Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवर्षायाममा मेलम्चीको विकल्पमा वाग्मतीबाट १० करोड लिटर पानी थप्ने तयारी

वर्षायाममा मेलम्चीको विकल्पमा वाग्मतीबाट १० करोड लिटर पानी थप्ने तयारी


काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले वर्षायाममा मेलम्चीको पानीको विकल्पमा वाग्मतीबाट थप १० करोड लिटर पानी थप्ने तयारी गरेको छ ।

विगतमा जस्तै आगामी वर्षायाममा पनि मेलम्ची आयोजना बन्द हुने भएकोले त्यसको विकल्पमा वाग्मती नदीबाट थप पानी उत्पादन गर्ने तयारी थालिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले स्थायीरूपमा टनेल नबनेसम्म वर्षायाममा मेलम्चीको पानी उपत्यकामा ल्याउन बन्द गरिने जानकारी दिए । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मेलम्चीको विकल्पमा उपत्यकामा पानी वितरण क्षमता वृद्धि गर्न वाग्मती नदीबाट थप पानी उत्पादन गर्ने तयारी गरेको जानकारी दिए ।

‘वर्षायाममा अहिले वाग्मतीबाट लिइएको भन्दा बढी पानी लिन सकिन्छ,’ उनले भने, ‘मेलम्चीबाट पानी आउन बन्द हुने समयमा हामीले वाग्मतीबाट थप पानी ल्याउन प्रक्रिया थालिसकेका छौँ ।’ यस्तै उनले पानीको माग धान्न अन्य वैकल्पिक स्रोतहरूको पनि खोजी भइरहेको बताए । उनका अनुसार मेलम्चीकै विकल्पमा सिस्नेरी खानेपानी आयोजनाको अध्ययन पनि सुरु गरिएको छ ।

केयूकेएलका अनुसार हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४७ करोड लिटर रहेको छ यद्यपि दैनिक १४ करोड लिटर पानी मात्रै वितरण भइरहेको छ । केयूकेलले हाल महाँकाल चौर पानी भण्डार, खुमलटार, बालाजु, कीर्तिपुर, टिगनी मध्यपुर थिमी, कटुञ्जे भक्तपुर, बाँसबारी महाराजगञ्ज, पानीपोखरी, मिनभवन र अनामनगरमा पानी ट्यांकीबाट मेलम्चीको पानी वितरण भइरहेको जनाएको छ । अहिले दुई दिन विराएर वितरण पालो परेको दिन चार घण्टाको दरले पानी वितरण हुँदै आएको छ । यस्तै केयूकेएलले पानी वितरणको तालिका वर्षायाममा पनि फेरबदल नगर्ने प्रतिबद्धता जनाएको छ ।

चक्रपथबाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब आवश्यक
यस्तै काठमाडौं खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले काठमाडौं उपत्यकाको चक्रपथबाहिरको क्षेत्रमा पनि मेलम्चीको पानी वितरणका लागि अत्यधिक माग आएको बताए । उक्त माग सम्बोधन गर्न अनुमानित २४ अर्ब वित्तीय स्रोत आवश्यक देखिएको उनको भनाइ छ ।

सो क्षेत्रमा पानी वितरणको लागि आवश्यक पर्ने वित्तीय स्रोत तत्काल व्यवस्थापन गर्न उनले सम्बन्धित निकायको ध्यानाकर्षन समेत गराएका छन् । यस्तै उनले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरणमा धेरै समस्या देखिएको बताए । हाल नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्ने कार्य भइरहेको र कतिपय स्थानमा सडक साँघुरो हुँदा बिछ्याइसकिएको खानेपानीको पाइप तथा विद्युत् लाइन भूमिगत गर्ने क्रममा आवश्यक सुरक्षित दूरी कायम हुन नसकेको उनको भनाइ थियो ।

उनले भविष्यमा त्यस्ता स्थानको मर्मतसम्भार गर्दा समन्वय तथा सावधानी अपनाउन आवश्यक रहेको बताए । उनले नयाँ वितरण प्रणाली परीक्षण गर्ने क्रममा विभिन्न स्थानमा तेस्रो पक्षबाट सडक तथा ढल निर्माण तथा मर्मत र विद्युत् लाइन तथा टेलिफोनका तार भूमिगत गर्ने क्रममा बिछ्याइएका थोक तथा वितरण सञ्जालका पाइपलाइनमा क्षति भएको बताए । पानी परीक्षण र वितरण हुँदा यस्ता पाइपबाट पानी चुहावट हुनेगरेको पाइएको उनको भनाइ छ ।

उनले त्यसरी क्षति भएका खानेपानी पाइपलाइनको मर्मतकार्य सम्पन्न गर्न अतिरिक्त समय र स्रोत परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले मेलम्चीको पानी दोस्रो चरणमा सरकारको आफ्नै स्रोतबाट चक्रपथभित्र बाँकी रहेका स्वयम्भू, बालुवाटार, महाराजगञ्ज, धुम्बाराही आदि स्थान र चक्रपथबाहिरका मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भाग गरी करिब आठ सय किलोमिटर पाइपलाइन बिछ्याउने कार्य भइरहेको जानकारी दिए । यसमध्ये हालसम्म करिब चार सय ३० किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको र बाँकी पाइपलाइन आगामी असारभित्र बिछ्याई परीक्षण सुरु गर्ने बताए ।

चक्रपथबाहिरका खुमलटार, ग्वार्को, नखिपोट, धापाखेल, सुनाकोठी, भैंसेपाटी, वागडोल, सूर्यविनायक, मूलपानी, इमाडोल, महालक्ष्मी, नागार्जुन नगरपालिका, धापासी, स्युचारटारलगायत स्थानमा करिब १६ सय ५० किलोमिटर पाइपलाइनको सर्वेक्षण तथा डिजाइनको कार्य भइरहेको उनको भनाइ छ ।  मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पथान्तरण हुँदा नयाँ थोक तथा वितरण सञ्जालमार्फत पानी वितरण गर्नका लागि आवश्यक खानेपानीका संरचनाहरूको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गर्दै आएको छ ।

निर्देशनालयले उपत्यकामा हालसम्म कुल ७४ हजार पाँच सय घनमिटर क्षमताका १० वटा पानीपोखरीहरूको निर्माण गरी काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड एवं काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई हस्तान्तरण गरिसकेको छ । यस्तै खानेपानीका थोक तथा मुख्य वितरण प्रणाली प्रभावकारी सञ्चालनका लागि केन्द्रीकृत रूपमा कम्प्युटरमा आधारित स्वचालित प्रविधि जडान गर्ने कार्यको डिजाइन गरी विद्युतीय उपकरणहरूको आपूर्ति तथा संरचना निर्माणको कार्य गरिरहेको जनाएको छ ।

यसैगरी भक्तपुर, मध्यपुर, कीर्तिपुर, पेसीकोला, गोकर्ण र बौद्धलगायतका क्षेत्रका खानेपानी सेवा पु-याउनको लागि करिब ७७० किमि पाइपलाइन बिछ्याउन खरिदसम्बन्धी बोलपत्र कागजात तयारी अवस्थामा रहेको जनाइएको छ । नेपाल सरकार र एसियाली विकास बैंकबीच ऋण सम्झौता हुनासाथ खरिदकार्य अगाडि बढाउने तयारी रहेको निर्देशनालयले जनाएको छ । यस्तै निर्देशनालयले खानेपानी वितरण सञ्जाल सुधार प्याकेज सञ्चालनका क्रममा उपत्यकाका विभिन्न स्थानमा क्षति भएका सडकहरूको पुनस्र्थापनाका लागि गरिएको सम्झौताबमोजिम काम नगर्ने भारतको हैदरावादस्थित सीआईपीईएलसँगको ठेक्का रद्द गरी उक्त कम्पनीको धरौटीबापतको ११ करोड ६२ लाख जफत गर्नुका साथै मोबिलाइजेसनको १० करोड रूपैयाँ पनि फिर्ता लिएको छ ।

साथै, काठमाडौं उपत्यका फोहरपानी व्यवस्थापन आयोजनाअन्तर्गतको सल्लाघारी, कोडकु र धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्नका लागि गरिएको सम्झौताबमोजिमको काम नगर्ने चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गरी उक्त कम्पनीको पनि धरौटी अमेरिकी डलर ३ दशमलव ८२५ मिलियन जफत गर्नुका साथै मोबिलाइजेसनबापतको रकम अमेरिकी डलर २ दशमलव ४४६ मिलियन गरी ८८ करोड १६ लाख रूपैयाँ फिर्ता लिइएको जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया