टर्की र सिरियामा भूकम्पबाट मर्नेको संख्या ११ हजार नाघ्यो
टर्कीमा साढे ८ हजार र सिरियामा झण्डै ३ हजारको मृत्यु
इस्तानबुल । टर्की र सिरियाको सीमानजिकै ग्याजियान्टेप केन्द्रविन्दु भएर सोमबार बिहान गएको भूकम्पमा मर्नेको संख्या ११ हजार नाघेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार भूकम्पमा बुधबार रातिसम्म मृत्यु हुनेको संख्या ११ हजार तीन सय ७६ नाघेको हो ।
टर्कीका अधिकारीहरुले टर्कीमा मात्रै कम्तीमा आठ हजार पाँच सय ७४ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । जहाँ घाइतेहरुको संख्या करिब ५० हजार छ । बुधबार भूकम्पप्रभावित क्षेत्रमा टर्कीका राष्ट्रपति रिसिप टायिप एर्डोगानले भ्रमण गरेका थिए ।
यता सिरियामा कुल मृतक संख्या दुई हजार आठ सय दुई पुगेको छ । सिरियाको विद्रोही नियन्त्रित उत्तरपश्चिमी क्षेत्रमा मात्रै एक हजार पाँच सय ४० जना पुगेको छ । त्यस्तै बसद अल असाद सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा एक हजार दुई सय ६२ जनाको मृत्यु भएको सिरियाली सरकारका स्वास्थ्यमन्त्री हसन अल गोबासले जानकारी दिएको सिरियन मिडियाले उल्लेख गरेका छन् । सिरियाली सरकार नियन्त्रित क्षेत्रमा पाँच हजार बढी घाइते छन् भने विद्रोहीको नियन्त्रणमा रहेको भूभागमा दुइ हजार सात सय ५० घाइते छन् । दुवै देशमा खोजी र उद्धारको काम भइरहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्नेछ ।
६० घण्टा बित्दा पनि भग्नावशेषमा जीवितै भेटिँदै छन् मानिसहरू
भूकम्पले हजारौँ भवनहरु भत्किन पुगेका छन् । ती भवनहरुबाट अझै पनि मानिसहरु जीवितै भेटिइरहेको एजेन्सीहरुले उल्लेख गरेका छन् । भूकम्पनको ६०औँ घण्टासम्म पनि मानिसहरुको जीवितै उद्धार गरिएको अमेरिकी केबल न्युज नेटवर्कले जनाएको छ । ६०औँ घण्टामा एक बच्चासहित छ जनाको जीवितै उद्धार गरिएको हो ।
भूकम्पको कारण टर्कीको इस्केन्डेरन बन्दरगाहमा आगलागी भएको छ । जसका कारण कयौँ पानीजहाजलाई अन्तै सारिएको छ भने आगो निभाउने प्रयास जारी छ । मानिसहरु भूकम्पको दुई दिनपछि पनि जीवितै भेटिइरहँदा चिसो मौसमले उद्धार र खोजीमा कठिनाइ भएको बताइएको छ ।
विश्व समुदायबाट धमाधम सहयोग घोषणा
भूकम्पले तहसनहस भएका दुवै देशका लागि विश्व समुदायले सहयोगको घोषणा गरिरहेका छन् । भूकम्पलगत्तै खोजी र उद्धारका लागि टोली पठाएका विभिन्न देशहरुले अत्यावश्यक सामग्रीबाहेक ठूलो राशिको सहयोग पनि घोषणा गरिरहेका छन् । यसअनुसार चीनले ४४ लाख अमेरिकी डलर आकस्मिक मानवीय सहायतास्वरुप सिरियामा रकम पठाउने भएको छ । यसबाहेक २० लाख डलर तत्काल आवश्यक सामग्रीका लागि रहेको चिनियाँ विदेश मामिला मन्त्रालयले जनाएको छ ।
त्यस्तै संयुक्त अरब इमिरेट्स, भारत, इजिप्ट, अल्जेरिया, आर्मोनिया, इरान, लिबिया, इराक र जोर्डनले पनि विमानमार्फत सिरियाली सरकारलाई सहयोग उपलब्ध गराएका छन् । यूएईले सिरिया र टर्कीलाई मंगलबार नै १० करोड अमेरिकी डलर उपलब्ध गराउने जनाएको थियो । उसले दुई विमानमा सहायता सामग्री दमास्कस पठाएको थियो । यता अल्जेरियाले पनि एलेप्पोमा उद्धार टोलीसहितको सामग्री पठाएको बताइएको छ ।
यता टर्कीमा यसअघि नै युरोपेली संघ, अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, भारतलगायका देशले उद्धार टोली र राहत सामग्री पठाएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
- मन्त्रिपरिषदले पूर्णता पाउँछ : नारायणकाजी श्रेष्ठ
- कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
- गृहमन्त्रालयका २५ अधिकारीको सरुवा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया