Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षादुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

दुई करोड नाघ्यो मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या

पछिल्लो एक वर्षभित्र मात्र ३८ लाख ४० हजार प्रयोगकर्ता बढे


काठमाडौं,नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढेको देखिएको छ । सरकारकै आग्रहमा नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दा डिजिटल भुक्तानी गर्ने माध्यमहरु फोन पे, इसेवा, प्रभु पे, ग्लोबल आईएमई पेलगागतका कम्पनीहरुले डिजिटल भुक्तानीसम्बन्धी सेवा उपलब्ध गराउँदै आएका छन् । यसले गर्दा पनि पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका ६१ वटा संस्थाहरुमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको कुल संख्या एक करोड ६२ लाख १२ हजार चार सय ६८ रहेको थियो ।

तर चालू आवको पुस मसान्तसम्ममा भने सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीहरुमा रहेको कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या बढेर दुई करोड ५३ हजार चार सय २० पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ३८ लाख ४० हजार नौ सय ४२ ले बढी हो । गत आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुमा मात्र एक करोड ४३ लाख ६३ हजार एक सय ६५ जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका थिए । तर अहिले यो संख्या ३१ लाख आठ हजार छ सय ३३ ले बढेर कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या एक करोड ७४ लाख ७१ हजार सात सय ९८ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार विकास बैंकहरुमा भने चालू आवको पछिल्लो अवधिमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकको संख्या २४ लाख ५२ हजार २८ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा छ लाख ७४ हजार तीन सय ३२ ले बढी हो । गत आवको सोही अवधिमा भने विकास बैंकहरुमा १७ लाख ७७ हजार छ सय ९६ जना मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका थिए । फाइनान्स कम्पनीहरुमा भने चालू आवको पछिल्लो अवधिमा कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या एक लाख २९ हजार पाँच सय ९४ पुगेको छ । यो संख्या गत आवको सोही अवधिको तुलनामा ५७ हजार नौ सय ८७ ले बढी हो । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुको कुल मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ७१ हजार छ सय सात मात्र रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा डेबिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने एक करोड २२ लाख २२ हजार तीन सय ८७ पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरुमा एक करोड १४ लाख ९४ हजार सात सय ९०, विकास बैंकहरुमा छ लाख ७६ हजार पाँच सय ५९ र फाइनान्स कम्पनीहरुमा ५१ हजार ३८ रहेको छ । गत आवको सोही अवधिमा भने डेबिट कार्ड प्रयोगकर्ताहरुको कुल संख्या ९८ लाख ५५ हजार दुई सय २१ रहेको थियो । जसमध्ये वाणिज्य बैंकमा ९३ लाख ९९ हजार पाँच सय २५, विकास बैंकहरुमा चार लाख १७ हजार आठ सय ४६ र फाइनान्स कम्पनीहरुमा ३७ हजार आठ सय ५० रहेको थियो ।

बैंकिङ प्रणालीमा क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या भने चालू आवको पछिल्लो अवधिमा दुई लाख ७६ हजार ८९ पुगेको छ । जसमध्ये वाणिज्य बैंकमा दुई लाख ७५ हजार नौ सय ४२ र विकास बैंकहरुमा एक सय ४७ रहेको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुमा मात्र दुई लाख १५ हजार एक सय ९९ वटा क्रेडिट कार्ड प्रयोगकर्ताहरु रहेका थिए ।


क्याटेगोरी : प्रविधि / शिक्षा, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया