिशत र २१ दशमलव चार प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढे पनि चालू आवको पछिल्लो छ महिनामा सवारीसाधन तथा स्पेयर पार्ट्स, औषधि, एमएस बिलेट, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात भने घटेको प्रतिवेदनमा उल्लेख छ । निर्याततर्पm भने भैरहवा, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा निर्यात–आयात अनुपात १० दशमलव दुई प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव नौ प्रतिशत रहेको थियो । चालू आवको छ महिनामा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ६० अर्ब ५६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १० अर्ब ९१ करोडबराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।

पा“च खर्ब ८५ अर्ब आठ करोड रुपैयाँ भित्रियो
विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स रकम बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिना अर्थात् पुस मसान्तसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव तीन प्रतिशतले बढेर पाँच खर्ब ८५ अर्ब आठ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ दशमलव नौ प्रतिशतले वृद्धि भई चार अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलव सात प्रतिशतले घटेको थियो । चालू आवको पछिल्लो वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४ दशमलव छ प्रतिशतले बढेर दुई लाख ७५ हजार छ सय ४३ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चालू आवको पछिल्लो अवधिमा नौ दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ४२ हजार पाँच सय ४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ९८ दशमलव एक प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो छ महिनामा खुद ट्रान्सफर २२ दशमलव सात प्रतिशतले बढेर छ खर्ब ४४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । खुद सेवा आय ३१ अर्ब २७ करोडले घाटामा खुद सेवा आय घाटामा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार खुद सेवा आय ३१ अर्ब २७ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ४६ अर्ब २३ करोडले घाटामा रहेको थियो ।चालू आवको पछिल्लो छ महिनामा सेवा खाताअन्तर्गत भ्रमण आय एक सय १६ दशमलव नौ प्रतिशतले बढेर २८ अर्ब आठ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२ अर्ब ९४ करोड रहेको थियो । यसैगरी सेवा खाताअन्तर्गत चालू आवको पछिल्लो छ महिनामा भ्रमण व्यय ५८ दशमलव पाँच प्रतिशतले वृद्धि भई ५१ अर्ब ४५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ३५ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ३२ अर्ब ४५ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।

शोधनान्तर स्थिति ९७ अर्ब रुपैयाँले बचतमा
मुलुकको शोधनान्तर स्थिति बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्र्षको पछिल्लो छ महिनाको अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा देखिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ । चालू आवको पछिल्लो छ महिनामा चालू खाता २९ अर्ब ४७ करोडले घाटामा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा पुँजीगत ट्रान्सफर १९ दशमलव एक प्रतिशतले कमी आई चार अर्ब ४३ करोड कायम भएको छ । यस अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर पाँच अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया