Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको अन्तर्राष्ट्रिय त्रासको नेपालमा पनि प्रभाव

कोरोनाको अन्तर्राष्ट्रिय त्रासको नेपालमा पनि प्रभाव


काठमाडौं, चैत ६
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९)को त्रासको नेपालमा पनि प्रभाव परेको छ । यद्यपि नेपालमा कोरोनाको बिरामी फेला परेका छैनन् । बिरामी फेला नपरे पनि कोरोना देखा पर्नासाथ महामारीको रुप लिने आशंकामा सरकारले विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ भने होटल, पार्टी प्यालेसलगायतका स्थानमा तथा सार्वजनिक ठाउँमा हुने सबै किसिमका भेला स्थगित गरेको छ । कुनै पनि नागरिकलाई अत्यावश्यक कामबाहेक अरु कामका लागि घरबाट बाहिर ननिस्किन आह्वान गरेको छ । सरकारको उक्त आह्वानको कारण धेरै उद्योग/व्यवसाय बन्द हुने भएका छन् ।

आम नागरिकलाई घरबाटै बाहिर ननिस्किन भनेपछि व्यवसाय स्वतः प्रभावित हुनेछ । कोरोनाको कारण काठमाडौंका व्यावसायिक स्थानहरु सामानको अभावमा सुनसान भएको छ । अर्बौँ लगानी भएको होटल व्यवसाय ठप्पजस्तै छ । पूरै युरोप तथा चीन र खाडी देशहरुसहित ५५ देशका नागरिकलाई नेपाल आउन तत्कालका लागि प्रतिबन्ध लगाइएको छ । पर्यटक नेपाल आउन नपाएपछि एयरलाइन्स र होटल तथा ट्राभल्स व्यवसाय प्रभावित भएका छन् । नागरिकहरुलाई घरबाटै बाहिर ननिस्किन भनेपछि अन्य उद्योग र कलकारखाना पनि बन्द हुने भएको छ । केही उद्योग कच्चा पदार्थको अभावमा बन्द भइसकेको छ ।

नेपालमा चीनबाटै आएका एक विद्यार्थीलाई कोरोना पोजेटिभ देखिए पनि उपचारको क्रममा निको भएपछि उनी घर फर्किएका छन् । यद्यपि ती विद्यार्थीको परिचय भने दिइएको छैन । नेपालमा परीक्षण गर्ने ल्याबकै अभावको कारण रोग देखा नपरेको दाबी गरिए पनि सरकारले भने त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै अहिलेसम्म कोरोना देखा नपरेको बताएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस (कोभिड १९) जोखिम एसियाली मुलुकमा उच्च रहेको बताएको समयमा नेपाल सरकारले नेपाल आउने चाहने यात्रुलाई प्रतिबन्ध लगाएको हो । डब्लुएचओले एसियाली मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएमा रोक्न कठिन हुने चेतावनी समेत दिएको छ ।

सरकारले बुधबार नेपाल आउन प्रतिबन्ध, विद्यालय कलेज बन्द गर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन लगायतका विभिन्न १८ वटा निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठिन कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आठौं बैठकले सो निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण नभएका वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु भने नेपाल फर्किनसक्ने सरकारले जनाएको छ । श्रम मन्त्रालयका अधिकारीका अनुसार विशेष उडानहरु भइरहेको हुँदा कोरोना भाइरस नेगेटिभ भएका युवाहरु भने नेपाल फर्किन सक्नेछन् । यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले नेपाल फर्किन चाहने नेपालीहरुको हकमा भने हालसम्म कुनै औपचारिक निर्णय नभएको बताउँदै स्वस्थ नेपाली भने स्वदेश फर्किन सक्ने बताए ।

सरकारले गरेको निर्णयमा युरोपका सबै मुलुकहरु, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई नेपाल आउने प्रतिबन्ध लगाएको छ । निर्णयमा भनिएको छ, ‘युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्यरातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने । यससम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमा सम्प्रेषण गर्ने ।

यस्तै सरकारले आवगमनमा लगाएको प्रतिबन्धको कारणले आफ्नो मुलुक फिर्ता जान नसकेको विदेशी नागरिकहरुको भिसा अवधि नियमित गर्न निर्धारित भिसा अवधिभित्र आवेदन गरे प्रचलित कानुनबमोजिम भिसा नियमित गरिदिने भएको छ । यस कार्यका लागि सरकारले गृह मन्त्रालय एवं परराष्ट्र मन्त्रालयले समन्वय गर्ने समेत आग्रह गरेको छ ।

सरकारले सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी मानिसहरु भेला हुन बन्द गरेकाले धेरै क्षेत्र प्रभावित हुनेछ । सार्वजनिक यातायातका साधनमा भीड नगर्न पनि सरकारले आह्वान गरेको छ । सार्वजनिक सवारी सञ्चालक र यात्रु दुवै पक्षले उक्त निर्णय मान्नुपर्नेछ । त्यसको अनुगमन नेपाल प्रहरीले गर्नेछ ।

एसईई स्थगित : सरकारले आज बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । जानकारी दिए । एसईईको सम्पूर्ण तयारी सकेर परीक्षा हुनु अघिल्लो दिन स्थगित गरेपछि सरकारको निर्णयको विरोध र समर्थनमा बराबरजस्तै प्रतिक्रिया आएका छन् ।

शान्ति सैनिकलाई उच्च सतर्कता अपनाउन निर्देशन : संयुक्त राष्ट्रसङ्घले कोभिड– १९ सम्भावित सङ्क्रमणबाट जोगिन शान्ति सैनिकलाई नियन्त्रणात्मक र निषेधात्मक उपाय अवलम्बन गरी उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । संयुक्त राष्ट्रसङ्घ न्युयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भएको र सैनिक मुख्यालय जङ्गीअड्डाबाट समेत शान्ति मिसनमा तैनाथ नेपाली शान्ति सैनिकलाई निरन्तर आवश्यक निर्देशन भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । हाल विश्वका ११ वटा मुलुकमा पाँच हजार १०१ जना नेपाली शान्ति सैनिक कन्टिन्जेन्ट र सैनिक पर्यर्वेक्षण कार्यमा संलग्न रहेको सेनाले जानकारी दिएको छ ।

नाकामा निगरानी कक्ष स्थापना : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप भारतसँग सीमा जोडिएको कैलालीको त्रिनगर भन्सार नाकामा निगरानी कक्ष स्थापना गरिएको छ । उक्त नाकाको कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिका कार्यालयको पहलमा स्वास्थ्यकर्मी र औषधिसहितको व्यवस्था गरी निगरानी कक्ष स्थापना गरिएको हो ।

‘कोभिड–१९’ रोकथामका लागि आग्रह : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबारको सचिवालय बैठकले ‘कोभिड–१९’ को सङ्क्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमणलाई ध्यान दिएर माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गर्नेलगायत उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको ‘कोभिड– १९’ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका निर्णयप्रति प्रशंसा गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया