Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाले ह्वात्तै घटे पर्यटक

कोरोनाले ह्वात्तै घटे पर्यटक


सुबास बस्नेत
दोलखा, चैत ३
साताको शुक्रबार र सनिबार भरिभराउ हुने चरीकोट अहिले विश्वमा फैलिएको कोरोना भाइरसको कारण सुनसान बनेको छ । कालिञ्चोक मन्दिर, भीमेश्वर मन्दिर, जिरीलगायतका पर्यटकीय स्थानमा घुम्न आउने पर्यटकको संख्या अहिले भने ठप्प प्राय छ । हिउँ पर्नेबित्तिकै हिउँ खेल्नको लागि दोलखा ओहिरिने पर्यटकहरू चैतको पहिलो शनिबार कालिञ्चोकमा भारी हिमपात हुँदासमेत कोरोना त्रासले घुम्न गएनन् । कालिञ्चोकमा मंसिर अन्तिम सातादेखि हिमपात सुरु भएको थियो । त्यसयता हरेक साताझैँ हिमपात भइरहँदा पर्यटकहरूको आगमन व्यापक भइरहेको थियो । कालिञ्चोक कुरीका होटल व्यवसायी चन्द्रकुमार लामाका अनुसार डेढ हप्तादेखि पर्यटकहरूको आगमन ह्वात्तै घटेको छ ।

शनिबार स्थानीयसहित कालिञ्चोकमा करिब दुई सय पर्यटक पुगेको होटल सुनपातीका विमल ओझाले बताए । कोरोना भाइरसको हल्लाले अपेक्षाकृत पर्यटक नआएको व्यवसायी ओझाको भनाइ छ । हिमपात र बिदाको मौसममा अरु बेला ५/७ हजार पर्यटक कालिञ्चोक पुग्ने गरेकोमा शनिबारबाट तीनदिन लगातार बिदा तथा हिमपात हुँदासमेत हजार पर्यटक पनि कालिञ्चोक नपुगेको कुरीका होटल व्यवसायीहरूको भनाइ छ ।

कालिञ्चोकमा हिमपात नभएको बेलामा समेत बिदाको दिन दुई/तीन हजार पर्यटक पुग्ने गरेका छन् भने हिमपातको बेला बिदा प-यो भने पाँच/सात हजार पर्यटक पुग्ने गरेका छन् । कालिञ्चोकको कुरीमा करिब ६० वटा सुविधासम्पन्न होटलहरू रहेका छन् । तीन हजारभन्दा बढी पर्यटक अट्ने क्षमता भएका होटलहरू कोरोना भाइरसको आतङ्कपछि अहिले सुनसानजस्तै भएको स्थानीय होटल व्यवसायीहरूको गुनासो छ । सदरमुकाम चरीकोटमा पनि पर्यटकहरू अत्यन्त न्यून मात्रामा आउने गरेको भीमेश्वर पर्यटन विकास परिषद् दोलखाका अध्यक्ष देवकृष्ण थापाले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया