नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताएका छन् ।
राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उनले उल्लेख गरे । राससका अनुसार एक सय १३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मुख्यमन्त्री गिरीले बुधबार जारी गरेको शुभकामना सन्देशमा विगतमा भएका सबै प्रकारका आन्दोलन र सङ्घर्षबाट नै संविधानमा महिला अधिकारका विषयलाई समेट्न सम्भव भएको उल्लेख गरेका छन् ।
सन्देशमा उनले भनेका छन्, “विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामुलक र समावेशी नेपाली समाज निर्माणको अभियानमा हामी अघि बढिरहेका छौँ ।”
नेपालमा आजको दिनलाई राजनीतिक चेतना र जागरण विस्तारको महाभियानका रुपमा पनि मनाईँदै आइएको उल्लेख गर्दै मुख्यमन्त्री गिरीले जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती शासन व्यवस्था र शाही शासनको कठिन अवस्थामा प्रजातान्त्रिक अधिकार प्राप्तिका लागि नेपाली महिलाले गरेको सङ्घर्ष अविस्मरणीय रहेको बताएका छन् ।
“नेपाली महिला कथित बोक्सी, छाउपडी र दाइजो जस्ता कुप्रथाका नाममा अझै पनि पीडित भएको अवस्था छ । यसको अन्त्य गर्नुपर्नेछ”, शुभकामना सन्देशमा उल्लेख छ, “कानुनको कार्यान्वयन गर्न राज्यलाई सघाउ पु¥याउँदै अघि बढे यी सबै समस्याको समाधान सम्भव छ ।”
संविधानको सफल कार्यान्वयनबाट महिलाको सुरक्षा, सम्मान र रोजगारीको आधार खडा गर्दै समृद्ध नेपाल निर्माणको महाभियानमा सबै एकताबद्ध भई अघि बढ्न उनले सबैमा अपिल गरेका छन् ।
यस्तै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले पनि बुधबार जारी गरेको शुभकामना सन्देशमा विभिन्न चरणका परिवर्तनका आन्दोलन र सङ्घर्षमा नेपाली महिलाले अग्रमोर्चामा रहेर गरेको नेतृत्व अनुकरणीय रहेको बताएका छन् ।
उनले नेपालको संविधानमा महिला मुक्तिको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको भए पनि जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता अझै वृद्धि हुन नसकेको उल्लेख गरेका छन् । उनले महिलामैत्री नीति र व्यवहार अङ्गीकार गर्दै लैङ्गिक समानताको बलियो आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : प्रदेश समाचार, लुम्न्बिनी प्रदेश, समाचार
ताजा अपडेट
- महालेखाको प्राविधिक परीक्षण स्वागतयोग्य
- इको प्यानलद्वारा मजदुरको स्वास्थ्य परीक्षण
- ‘समिट वुमन अफ द इयर’ सम्पन्न
- फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
- पर्यटन प्रवर्द्धनको लागि हनुमन्ते डाँडामा मेला
- जनसचेतन साकोसको आयोजनामा रक्तदान
- स्वावलम्बनको वित्तीय साक्षरता
- अर्थतन्त्र सुधार्ने जिम्मा डा. महतलाई
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया