Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषदेशभित्र र विदेशमा रहेका सबै नेपाली कामदार सामाजिक सुरक्षा योजनामा

देशभित्र र विदेशमा रहेका सबै नेपाली कामदार सामाजिक सुरक्षा योजनामा


काठमाडौं,सरकारले नेपालभित्र रहेका औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार तथा स्वरोजगारका लागि समेत सामाजिक सुरक्षा योजनामा जोडिन पाउने कानुनी व्यवस्थालाई चैतदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने निश्चित भएको छ ।

यसअघि सरकारले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई मात्र सामाजिक सुरक्षामा जोड्दै आएकामा त्यो दायरालाई फराकिलो बनाउँदै अनौपचारिक, वैदेशिक रोजगारी र स्वरोजगारमा रहेका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षामा जोड्न सहज बनाउने उद्देश्यले ल्याएका कार्यविधिहरु चैत र वैशाखदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने निश्चित भएको हो । योसँगै अब औपचारिक र अनौपचारिक स्वदेश र विदेशमा रहेका तथा स्वरोजगारमा रहेका समेत सामाजिक सुरक्षामा जोडिन कानुनी रुपमै सहज भएको छ ।

सरकारले ‘वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना कार्यविधि, २०७९’ आगामी चैत १ गतेदेखि र ‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ आगामी वैशाखदेखि कार्यान्वयनमा लैजाने निश्चित भएको छ । कार्यविधिमै जारी भएको ९० दिनको दिन कार्यविधि कार्यान्वयनमा जाने उल्लेख भएको कारण चैत १ गतेदेखि ‘वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना कार्यविधि, २०७९’ ले पूर्ण रुपमा काम गर्नेछ । त्यसपछि विदेशमा रहेका नेपाली श्रमिकले अनलाइनमार्फत फारम भरेर सामाजिक सुरक्षामा सहभागी हुन पाउनेछन् ।

कार्यविधिले नै कार्यान्वयनमा जाने मिति तोकेकाले सामाजिक सुरक्षामा जान सजिलो भएको सामाजिक सुरक्षा कोषले बताएको छ । ‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृत गरेको मितिले ९० दिनदेखि प्रारम्भ हुनेछ’ भनेर कार्यविधिको प्रारम्भमा भनेको कारण कार्यान्वयनमा जाने मितिबारे सरकारले थप निर्णय लिन नपरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंसिर २५ गते ‘वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना कार्यविधि, २०७९’ कार्यविधि स्वीकृत गरेको थियो । सोही कारण चैत १ गतेदेखि उक्त कार्यविधि लागू हुनलागेको हो । कार्यविधिहरुको कारण वैदेशिक रोजगारीमा रहेका श्रमिकको साथै स्वदेशभित्र र बाहिर स्वरोजगारमा रहेका नागरिकहरुलाई सामाजिक सुरक्षामा आबद्ध हुने बाटो सहज भएको कोषका अधिकारीहरु बताउँछन् । वैदेशिक रोजगारीमा रहेकाहरुलाई भने सामाजिक सुरक्षामा जोडिनको लागि श्रम स्वीकृति अनिवार्य हुनुपर्ने कोषका प्रवक्ता विवेक पन्थीले आर्थिक दैनिकलाई बताए ।

‘कार्यविधिमा गरिएको व्यवस्थाअनुरुप नै कोष अघि बढेको हो’, पन्थीले भने, ‘को कसरी जोडिन्छन् भन्नेबारे कार्यविधिमै उल्लेख छ । हामीले कार्यान्वयन मात्र गर्ने हो । यसले वैदेशिक रोजगारीमा गएका श्रमिक र स्वरोजगारमा रहेका सर्वसाधारणलाई राहत मिल्नेछ ।’

वैदेशिक रोजगारीमा रहेका श्रमिक र देशभित्र र बाहिर स्वरोजगारमा रहेका नागरिकहरु अनलाइन प्रविधिमार्फत कोषमा आबद्ध हुन सक्छन् । वैदेशिक रोजगारीमा गएका हकमा श्रम स्वीकृति अनिवार्य छ भने उनीहरुले विदेशबाट समेत कोषमा आबद्ध हुन सक्छन्’, उनले भने, ‘अनलाइन प्रविधि हुने हुँदा विदेशबाट समेत आफ्नो कागजपत्र कोषमा पठाउन सक्नेछन्, जसले गर्दा उनीहरु सहजै कोषमा सूचीकृत हुनसक्छन् ।’

वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिकले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार रुपैयाँ मासिक रुपमा र अधिकतम त्यसको तीन गुणासम्म रकम कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । त्यसरी सहभागी भएपछि उनीहरुले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनानमा सात दशमलव ४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३ दशमलव ८५ प्रतिशतले बाँडफाँट गरिने कार्यविधिमा उल्लेख छ ।

उक्त सुविधा प्राप्त गर्नको लागि वैदेशिक रोजगारमा रहेका वा स्वरोजगारमा रहेका योगदानकर्ताले घटना घटेको मितिभन्दा अघिको १२ महिनामा कम्तीमा नौ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ । साथै, निवृत्तभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई एक सय ६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर निवृत्तभरण लिनेमध्ये कुनै एउटा विकल्पको छनौट गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसैगरी स्वरोजगारमा रहेका व्यक्तिहरुले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत अर्थात् न्यूनतम दुई हजार नौ सय नौ रुपैयाँ ३५ पैसाका दरले अधिकतम यसको तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधिबमोजिमको सुविधा उपभोग गर्नसक्ने व्यवस्था छ ।

कार्यविधिले उनीहरुले नियमित रुपमा योगदान गरेको खण्डमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजनालगायतका सुविधाहरु पाउने छन् । जसले गर्दा हरेक प्रकारका श्रमिक तथा मुलुकभित्र र बाहिर रहेका स्वरोजगार व्यक्तिहरु आर्थिक अवस्था कमजोर भएको खण्डमा समेत ती सेवाबाट लाभान्वित हुन सहयोग पुग्नेछ ।

योगदानकर्ताले दुर्घटनमा परको उपचार खर्च, आश्रित परिवारअन्तर्गत पति वा पत्नीलाई निवृत्तिभरण, सन्तानलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च समेत प्राप्त गर्न सक्नेछन् । रकम कोषमा जम्मा गर्दा समेत १० प्रतिशत तथा २० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकले भने गन्तव्य मुलुक, रोजगारदाता कम्पनी र ठेगाना, श्रम स्वीकृति तथा परिवारको बारेमा कोषलाई जानकारी गराउनुपर्छ । विदेशमा स्वरोजगार रहेको हकमा भने गन्तव्य मुलुकका साथै आफनो पेश वा व्यवसायको जानकारी गराउनुपर्छ । साथै उनीहरुले कोषमा आबद्ध हुन अनलाइन प्रणालीमार्फत सूचीकरण भई कोषले प्रदान गर्ने सेवा लिन सक्नेछन् । कोषबाट सुविधा लिनको लागि उनीहरुले उक्त योजनाहरुमा सहभागी भएको प्रमाण पेश गर्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।


क्याटेगोरी : बिशेष, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया