महाशिवरात्रिका दिन किन लाखौँ मानिस पशुपतिनाथ पुग्छन्?
काठमाडौं,लाखौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको पूजा विशेष बनाउने कैयौँ पक्षहरू रहेको कोषका अधिकारी तथा संस्कृतिविद्हरूले बताएका छन्।
महाशिवरात्रिको पूजा नियमितजस्तै भए तापनि यस दिन हुने ‘चार प्रहर’ पूजा विशेष हुने बताइन्छ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले फागुन कृष्णपक्षको चतुर्दशी तिथिको दिनले यसलाई विशेष महत्त्वको बनाउने बताउँछन्।
“यो विशेष तिथि भएकाले त्यस दिन दर्शन गर्दा अमोघ पुण्य लाभ हुन्छ भन्ने शास्त्रीय मान्यताका कारण यस दिन विशेष भएको हो,” खतिवडा भन्छन्।
“नित्य पूजा नै हुन्छ। सङ्कल्प त्यही नै हो। पूजा गरिने पद्धति त्यही नै हो। सामग्री त्यही नै हो। तर दिनका हिसाबले यस दिन विशेष हो। शिवरात्रिका दिन हरेक ग्रह-गणित संयोग उच्चतम परेको हुन्छ।”
अन्य समयहरूमा दिउसो हुने पूजा महाशिवरात्रिमा रातमा हुने र औँसीको अघिल्लो दिन पर्दा त्यसलाई सकारात्मक ऊर्जा सञ्चयका लागि थप उल्लाससाथ मनाइने संस्कृतिविद्हरू बताउँछन्।
एकजना संस्कृतिविद् गोविन्द टण्डन भन्छन्, “भगवान् शिवको उपासना अन्धकार, अज्ञान र मोहबाट मुक्त हुनका लागि गरिन्छ। पशु भावबाट मुक्त भएर मनुष्य बन्ने चेतनाका लागि महाशिवरात्रिमा विशेष पूजा गर्नुपर्छ भन्ने विश्वास गरिन्छ।”
कस्तो पूजा?
संस्कृतिविद् डा. वीणा पौड्याल सधैँकै जस्तो पूजा भए तापनि त्यस दिन उच्चारण गरिने मन्त्र, त्यसदिन हरेक प्रहरमा चढाइने अर्घहरू, त्यसपछि चढाइने जल र त्यस दिनसँग जोडिएका महत्त्वले शिवरात्रिको महिमा विशेष रहेको बताउँछिन्।
“एकाग्र भएर कुण्डलिनीहरू जगाउने गरी रात्रिमा शिवरात्रिका पूजा हुन्छन्,” संस्कृतिविद् पौड्याल भन्छिन्।
ज्योतिषशास्त्रले हरेक महिना शिवरात्रि हुन्छ भन्ने माने पनि महाशिवरात्रिमा तान्त्रिक विधिसहित पूजा गरिने जानकारहरू बताउँछन्।
बेलुका पखको ‘चार प्रहर’ पूजा महाशिवरात्रिका दिन मात्र गरिने कोषका सदस्य सचिव रहिसकेका संस्कृतिविद् गोविन्द टण्डन बताउँछन्।
महाशिवरात्रिका दिन विभिन्न गुठीहरूका पूजा समेत गर्ने गरिने गरिएको छ।
शिव पञ्चमुखी हुन्। पूर्वदेखि सुरु गर्दा तत्पुरुष, सद्योजात, वामदेव, अघोर एवं माथिपट्टिको ईशान सधैको जसरीनै पूजा गर्ने गरिएको बताइन्छ।
“शिवरात्रिमा शिवजीलाई रुद्राक्ष चढाउने र पूजा गर्नेले समेत रुद्राक्ष पहिरिएर गर्ने विधि विशेष छ,” संस्कृतिविद् पौड्याल भन्छिन्।
कोषका कार्यकारी निर्देशक खतिवडाले महारात्रिहरूमध्ये समेत शिवरात्रीको विशिष्ठ पहिचान रहेको बताउँछन्।
“यो कल्याण प्रदायक हुन्छ,” उनी भन्छन्।
“कालरात्रि र मोहरात्रि देवी शक्तिसँग जोडिन्छन् भने पुरूषशक्ति र प्रकृति शक्तिसँग जोडिने रात्रि चाहिँ शिवरात्रि हो।”
‘अभिषेकप्रिय शिव’
महादेवलाई अभिषेकप्रिय भगवानका रूपमा लिइने संस्कृतिविद्हरू बताउँछन्।
संस्कृतिविद् टण्डनका अनुसार साँझपख सुरु हुने प्रथम प्रहरमा महादेवका पञ्च मुखमध्ये टाउकोपट्टिको ईशान मुहारको विशेष पूजा गरिन्छ। जसक्रमा त्यहाँ दुधले नुहाइन्छ।
द्वितीय प्रहरमा दक्षिणपट्टिको अघोर मुखको पूजा दहीले गरिन्छ। तृतीय प्रहरमा उत्तरपट्टिको मुहार वामदेवको पूजा घ्युको स्नानसाथ गरिन्छ।
अन्तिम प्रहरमा पश्चिमपट्टिको सद्योजातलाई महले अभिषेक गराइन्छ। पूर्वपट्टिको मुहार तत्पुरुषलाई चिनी/सख्खरले अभिषेक गराइन्छ।
“यस दिनमा विशेष प्रहरको पूजा हुने हो। जसमा पूरा जागराम बसेर गरिन्छ। रात्रिको पूजा अरू दिन हुँदैन,” टण्डन भन्छन्।
“हरेक महिनाको चतुर्दशीलाई शिवरात्रिको रूपमा मनाइन्छ। कहिलेकाहीँ बेलुकीपख पूजा गर्ने प्रदोष पर्छ,” उनी भन्छन्।
“महाशिवरात्रिमा भोलिपल्ट औँसी पर्छ। औँसी भनेको चन्द्रमाको कला घट्दै जाने र त्यसले नकारात्मक धारणा दिने भएकाले भगवानको पूजा गर्दा नकारात्मकताले नछुने तार्किक मत पाइन्छ।”(बीबीसी)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भगवती लेमिनेट्सको शंकास्पद आगलागी प्रकरणमा शिखर इन्स्योरेन्सको स्वीकृति
- बैंकिङ प्रणालीमा कसरी बढ्यो आठ खर्ब रुपैयाँ निक्षेप ?
- विदेशी लगानी ‘अटोमेसन प्रणाली’बाट ल्याइने
- तरलता व्यवस्थापन गर्न ३५ अर्ब तान्दै राष्ट्र बैंक
- नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्य हुने
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान
- बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य
- उपनिर्वाचनको मौन अवधि आज रातिदेखि
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया