Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल–भारत सीमा सर्वेक्षण टोलीले गरेको सीमाङ्कन विवादमा

नेपाल–भारत सीमा सर्वेक्षण टोलीले गरेको सीमाङ्कन विवादमा


धनगढी, चैत ७
नेपाल–भारत सीमा सर्वेक्षण टोलीले हालै गरेको सीमाङ्कनबाट डोकेबजार–बेल्डाँडी हुलाकी मार्ग, नहर र स्थानीयको जमिन भारततर्फ गाभिने देखिएपछि कञ्चनपुरको दक्षिणी क्षेत्रमा सीमाको विवाद चर्किएको छ । सीमा सर्भे टोलीले सीमाङ्कन गर्दै फागुन महिनामा बेलौरीको भुडादेखि बेल्डाँडीको बैबाहासम्म नेपालीका नाममा दर्ता जग्गामा पिलर गाडेपछि सो क्षेत्रका ४० परिवारको ५० बिघा जग्गा भारततर्फ गाभिने स्थिति देखिएको हो ।

बेलौरी नगरपालिकाको टेडिया पचुइस्थित हुलाकी राजमार्गभन्दा १ किमि दक्षिणतर्फ खोलापारि ३९ नम्बरको सीमा स्तम्भ भए पनि भारतले सो स्तम्भलाई सहायक पिलर भन्दै हुलाकी सडक दशगजामा पर्ने दाबी गरेपछि स्थानीय आक्रोशित बनेका छन् । सोही सिमाङ्कनका क्रममा बेलौरी नगरपालिका १० भुडादेखि बेल्डाँडी ३ बैबाहासम्मको नहरको डिलमै सीमा स्तम्भ गाड्न खाडल खनिएपछि नहर र स्थानीयको जग्गा भारततर्फ जाने अवस्था सृजना भएको छ । नेपाल भारत सीमा सर्भे टोलिले हालै गरेको सर्वेक्षणबाट सो स्थानमा वर्षौंदेखि नेपालीहरूले भोगचलन गर्दै आएको जग्गा भारततर्फ गाभिने अवस्था देखिएपछि स्थानीय बासिन्दा आक्रोशित बन्न पुगेका हुन् ।

पुराना सीमा स्तम्भहरूको खोजी नगरी एकतर्फीरूपमा नेपाली भूमि मात्रै अतिक्रमण हुनेगरी सीमा सर्वेक्षण भएको देखिएपछि विरोध गर्न बाध्य भएको सो क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन् । सीमा सर्भे टोलीले गरेको सिमाङ्कनबाट २०५२ सालमा निर्माण सम्पन्न गरिएको महाकाली सिञ्चाइ परियोजना दोस्रो चरणको नहर समेतमा भारतले दाबी गरेको छ । पुराना सीमा स्तम्भहरूको खोजी नगरी एकतर्फीरूपमा नेपाली भूमिमा पिलर गाडेपछि स्थानीय संघर्षमा उत्रिनुपरेको सीमा संघर्ष समितिका संयोजक गोपीप्रसाद उपाध्यायले बताए । २०२८ सालमा भूतपूर्व सैनिकहरूलाई बसोबास गराएको उक्त क्षेत्र साबिक सीमादेखि एक किमि दक्षिण पिलर गाडेर नेपाली भूमि अतिक्रमणको प्रयास गरिएको बेलौरी नगरपलिका ८ पचुइका हरिचन्द ठकुरीले बताए ।

यस्तै बेल्डाँडी गाउँपालिका ३ बैबाहास्थित राधाकृष्ण जनप्रिय आधारभूत विद्यालयको जमिनमा सात सय ८३ नम्बरको पिलर गाडेर अढाइ बिघा जमिन भारततर्फ गाभिएको विद्यालयका शिक्षक प्रेमकुमार डगौंराले बताए । नेपाल भारत सीमास्तम्भ नम्बर ३९ लाई आधार नमानी गरिएको सर्वेका कारण सो क्षेत्रमा विवाद देखिएको हो । सो पिलर बेलौरी नगरपालिका ८ पचुइ र टेडियाबीचको हुलाकी राजमार्गभन्दा खप्टी खोलापारि एक किमि दूरीमा दक्षिणतर्फ रहेको छ । अवैज्ञानिकरूपमा गरिएको सीमा सर्वेका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका बेल्डाँडीदेखि पुनर्वाससम्मका आधा दर्जन स्थानमा नेपालले धेरै भू–भाग गुमाउन पर्ने अवस्था देखिएको छ ।

२०६० सालमा गरिएको नेपालभारत सीमा सर्वेक्षणकै बेलादेखि जिल्लाको दक्षिणी भेगमा सीमाको विवाद सुल्झिन सकेको छैन । सो बेला गरिएको अतिक्रमणको विरोध गर्दै पुनर्वासको बीचफाँटामा २०६२ सालमा प्यारातालवारि नेपाली भूमिमा गाडिएका पिलर स्थानीयले भत्काएका थिए । २०७३ सालमा पुनर्वासमा भारतले गरेको अतिक्रमणको विरोधका क्रममा आनन्दबजारका गोबिन्द गौतमले शहादत प्राप्त गरेका थिए ।हालै बेलौरीदेखि बेल्डाडीसम्म नयाँ सीमा स्तम्भ गाडेर राजमार्ग र नहरसमेत भारततर्फ गाभिने गरी गरिएको सिमाङ्नको स्थानीय बासिन्दाहरूले चर्को विरोध गरिरहेका छन् । विरोधमा उत्रिएका स्थानीयहरूले नयाँ सीमा स्तम्भसमेत तोडफोड गरिदिएका छन् । तर, सीमा विवादको समाधान भने हुन सकेको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x