Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारसेयर ब्रोकर कम्पनीहरूले प्रतिशाखा एक करोड ५० लाख चुक्ता पुँजी कायम गर्नुपर्ने

सेयर ब्रोकर कम्पनीहरूले प्रतिशाखा एक करोड ५० लाख चुक्ता पुँजी कायम गर्नुपर्ने


काठमाडौं,नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका, २०७९ लाई पूर्णरुपमा कार्यान्वयनमा ल्याएको छ । बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, धितोपत्र दलाल व्यवसायमा रहने वित्तीय जोखिमको न्यूनीकरण गरी सबल ढङ्गले शाखा कार्यालय सञ्चालन गर्नको लागि यो निर्देशिका कार्यान्वयनमा ल्याइएको हो ।

बोर्डको भनेको छ, धितोपत्रको प्राथमिक बजार देशका ७७ वटै जिल्लामा पुगिसकेको सन्दर्भमा सोहीअनुरुप दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक देखिएकोले नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धी निर्देशिका, २०७९ कार्यान्वयनमा ल्याइएको हो ।’ यो निर्देशनअनुसार धितोपत्र दलाल व्यवसायी अर्थात् ब्रोकर कम्पनीहरुले शाखा खोल्दा प्रतिशाखा एक करोड ५० लाख रुपैयाँको दरमा चुक्ता पुँजी कायम गर्नुपर्नेछ । मुख्य कार्यालय रहेको जिल्लाको हकमा भने कुनै पनि शाखा खोल्न अनुमति नदिने बोर्डको भनाइ छ ।

ब्रोकर कम्पनीहरुले काठमाडौं उपत्यकाबाहिर कम्तीमा तीनवटा शाखा खोले पनि मात्र काठमाडौं उपत्यकाभित्र शाखा खोल्न अनुमति पाउनेछन् तर नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा खोल्न भने बोर्डले स्वीकृति दिनसक्ने निर्देशिकामा उल्लेख छ ।यो निर्देशनअनुसार ब्रोकर कम्पनीहरुले एक पटकमा एउटा मात्र शाखा खोल्नको लागि अनुमति माग गर्न सक्नेछन् । अनुमति पाएको मितिले तीन महिनाभित्र शाखा खोलिसक्नुपर्नेछ भने खोलिएको शाखा जानकारी कम्तीमा पनि सात दिनभित्र बोर्डलाई दिनुपर्नेछ ।

बोर्डका अनुसार शाखा खोल्नको लागि चाहिने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्नेछ भने नेटवर्थसम्बन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यताप्राप्त चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित हुनुपर्नेछ । शाखा कार्यालयमा खटाइने कर्मचारीहरुलाई जिम्मेवारीमा पठाउनुअघि ग्राहक व्यवस्थापन, कारोबार, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्योट, जोखिम व्यवस्थापन, धितोपत्र बजारसम्बन्धी प्रचलित कानुन, स्थापित संस्था तथा तिनीहरुको काम कर्तव्य र अधिकारलगायतका विषयमा पर्याप्त जानकारी हुने गरी कार्यालयमा खटाउनुपर्नेछ ।

निर्देशिकाअनुसार धितोपत्र दलाल व्यवसायी वा उक्त व्यवसायीको सञ्चालक वा कार्यकारी प्रमुखले धितोपत्र दलालसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (१), (२), वा (३) वा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाएको भएमा सजाय पाएको मितिले एक वर्षसम्म सम्बन्धित धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न सक्नेछैन । शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरी कार्यालय खोल्न नसकी बोर्डबाट स्वीकृति रद्द भएको मितिले एक वर्षसम्म शाखा कार्यालय खोल्नका लागि निवेदन दिन नसक्ने निर्देशिकामा उल्लेख छ ।

सञ्चालनमा रहेको शाखा कार्यालय सञ्चालन गर्न नसक्ने व्यवस्था आई धितोपत्र दलाल व्यवसायीले त्यस्तो शाखा बन्द गर्न चाहेमा सञ्चालक समितिको निर्णयसहित सोको कारण खुलाई ढाँचाअनुसार निवेदन दिनुपर्नेछ । बोर्डका अनुसार शाखा कार्यालयबाट भएको कारोबार, कारोबार प्रणाली, कारोबारको राफसाफ तथा फछ्र्योट, कानुन परिपालनालगायतका कार्यहरुको जिम्मेवारी तथा जवाफदेहिता मुख्य कार्यालयमा रहनेछ ।

शाखा कार्यालयबाट सम्पन्न भएको कारोबारको विवरण सम्बन्धित मुख्य कार्यालय तथा शाखा कार्यालय समेतले राख्नुपर्नेछ । यो निर्देशिका प्रारम्भ हुँदाको बखत शाखा कार्यालय खोल्न निवेदन दिई पूर्वाधार तयार गर्न बोर्डबाट सूचना नगरिएका धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्न यो निर्देशनबमोजिम पुनः निवेदन दिनुपर्नेछ । यो निर्देशिका प्रारम्भ हुँदाको बखत शाखा कार्यालय खोल्न निवेदन दिई पूर्वाधार तयार गर्न बोर्डबाट सूचना गरिएका धितोपत्र दलाल व्यवसायीले पूर्वाधार तयार गरी बोर्डलाई जानकारी गराएको अवस्थामा बोर्डबाट स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछन् ।

निर्देशिकाअनुसार शाखा कार्यालय खोलेका धितोपत्र दलाल व्यवसायीको चुक्ता पुँजी यो निर्देशिकाको व्यवस्थाबमोजिम नपुगेको भएमा यो निर्देशिका प्रारम्भ भएको मितिले छ महिनाभित्र चुक्ता पुँजी पु¥याउनुपर्नेछ । यो निर्देशिका कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा बोर्डले त्यस्तो बाधा अड्काउ फुकाउन सक्ने व्यवस्था छ ।


क्याटेगोरी : शेयर बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया