Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआगामी एक वर्षमा अझै मूल्यवृद्धि बढ्ने

आगामी एक वर्षमा अझै मूल्यवृद्धि बढ्ने


काठमाडौं,आगामी एक वर्षमा अझै मूल्यवृद्धि हुने अपेक्षा गरिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेक्षणअनुसार आगामी एक वर्षमा मूल्यवृद्धि अझै बढ्ने अपेक्षा गरिएको हो ।राष्ट्र बैंकका अनुसार दुई हजार १० जना उत्तरदाताहरुसँग गरिएको सर्वेक्षणमा ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका हुन् ।

अबको तीन महिनामा र एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ८४ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् ।राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷०८० (२०२२÷२३) को दोस्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण सम्पन्न गरी नतिजा सार्वजनिक गरेको हो । राष्ट्र बैंकका अनुसार सर्वेक्षण २०७९ पुस २४ देखि ३० (जनवरी ०८ देखि १४ जनवरी, २०२३) सम्म ६० बजार क्षेत्रका व्यक्तिहरुसँग अन्तर्वार्तामार्फत सम्पन्न गरिएको हो । खाद्यका साथै खाद्य उपसमूहअन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा बढेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ । खाद्यका साथै खाद्य उपसमूहअन्तर्गतको माछा, मासु, दूध तथा घ्यू, पेय पदार्थ तथा सुर्ती र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूह, गैर–खाद्य तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको एक वर्षमा मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूका हिस्सा असोज, २०७९ को तुलनामा घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैकका अनुसार तीन महिनापछि र एक वर्षपछिका अपेक्षित मुद्रास्फीति २०७९ असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेक्षणमा उल्लेख छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीमा पठायो ३० अर्ब रुपैयाँ
नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा ३० अर्ब रुपैयाँ पठाएको छ । राष्ट्र बैंकका अनुसार बुधबार रिपो जारी गरी उक्त परिमाणमा रकम पठाइएको हो ।रिपो खरिदको लागि बैंक तथा फाइनान्स कम्पनीहरुले बुधबार अपराह्न ३ बजेसम्म बोलकबोल पेस गरेका थिए । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले खरिद गरेकोे उक्त रिपोको परिपक्व हुने अवधि भने १४ दिन अर्थात् यही फागुन १७ गते तोकिएको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलताको अभाव देखिएको त्यस्तो अभावलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले रिपो जारी गर्ने गर्दछ । यसलाई राष्ट्र बैंककै भाषामा भन्नुपर्दा बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण नै ‘रिपो’ हो ।

वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव अर्थात् तरलता अभावको समस्या भएको खण्डमा राष्ट्र बैंकले उक्त अभावलाई नियन्त्रणमा राख्नको लागि अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्छ । यसअन्तर्गत राष्ट्र बैंकले विभिन्न समयमा बैैंक तथा फाइनान्स कम्पनीहरुलाई आफैँले बिक्री गरेको टे«जरी बिलहरु बोलकबोलको माध्यमद्वारा आफैँले खरिद गरी बजारमा रकम पठाउने गर्छ । अर्को तर्फ बजारमा अधिक तरलताको समस्या भएमा त्यस्तो रकमको दुरुपयोग नहोस्, त्यस्तो रकम बैंकिङ च्यानलमा ल्याउनको लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्छ ।

रोकिएन सेयरबजारको ओरालो यात्रा

सेयरबजारको ओरालो यात्राले साताको चौथो कारोबार दिन बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन १६ दशमलव ४० अंकले ओरालो लागेको बजार परिसूचक यस दिन १३ दशमलव ९० अंकले ओरालो लागेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा झरेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५५ अंकले ओरालो लागेर चार सय दशमलव १४ विन्दुमा खुम्चिएको छ । यस दिन १३ वटा उपसमूहहरुअन्तर्गत दुई सय ५६ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३३ हजार आठ सय ४३ पटकको कारोबारमा ४८ लाख १५ हजार एक सय २० कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही खरिदबिक्रीका आधारमा यस दिन कुल कारोबार रकम एक अर्ब ७३ करोड २५ लाख ७५ हजार दुई सय रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस दिन कारोबार भएका कुल उपसमूहहरुमध्ये उत्पादनमूलक उपसमूहको सूचक ४६ दशमलव ८० अंकले उकालो लागेर पाँच हजार दुई सय ४१ दशमलव ९७ विन्दुमा चढेकोमा बाँकी उपसमूहहरुको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक उपसमूहको सूचक छ दशमलव ७९ अंकले ओरालो लागेर १३ सय ६० दशमलव ७२ विन्दुमा झरेकोमा विकास बैंक उपसमूहको सूचक पनि २० दशमलव २८ अंकले ओरालो लागेर तीन हजार छ सय ९४ दशमलव ३९ विन्दुमा झरेको छ । फाइनान्स उपसमूहको सूचक पनि १६ दशमलव ४७ अंकले ओरालो लागेर १७ सय ३३ दशमलव ७० विन्दुमा झरेकोमा जलविद्युत् उपसमूहको सूचक पनि २४ दशमलव ५० अंकले ओरालो लागेर २५ सय ७९ दशमलव २५ विन्दुमा झरेको छ ।

यसैगरी जीवन बीमा उपसमूहको सूचक पनि एक सय १६ दशमलव ३९ अंकले ओरालो लागेर १० हजार चार सय ५७ दशमलव ५३ विन्दुमा झरेकोमा निर्जीवन बीमा उपसमूहको सूचक पनि ७२ दशमलव ११ अंकले ओरालो लागेर नौ हजार ८३ दशमलव ६७ विन्दुमा झरेको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र टे«डिङ उपसमूहहरुको सूचक पनि क्रमशः ३९ दशमलव ७२, शून्य दशमलव ४९, २९ दशमलव ८४, शून्य दशमलव १०, १७ दशमलव १९ र नौ दशमलव ८३ विन्दुले ओरालो लागेका छन् ।

यस दिन कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य आठ दशमलव ५४ प्रतिशतले बढेर २२ हजार रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको वाराही हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सात दशमलव ५० प्रतिशतले बढेर छ सय ५४ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक, अरुणभ्याली हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि उकालो लागेका छन् ।

गुमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा परेको गरिमा डिबेञ्चर २०८५ को प्रतियुनिट सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले घटेर सात सय ८७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको विजय लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि चार दशमलव ७६ प्रतिशतले घटेर नौ सय २० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर किनबेच भएको छ । यीबाहेक महुली लघुवित्त वित्तीय संस्था, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि ओरालो लागेका छन् ।

यस दिन अपी पावर कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुई सय ८६ रुपैयाँ अन्तिम मूल्यमा छ करोड २० लाख नौ हजार तीन सय तीन रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर कम्पनीको पनि प्रतिकित्ता चार सय १३ रुपैयाँ अन्तिम मूल्यमा पाँच करोड ४८ लाख ५३ हजार पाँच सय ३६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनआईसी एसिया बैंक, हिमालयन डिष्टिलरी प्रालि आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया