Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआयात वृद्धिदर खुम्चियो

आयात वृद्धिदर खुम्चियो


सुरेश राउत
काठमाडौं, चैत ४
आयातको वृद्धिदर खुम्चिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वैदेशिक व्यापार प्रवृत्तिसम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा औसत १५ दशमलव दुुई प्रतिशत रहेको आयात वृद्धिदर आर्थिक वर्ष २०७६/०७७ को पहिलो छ महिनामा चार प्रतिशतले घटेर छ खर्ब ९४ अर्ब ६९ करोडमा सीमित हुनपुुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३० दशमलव पाँच प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा पछिल्लो पाँच वर्षमा भारतबाट हुने आयातको वृद्धिदर १४ दशमलव आठ प्रतिशत रहेकोमा चालू आवको छ महिनामा यस्तो वृद्धिदर नौ दशमलव एक प्रतिशतले ऋणात्मक भई चार खर्ब २३ अर्ब ८४ करोड कायम भएको छ । राष्ट्र बैंकका अनुुसार चीनबाट हुने आयातको वृद्धिदर १९ दशमलव नौ प्रतिशत र अन्य मुलुकबाट हुने आयातको वृद्धिदर १३ प्रतिशत रहेकोमा चालू आ.व.को पहिलो छ महिनामा चीनबाट हुने आयात १२ दशमलव एक प्रतिशतले बढेर एक खर्ब १८ अर्ब २५ करोड पुगेको छ भने अन्य मुलुकबाट हुने आयात शून्य दशमलव चार प्रतिशतले बढेर एक खर्ब ५२ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।

विगत पाँच वर्षको वस्तुगत आयातको प्रवृत्ति हेर्दा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा उपकरण, एम.एस. बिलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा, सिमेन्ट, औषधि, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सुनलगायतका वस्तुको आयात उल्लेख्य रहेकोमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ । यस अवधिमा एम.एस. बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टल लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जाएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवको छ महिनामा १७ अर्ब ४२ करोडको सुन आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा आठ अर्बको सुन आयात भएकोले कुल आयात घटेकोे हो । गत आवको पहिलो छ १८ अर्ब ४४ करोडको हवाइ जहाज तथा पार्टपुर्जा आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १४ अर्ब ८० करोड भएकोले कुल आयात कमी आएको हो । यसैगरी निर्माण सामग्रीको माग कम भएको र गत वर्ष आयात गरिएकै मौज्दात पर्याप्त रहेकोले एम.एस बिलेट लगायतका फलामजन्य औद्योगिक कच्चा पदार्थको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको पहिलो छ महिनामा ३८ अर्ब ६५ करोडको एम.एस. बिलेट आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात २२ अर्ब २६ करोड मात्र रहेको छ । यसैगरी गत आवको पछिलो छ महिनामा नौ अर्ब ५३ करोडको सिमेन्ट आयात भएकोमा आन्तरिक उत्पादन वृद्धि भएकोले चालू आर्थिक वर्षको सोही अवधिमा दुुई अर्ब २२ करोडको आयात भएकोले आयात व्यवस्थापनमा सहयोग पुगेको हो, राष्ट्र बैंकले भनेको छ । चालू आवको छ महिनामा निर्माणसम्बन्धी उपकरण तथा सवारीसाधनको आयात २१ अर्ब रहेको छ । निर्माणसम्बन्धी उपकरण तथा सवारीसाधनको आयात आर्थिक वर्ष २०७४/०७५ मा अधिकतम ६१ अर्ब ४४ करोड पुगेको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा २२ दशमलव छ प्रतिशतले घटेर ४७ अर्ब ५६ करोड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार नेपालको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा बढी रहेको छ । विगत पाँच वर्षको कुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा औसतमा ११ दशमलव चार प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा छ महिनाको औसत गिरावट आउनुका साथै देशमा विद्युत् आपूर्ति सहज हुँदै गएकोले पेट्रोलियम पदार्थको आयात कम हुँदै गएको राष्ट्र बैकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया