Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : मन्त्री राई


काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्नमा लाग्नुपर्ने बताएका छन् ।

आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान)ले आइतबार यहाँ आयोजना गरेको ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन् । तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ ।” मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा कुनै कमी नहुने विश्वास दिलाए । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो ।

राससका अनुसार मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै वचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक डा. चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीलगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्न सबैको सकारात्मक भूमिका भएमा सहकारीप्रतिको विश्वास पुनःजागृत हुने र सोका लागि सरकारले साथ दिनुपर्ने बताए । मन्त्रालयका पूर्वसचिव गोपीनाथ मैनालीले सङ्कटग्रस्त सहकारीबारे समयमै अध्ययन र छानविन नभएमा वचतकर्ता मर्कामा पर्ने बताए ।

इमानका अध्यक्ष रोयल आचार्यले अर्थतन्त्र सङ्कटमा पर्दा सञ्चार क्षेत्र पनि प्रभावित हुने भएकाले अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन हरेक क्षेत्रबाट सकारात्मक योगदान आवश्यक रहेको बताए । इमानका उपाध्यक्ष माधवप्रसाद तिवारीले मिडिया प्रतिपक्षी मात्रै होइन, उत्प्रेरक पनि हो भन्ने मान्यतालाई आत्मसात् गरेर आर्थिक समृद्धिका लागि बहस सञ्चालन गरिएको र आएका सुझाव सम्बन्धित निकायमा पेस गरिने बताए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया