Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसात महिनामा मुलुकको अर्थतन्त्र, निर्यात बढ्दा आयात सङ्कुुचन

सात महिनामा मुलुकको अर्थतन्त्र, निर्यात बढ्दा आयात सङ्कुुचन


सुरेश राउत
काठमाडौं, चैत ६
पछिल्लो समय निर्यात सामान्यरुपमा बढेसँगै आयात घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्र्थिक तथा वित्तीय स्थितिसम्बन्धी सात महिनाको प्रतिवेदनअनुुसार कुल वस्तु निर्यात २२ दशमलव चार प्रतिशतले बढेर ६४ अर्ब ९७ करोड रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा कुल वस्तु आयात तीन दशमलव छ प्रतिशतले घटेर आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । सोही आधारमा मुुलुकको कुुल वस्तुु व्यापारघाटा पाँच दशमलव तीन प्रतिशतले संकुुचन आई सात खर्ब ३८ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा कुुल वस्तुु निर्यात १२ दशमलव पाँच प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८ प्रतिशतले बढे पनि चीनतर्फ १२ दशमलव सात प्रतिशत र अन्य मुलुकतर्फ दुुई दशमलव चार प्रतिशतले निर्यात घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो लगायतका वस्तुको निर्यात बढ्दा जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।  ।

राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने कुुल बस्तुु आयात आयात २६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात आठ प्रतिशतले घट्दा चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः नौ दशमलव आठ प्रतिशत र शून्य दशमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायतका वस्तुको आयात बढ्दा एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्टलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

निर्याततर्फ वीरगञ्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा कमी आएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा कुल वस्तुु व्यापारघाटा २७ दशमलव एक प्रतिशतले बढेको थियो । चालू आवको सात महिनामा निर्यात–आयात अनुपात आठ दशमलव एक प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात छ दसमलव चार प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

खुुद सेवा आय चार अर्ब ११ करोडको घाटामा : खुद सेवा आय भने घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा खुुद सेवा आय चार खर्ब ११ करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय नौ अर्ब ४९ करोडले घाटामा रहेको थियो । राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय भने समीक्षा अवधिमा १५ प्रतिशतले बढेर ४९ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४२ अर्ब ६० करोड रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय २१ दशमलव एक प्रतिशतले घटेर ४३ अर्ब ६० करोड कायम भएको छ । सोमध्ये शिक्षातर्फको व्यय २१ अर्ब तीन करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब २८ करोड रहेकोमा शिक्षातर्फको व्यय २८ अर्ब ६६ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

चालू खाता एक खर्ब १२ अर्ब १५ करोड रुपैयाँले घाटामा : चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा चालू खाता घाटा एक खर्ब १२ अर्ब १५ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा एक खर्ब ६६ अर्ब ६७ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सात महिनामा एक अर्ब ४६ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा ९८ करोड ४८ लाख रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर आठ अर्ब ३१ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर सात अर्ब ४३ करोड र प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब १५ करोड रहेको थियो । यसैगरी शोधनान्तर स्थिति भने चालू आवको सात महिनामा २१ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले घाटामा रहेको थियो ।

रेमिट्यान्स घट्यो : रेमिट्यान्स अर्थात् विप्रेषण आप्रवाह घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले घटेर पाँच खर्ब १३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २८ दशमलव दुुई प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाहमा शून्य दशमलव दुुई प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ प्रतिशतले बढेको थियो । चालू आवको सात महिनामा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१ दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव पाँच प्रतिशतले घटेको थियो ।

पुुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा शून्य दशमलव छ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार दशमलव नौ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय एक दशमलव एक प्रतिशतले घटेर भई पाँच खर्ब ७९ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ दशमलव तीन प्रतिशतले बढेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया