मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
आयोजना सम्बद्ध अधिकारीका अनुसार आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत बराबर पुगेको छ । भौतिक पूर्वाधारको काम अन्तिम चरणमा भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्यका साथ अगाडि बढाइएको छ ।
आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । हाल सो अयोजना निर्माणाधीन क्षेत्रको पर्खाल निर्माण एवं अन्य सुरक्षाका कार्य भइरहेको छ । कूल सात दशमलव दुई किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी हाल कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो दुई सय २० केभी प्रसारण लाइनका टावरहरु निर्माण सम्पन्न भएको छ । त्यसको तार तान्न बाँकी छ ।
विसं २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, २०७७ असारमा निर्माणस्थल भोटेकोसी नदी एवं आसपासका क्षेत्रमा आएको बाढी–पहिरो र कोभिड–१९को महामारीको चपेटामा आयोजना परेको थियो ।
प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यासम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको थियो तर, करिब दुई वर्षको अवधिमा ठेकेदार कम्पनीले उत्साहजनकरुपमा काम गरी आयोजनालाई निर्माण सम्पन्न हुने अवस्थामा पु¥याएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राससलाई जानकारी दिए ।
कार्यकारी निर्देशक घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजनाको प्रवर्द्धक मध्य भोटेकोसी जलविद्युत् कम्पनीका अध्यक्ष सुभाषकुमार मिश्र, प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीसहितको टोलीले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिएको छ ।
टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी र परामर्शदातासँग छलफल गरी आगामी चार महिनाभित्र सम्पन्न गर्ने गरी बाँकी रहेका कामलाई तिब्रता दिन निर्देशन दिएको छ । कार्यकारी निर्देशक घिसिङले प्राकृतिक प्रकोपको चपेटामा परेर करिब बन्दको अवस्थामा पुगिसकेको आयोजनाको हालको निर्माण प्रगति सन्तोषजनक देखिएको बताएका छन् । कम्पनीका सिइओ सिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले आगामी असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखी सोहीबमोजिम एकीकृत तालिका बनाएर काम भइरहेको उल्लेख गरे ।
ठेकेदार कम्पनीका प्रतिनिधिले कुनै समस्या नआएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने काम गरिरहेको बताएका थिए । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिज हाइड्रोले गरिरहेको छ ।
आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक रु. १२ अर्ब २८ करोड ३३ लाख रहेको थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु. १५ अर्ब तीन करोड दुई लाख छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी र सिन्धु भोटेकोसी हाइड्रोपावरको समान एक/एक एक प्रतिशत सेयर रहेको छ ।
कूल ४९ प्रतिशत साधारण सेयरधनी समूहमा (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९ दशमलव पाँच, संस्थापक सङ्गठित संस्थाका कर्मचारीको तीन दशमलव पाँच, ऋणदाता संस्थाका कर्मचारीको एक, सिन्धुपाल्चोकवासीकोे १० र सर्वसाधारणको १५ प्रतिशत सेयर) रहेका छन् । कम्पनीले साधारण सेयर निष्कासन गरी रकम सङ्कलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार छन् ।
आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक रु. दुई अर्ब ८० करोड आम्दानी हुनेछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया