Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघरेलु मदिराले १५ जनाको मृत्यु

घरेलु मदिराले १५ जनाको मृत्यु


कमल साह
जनकपुरधाम, चैत २
विषाक्त घरेलु मदिरा सेवनले धनुषा क्षीरेश्वनारथ नगरपालिका २ रमदैयामा १५ जनाको मृत्यु भएको छ भने ६ जना सिकिस्त छन् । होली पर्वका दिन बुधबार विषाक्त मदिरा सेवन गरेका वडा नम्बर २ मा भुटन सदा, राजु महरा, रामनारायण महरा, गुदरी महरा, राम विलास मण्डल, ब्रह्मदेव यादव, बिजय सदा रहती गिरफ्तार यादवको मृत्यु भएको थियो । अशक्त भएका वडा नम्बर १ का इन्द्रजीत महराको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । सिकिस्त शत्रुध्न मण्डल र रामईश्वर महराको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा र बदरी महराज, उपेन्द्र महराज, शम्भु महराज र सीताराम यादवको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ ।

प्राप्त जानकारीअनुसार यसअघि गाउँकै अवैध मदिरा भट्टीमा मदिरा सेवनले होलीको पूर्वसन्ध्या सोमबार वडा नम्बर १ मुसहर बस्तीमा रामसती सादा, विजय सादा र झुरकु सादासहित तीन जनाको मृत्यु भएको थियो । तर प्रहरी रेकर्डमा यिनीहरुको नाम रहेको छैन । घटनापश्चात् प्रहरीले गाउँमा अवैध मदिरा भट्टी सञ्चालक रामनन्दन साह र नाम नखुलेको तारापटीबाली भने एक जना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ । स्थानीयका अनुसार सो गाउँमा साहलगायत शम्भु कलाल, तरपटिया भनिने महिलाको अवैध घरेलु मदिरा भट्टी सञ्चालनमा रहेको छ ।

यता प्रहरीले अवैध घरेलु मदिरा सेवनले मात्र ५ जनाको मृत्यु भएको जानकारी दिएका छन् । सञ्चारकर्मीको जिज्ञासामा १० जनाको मृत्यु भएको भन्ने कुरा धनुषा प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको भनेका छन् । स्थानीयले प्रहरी समयमै सक्रिय नभएको कारण यति ठूलो संख्यामा क्षति हुन गएको आरोप लगाएका छन् । उनीहरुले भने होलीको दुई दिनपहिले नै तीन जना सादा परिवारको मृत्यु भएको थियो । प्रहरीले सक्रियता नदेखाउँदा क्रमबद्ध रुपमा मृत्यु हुनेहरुको संख्या बढ्दै गएको हो । यतिको संख्यामा मृत्यु भए पनि पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा रामनन्दन महरा मात्र शव आएको र अन्यको दाहसंस्कार भइसकेको स्थानीयले बताएका छन् ।

प्रहरी भन्छ : समयमा खबरै आएन – घटनाबारे महेन्द्रनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु नायकले प्रहरीलाई समयमा खबर नआएको बताएका छन् । बिहीबार दुई जनाको मृत्यु भएपछि खबर पाएको र अनुसन्धान गर्दै जाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक नायकले भने, ‘मृतकका परिवारले कालगतिले निधन भएको भनी दाहसंस्कार गरिसकेका रहेछन् । शव नभएपछि मदिरा सेवनले तिनीहरुको मृत्यु भएको हो भने पुष्टि हुनै गाह्रो भएको छ ।’ उनका अनुसार अवैध घरेलु मदिरा बिक्रीवितरण रोक्न प्रहरी सक्रिय भए पनि लुकिछिपी घर घरमा बाहिरबाट ल्याएर बिक्री वितरण गरिरहेका छन् ।

गाउँ नै शोकमग्न – विषाक्त अवैध घरेलु मदिरा सेवनले मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि पूरै गाउँ नै शोकमा डुबेको छ भने त्रासको वातावरण समेत उत्पन्न भएको छ । ती पसलबाट कति जनाले रक्सी खाएका छन् भन्ने एकीन छैन । तर तिनीहरुलाई पनि केही हुनसक्ने त्रास उत्पन्न भएको छ । मृतक ब्रह्मदेव यादव परिवारका एक्ला सहारा थिए । उनको मृत्युले परिवार नै बिचल्लीमा परेको छ । चार छोरी र एक छोरा गरी पाँच सन्तान रहेका ब्रह्मदेवको मृत्युले परिवारको गुजर कसरी हुने हो भन्ने चिन्ता गाउँलेलाई सताएको छ । ब्रह्मदेव यादवको परिवार मात्रै होइन अन्य मृतक परिवारलाई पनि परिवारको सहारा गुमेपछि जीवन गुजारा कसरी हुने चिन्ताले सताएको छ ।

यसरी घटना भयो – मृतक ब्रह्मदेवकी श्रीमती धनलुट देवीका अनुसार सधैँ जस्तै रामनन्दन साहको भट्टीबाट बुधवार राति रक्सी खाएर आएका थिए । भोलिपल्ट बिहान करिब ४ बजे उनले वान्ता गरे । वान्ता भएपछि पुनः सुते र बिहान फेरि भट्टीमा पुगेका थिए । भट्टीमा पुग्दा मदिराको बोतल उठाउन खोज्दा ब्रह्मदेव बेहोस भएका थिए । उनी बेहोस भएपछि उनका साथीले उनलाई घर पु-याएपछि भूत प्रेत लागेको भन्दै धामीसँग झारफुक गराएका थिए । स्वास्थ्य अवस्थामा सुधार नभएपछि साँझमा अस्पतालमा लाने क्रममा उनको मृत्यु भएको थियो ।

त्यस्तै मृतक गुदरी मण्डलका छोरा सोमन महराले होलीमा बुवा मदिरा सेवन गरेर आएको दोस्रो दिन टाउको दुःखेको बताएका थिए । औषधि खुवाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि उपचारका लागि जानकी मेडिकल कलेजमा लगिएको थियो । त्यही उपचारको क्रममा मृत्यु भयो ।

विषाक्त रक्सी महोत्तरीबाट – पक्राउ परेका व्यक्तिलाई अनुसन्धान गर्दा अवैध घरेलु मदिरा महोत्तरी जिल्ला भंगहा नगरपालिका ३ सखरी टोलका जगतनारायण मण्डलबाट ल्याएको पाइएको प्रहरीले जनाएको छ । प्रहरी ती व्यक्तिहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया