Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगहरुको विद्युत् आपूर्ति कटौतीप्रति मोरङ व्यापार संघको आपत्ति

उद्योगहरुको विद्युत् आपूर्ति कटौतीप्रति मोरङ व्यापार संघको आपत्ति


काठमाडौं, चैत ६
मोरङ व्यापार संघले उद्योगहरुको विद्युत् आपूर्ति कटौतीप्रति आपत्ति जनाएको छ । संघले बुधबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसँग भेट गरी वर्तमान परिवेशमा निजी क्षेत्रका औद्योगिक–व्यावसायिक क्षेत्रले भोगिरहेका समस्याहरुबारे अवगत गराउँदै ज्ञापनपत्र समेत बुझाएको छ ।

संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा गएको उद्योगी–व्यवसायीहरुको टोलीले बुधबार मुख्यमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको हो । संघका अध्यक्ष मुन्दडाले विश्व व्यापी महामारीका कारण मोरङ–सुनसरी कोरिडोका औद्योगिक–व्यावसायिक क्षेत्रमा परिरहेको नकारात्मक प्रभाव बारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै यस प्रकारको त्रासपूर्ण वातावरणमा समेत रघुपति जुट मिल र रिलायन्स स्पिनिङ मिल जस्तो हजारौँ जनतालाई रोजगारी प्रदान गर्ने उद्योगमा विद्युत् आपूर्ति कटौती गरी उद्योग धराशायी बनाइएकोमा त्यसप्रति समस्त उद्योगी–व्यवसायीहरु लगायत कामदारहरुको घोर आपत्ति रहेको बताए ।

साथै, अत्यधिक परनिर्भरता रहेको नेपालमा महामारीका कारण स्वास्थ्य लगायत मुलुकको अर्थतन्त्रमा समेत प्रतिकूल असर पर्ने प्रवल सम्भावनाबारे अवगत गराउँदै उनले करिब ६ सय उद्योग सञ्चालनमा रहेकोमा महामारीको प्रभावका कारण आगामी दिनमा कच्चा पदार्थको अभाव हुनसक्ने बताए । कच्चा पदार्थ अभाव हुँदा सम्पूर्ण उद्योग व्यवसायहरु बन्द हुन सक्ने भएकोले आर्थिक संकटको सामाना गर्न सरकारले समयमै तत्परता देखाउनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।

प्रदेश नम्बर १ मा मुलुकका दुई ठूला खुल्ला नाकाहरु (विराटनगर र काँकडभिट्टा) रहेका कारण हजारौँ मानिसहरुको आवत–जावत हुने हुँदा संक्रमणको जोखिम उच्च हुन सक्ने भएको र यसको रोकथाम एवं नियन्त्रणका लागि प्रत्येक नाकामा स्वास्थ्य परीक्षण कार्यलाई अझ व्यवस्थित, मर्यादित र कडाईका साथ गराउन र पर्याप्त मात्रामा प्रदेशस्तरीय आइसोलेसन वार्डहरुको व्यवस्था गराउन समेत उनले आग्रह गरे । बजारमा हाल अत्यावश्यक वस्तु बाहेक अन्य औद्योगिक वस्तुहरु बिक्रीवितरणमा कमी आएकोले त्यसले उद्योग व्यवसायमा दीर्घकालीन असर पार्ने हुँदा उद्योगी व्यवसायीलाई हतोत्साहित नहुन सरकारबाट विभिन्न प्रकारका राहत उपलब्ध गराउन समेत उनले आग्रह गरे ।

हाल देखा परेका कच्चा पदार्थको पैठारीमा असहजता, निर्यातमा देखिएको कमी, व्यासायमा देखिएको मन्दी आदिका कारण उद्योगहरुको उत्पादन क्षमतामा ह्रास आई औद्योगिक वातावरण खलबलिएको र उद्योगी–व्यवसायीहरु सशंकित भएको अवस्थामा उद्योग–व्यवसाय संचालनका निमित्त लिईएका ऋणको बैंक ब्याजदर सामान्य स्थिति झैँ ज्यूँकात्यूँ रहेको तथा विद्यूत महशुल वृद्धि गर्ने प्रस्ताव अन्यायिक रहेको उनको भनाई थियो । बैंक ब्याजदर, आयकरलगायतमा उचित सहुलियत दिई सो बुझाउने म्याद समेत अवस्था सामान्य नभएसम्मका लागि थप्न, विद्युत् महशुल वृद्धिको प्रस्ताव स्थगन गरी उद्योगहरुलाई न्यूनतम महशुलमा एवं महशुल मिनाहा गरिदिन सम्बन्धित निकायमा पहल गरिदिन समेत उनले आग्रह गरे ।

साथै, विद्युत् निर्यात गर्दा उठ्ने महशुल अत्यन्त न्यून रहेको जानकारी गराउँँदै उनले सो मूल्यमा केही रकम थप गरी स्वदेशी उद्योगहरुलाई नै विद्युत् उपलब्ध गराउन अग्रह गरे । भेटको क्रममा अध्यक्ष मुन्दडाले विराटनगरको विमानस्थल स्तारोन्नतिका लागि आगामी बजेटमा बजेट विनियोजन गरी दिन, स्थानीय सरकारले असुल्ने कवाडी कर, औद्योगिक कर, सम्पत्ति कर आदि विभिन्न करहरुलाई क्षेत्रगत वर्गीकरण गरी उद्योग क्षेत्रका लागि खारेज गराई दिन, नेपाल सरकारबाट घोषित भ्रमण वर्ष २०२०का निमित्त लगानी गरिसकेका निजी क्षेत्रका उद्योगी–व्यवसायीहरुको ब्याज मिन्हा गराई दिन माग गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया