Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहसुल नतिरेपछि गोल्छा र गोल्यानले सञ्चालन गरेको उद्योगका लाइन काटियोे

महसुल नतिरेपछि गोल्छा र गोल्यानले सञ्चालन गरेको उद्योगका लाइन काटियोे


विराटनगर, चैत ७
नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रहेको रघुपति जुट मिलले १५ करोड ५५ लाख ६८ हजार रूपैयाँ शुल्क बुझाउन बाँकी छ । त्यसैगरी सुनसरीको खनारमा रहेको रिलाइन्स इस्पिनिङले एक अर्व १५ करोड रूपैयाँ विद्युत् बक्यौता रकम बुझाएको छैन ।

पटक–पटकको ताकेतामा गर्दा पनि बक्यौता नतिरेको कारण लाइन काटिएको विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्रले जनाएको छ । दुवै केन्द्रले बुधबारबाट विद्युत् लाइन काटिएको सूचना जारी गरेका हुन् । रघुपति जुट मिल र रिलाइन्स स्पीनिङ उद्योगले २०७२ साल साउनदेखि हालसम्म डेडिकेटेड लाइन प्रयोग गरेबापत थप दस्तुरबाहेकको रकम तिर्न बाँकी रहेकोे छ । अदालतको आदेशअनुसार लाइन काटिएको विराटनगर विद्युत् वितरण केन्द्रका केन्द्रप्रमुख राजिव सिंहले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक ग्राहक रघुपति जुटमिलले तोकिएको समयभित्र छुट बिलबापतको बाँकी बक्यौता रकम नबुझाएकोले लाइन काटिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र इटहरीले एक सूचना जारी गर्दै बुधबारबाट रिलाइन्स इस्पिनिङ मिलको लाइन काटिदिएको थियो । तर, प्राधिकरणका जीएम हरराज न्यौपानेको ठाडो आदेशमा इटहरी केन्द्र प्रमुख मिथलेशकुमार गैबारले उक्त उद्योगमा भने सोही दिन काटिएको लाइन जोडिदिएको पाइएको छ । उक्त उद्योगले तिर्नपर्ने रकम नतिरी न्यौपानेको आदेशमा लाइन जोडिएको हो ।

विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहलाई समेत जीएम न्यौपानेले तुरुन्त लाइन जोड्न आदेश दिएका थिए । तर, केन्द्र प्रमुख सिंहले प्राधिकरणको बोर्डबाट बक्यौता असुल नगरी कुनै हालतमा लाइन नजोड्ने अडान राखेका छन् । डेडिकेटेड लाइन जडानदेखि नै जीएम न्यौपानेको भूमिका शंकास्पद रहेको थियो । विराटनगर वितरण केन्द्र प्रमुख सिंहले आफ्नो कार्यालय मातहतमा रहेका तर बिल नतिर्ने ठूला उद्योगको लाइन अब धमाधम काटिने जानकारी दिए । गोल्छा समूहद्वारा सञ्चालित रघुपति जुटमिलको सञ्चालक राजकुमार गोल्छा रहेका छन् भने रिलाइन्स इस्पिनिङ मिल्सका सञ्चालक बासुदेव गोल्यान रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया