Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचलचित्र उद्योगलाई राहत दिन चलचित्र संघको माग

चलचित्र उद्योगलाई राहत दिन चलचित्र संघको माग


काठमाडौं, चैत ५
नेपाल चलचित्र संघले चलचित्र उद्योगलाई राहत दिन माग गरेको छ । संघले विश्वव्यापीरूपमा देखिएको कोरोना भाइरसले चलचित्र उद्योगमा पारेको असरका बारेमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालाई जानकारी गराउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको हो । संघले नेपाल उद्योग वाणिज्य महासंघको पहलमा अर्थ सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई कोरोना भाइरसले पारेको प्रभावको बारेमा ज्ञापनपत्रसमेत बुझाएको छ ।

अर्थमन्त्री डा. खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्नसक्ने प्रभावको बारेमा अध्ययन भइरहेको जानकारी दिए । उनले नेपाली चलचित्र उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको भन्दै सबै क्षेत्रको जानकारीहरू एकत्रित गरिरहेको र प्रभावबारे छलफल गरिरहेको बताए । ‘पर्ख र हेरको अवस्थामा छौँ, कुन तहको क्षति हुन्छ त्यहीअनुसार योजना गर्ने हो, आगामी १ महिना कठिनाइ हुने देखिएको छ, केन्द्रीय बैंकसँग बसेर छलफल चलाइरहेका छौँ र त्यसलाई अगाडि लानेछौँ,’ खतिवडाले भने । उनले चलचित्र संघका पदाधिकारीहरूलाई ज्यादै आतङ्कित हुनुपर्ने अवस्था नभएको बताए ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोक्न नाकाहरूमा उच्च सतर्कता अपनाइएको भन्दै मनोरञ्जन क्षेत्रमा हाल लिनुपर्ने विभिन्न किसिमका अनुमतिहरूलाई एकद्वार प्रणालीमा लैजाने प्रयास गरिरहेको जानकारी दिए । संघका अध्यक्ष मधुसुधन प्रधानले कोरोना भाइरसको प्रभावले गर्दा हाल सिनेमा हलहरूमा दर्शकहरूको संख्या न्यून भए पनि दैनिकरूपमा विभिन्न किसिमका राजस्व तथा करहरू तिरिरहेको बताए । ‘हामीले दैनिक ब्याज, भ्याट, मनोरञ्जन कर, चलचित्र विकास करलगायत राजस्व तिरिरहेका छौँ, अहिले कोरोना भाइरले प्रभावित पारेको छ, अन्य उद्योगसरह राहत प्याकेज दिनुप-यो,’ अध्यक्ष प्रधानले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ को असर सबैभन्दा धेरै पर्यटन, होटल, रेष्टुरेन्ट क्षेत्रमा परेको भन्दै त्यसपछि प्रत्यक्षरूपमा सिनेमा हलहरू असर देखिएको बताए । ‘प्रत्यक्षरूपमा फिल्म हलहरूमा पनि असर परेको छ भने अनिश्चित कालसम्म असर पर्ने देखिएको छ, त्यसैले चलचित्र क्षेत्रलाई पनि रिफाइनान्सिङको व्यवस्था गर्नुप-यो,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने ।

महासंघका कार्यसमिति सदस्य अञ्जन श्रेष्ठले कोरोना भाइरसले हुने मृत्युभन्दा त्यसको आर्थिक र मानसिकरूपमा पर्ने असरले मानिसहरूको मृत्यु हुने संख्या बढ्नसक्ने बताए । चलचित्र संघका महासचिव अशोक शर्माले नेपाली चलचित्र क्षेत्रमा ठूलो लगानी रहेको भन्दै देशभरिका दुई सयभन्दा बढी हलहरूमा हाल असर परेको बताए । अर्बौंको लगानी जोखिममा परेको भन्दै यसलाई संवेदनशील भएर हेर्न उनले सरकारसँग आग्रह गरे । संघका कार्यसमिति सदस्य भाष्कर ढुङ्गानाले सिनेमा हल निर्माण र यो उद्योगमा प्रत्यक्ष नेपालीहरूको लगानी र रोजगारी सिर्जना भएको भन्दै चलचित्र हलहरूले भने कर तिर्नुपर्ने तर अनलाइन स्ट्रिमिङ सेवामार्फत सिनेमा देखाउँदा भने नेपालमा कर नतिर्ने हुने अवस्था अन्त्य गरिनुपर्ने बताए ।

नेपाल चलचित्र संघका अध्यक्ष प्रधानको नेतृत्वमा गएको टोलीमा संघका महासचिव अशोक शर्मा, उप महासचिव गोपालकाजी कायस्थ, सदस्यहरू भाष्कर ढुङ्गाना, कलाकार दिपकराज गिरी तथा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा तथा कार्यसमिति सदस्य अञ्जन श्रेष्ठ सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया