Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारनदि तर्दा शुल्क तिर्नुपर्ने बाध्यता

नदि तर्दा शुल्क तिर्नुपर्ने बाध्यता


भजनी । कैलालीको भजनी नगरपालिकाका स्थानीयले १२ वर्षदेखि पक्की पुलको सपना देख्दै आएका छन् । पक्की पुल निर्माण भएपछि नदी तर्दा तिर्नुपर्ने पैसाबाट छुटकारा पाइएला भन्ने स्थानीयको सपना छ ।

स्थानीयवासीले कान्द्रालगायतका नदी तर्दा पैसा तिर्नुपर्छ । “दैनिक कामका लागि नगरपालिका आउँदा रू. ३० तिरेर नदी तर्नुपर्छ । महिनामा रू. नौ सय नदी तरेको मात्रै तिर्नुपरेको छ”, स्थानीय रुपक साउदले भने । उहाँले पक्की पुल प्रयोगमा नआउँदासम्म नागरिकलाई आवतजावतमा समस्या हुने बताउदै नगरपालिकाले पैसा उठाएर झन सास्ती दिने गरेको बताए । पालिकालाई भन्दा पुल निर्माणको ठेक्का लिने कम्पनीलाई बढी फाइदा भएको साउदको भनाइ छ ।

ठूला सवारीसाधन पुलबाट नभई नदीबाट वारपार गराउनुपर्छ । यसरी नदीबाट सवार गर्दा सवारीसाधनबाट पैसा सङ्कलन गर्ने गरेको भोजराज काफ्ले बताउँछन् । “कान्द्रामा पुल बन्न लागेको एक दशकभन्दा बढी भयो । समयमै पुल निर्माण नहुनुको कारण बिचौलिया हुन् । जसले नदी ठेक्काका नाममा वार्षिक लाखौँ उठाउँछन्”, उनी भन्छन् , “नभए पुल निर्माणका लागि स्थानीय सरोकारवालाले चासो नदिनुको कारण के हो ?”

टीकापुरबाट हुलाकी राजमार्ग हुँदै धनगढी पुग्न करिब ७५ किलोमिटर छ । महेन्द्र राजमार्गबाट जाँदा अलि लामो पर्छ । कान्द्राको पुल नभएकै कारण हुलाकी राजमार्ग प्रयोग गर्न नसकिएको टीकापुरका बिन्तीराम चौधरी बताउँछन् । उनले जागिरको सिलसिलामा कैलारी गाउँपालिका बस्नुपरेको बताउँदै हप्तामा एक दिन घर फर्किँदा नदी तरेको पैसा तिर्नुपर्ने बाध्यता भएको बताए । “नगरपालिकालाई पैसा दिएर नदी ठेक्कामा लिएका हौँ भनेर ठेकेदारको प्रतिक्रिया आउँछ । त्यति भएपछि पैसा त दिनैप-यो”, उनले रासससँग भने । कान्द्राको पुल बने आवतजावतमा सहज हुने उनको भनाइ थियो ।

भजनी नगरपालिकाले कान्द्रा नदीलगायत मातहतका नदीलाई ठेक्का दिएको छ । ठेक्का दिएका नदीमा माछा मार्नेदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । एक आर्थिक वर्षका लागि हुने ठेक्काले आन्तरिक आयस्रोतको काम गर्दै आएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख केवल चौधरीले कान्द्रामा नागरिक वारपार गरेको रकम तिर्नुपर्ने स्थिति यसै वर्षबाट अन्त्य हुने बताए । उनले हुलाकी राजमार्गअन्तर्गत निर्माण भएको कान्द्रा पक्की पुलको काम अन्तिम चरणमा रहेको बताउँदै केही महिनामै पुलबाट आवतजावत सुरु हुने बताए ।


क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, समाचार

तपाईको प्रतिक्रिया