‘अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्थामा पुगेको छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सजिलो अवस्थामा नरहे पनि आत्तिनुपर्ने अवस्थामा पनि नरहेको प्रस्ट पारेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभाको राजधानीमा उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता अर्थतन्त्र सुधार भएको बताए ।
‘गतवर्ष वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा थियो’, उनले भने, ‘तत्कालीन अवस्थामा लिइएका नीतिले अहिले अवस्था सुुधारोन्मुख भएको छ ।’ उनले देशसँग १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने सञ्चिति रहेको बताए । उनका अनुसार अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको छ । ‘बाह्य क्षेत्र सन्तुलनमा राख्नका निमित्त विगतमा कसिलो मौद्रिक नीति जरुरी थियो तर अहिले त्यो संकट टरिसकेको छ’, उनले भने । सरकारको ध्यान अहिले आर्थिक गतिविधिलाई कसरी चलायामान बनाउने र अर्थतन्त्रका सूचकमा कसरी सुधार ल्याउनेमा रहेको उनले स्पष्ट पारे । ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गम्भीर पहल लिने निर्णय गरेको छु’, उनले भने, ‘निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै चुनौतीलाई अवसरमा बदल्न सरकार संकल्पबद्ध छ ।’
यस्तै उनले विकास निर्माणका काम राज्यसँगको समन्वयमा तोकिएकै समयमा पूरा गर्न निर्माण व्यवसायीसँग आग्रह गरे । निर्माण व्यवसायीले तोकिएको समय, गुणस्तर र मापदण्डमै काम गर्न प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ । सरकारको ध्यान पुँजीगत खर्च बढाउने, मौद्रिक नीतिमा परिमार्जन र व्यवसायीलाई समयमै भुक्तान गर्ने रहेको उनले बताए । यस्तै उनले व्यवसायीहरूका जायज मागलाई सम्बोधन गरिने पनि प्रतिबद्धता जनाए । निर्माण उद्योगसँग सम्बन्धित ऐन नियम संशोधन गर्दा अब अनिवार्यरूपमा निर्माण व्यवसायीहरूसँग परामर्श गरिने उनको भनाइ थियो ।
कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले व्यवसायीहरूसँग ‘मिलोमतो’ होइन मिलेर अघि बढिने बताए । निर्माण उद्योगका समस्याबारे आफू जानकार रहेको बताउँदै उनले समस्या समाधानका लागि नीतिगतरूपमा नै पहल भइरहेको बताए । मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले पाउन बाँकी भुक्तानी उपलब्ध गराउन सरकारले तयारी गरिरहेको समेत जानकारी दिए । प्रक्रियागत समस्या र जिम्मेवारीबोधमा भएका समस्याका कारण भुक्तानी रोकिएको भन्दै उनले समयमै भुक्तानीका लागि प्रधानमन्त्री र अर्थ मन्त्रालयसँग छलफल गरिरहेको बताए । यस्तै मन्त्री श्रेष्ठले व्यवसायीलाई जिम्मेवार बन्न समेत निर्देशन दिए ।
कार्यक्रममा सांसद गंगा कार्कीले अर्थतन्त्र कमजोर हुँदा निर्माण उद्योग मारमा परेको बताए । पूर्वसांसद एवं महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पाले राजनीतिक अस्थिरताको मार निर्माण उद्योगले भोगेको बताए । महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको मागका विषयमा सरकार गम्भीर नभएको अरोप लगाए । व्यवसायीहरूको अरबौँ भुक्तानी रोकिएको, ऐन कानुनअनुसार पाउनुपर्ने मोबिलाइजेसन पेस्की व्यवसायीहरूले नपाएको, काम गर्ने वातावरण नभएको लगायतका विषयमा अध्यक्ष सिंहले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण समेत गराए । सरकारले बजेट खर्च गर्न नसकेका कारण निर्माण व्यवसायीले समयमै भुक्तानी नपाएको उनको गुनासो छ । ‘वर्षको छ महिनाको तथ्यांकले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजित ९९ अर्ब बजेटमध्ये १५ अर्ब मात्रै खर्च भएको छ’, उनले भने ।
कार्यक्रममा महासंघका पूर्वअध्ययक्षहरूले व्यवसायीहरू सफल भएमा मात्र राज्य सफल हुने भन्दै चाहेर पनि निर्माण व्यवसायीहरूले काम गर्ने अवस्था नरहेको बताए । यस्तै चेम्बर अफ कमर्सका अध्यक्ष रोजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाललगायतले राजस्व संकलनमा कमी आउँदा अर्थतन्त्र धराशायी बन्दै भएको तर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा प्रधानमन्त्री दाहालले महासंघको मुखपत्र ‘निर्माण विशेषाङ्क’को विमोचन समेत गरेका थिए । साथै उनले अग्रज निर्माण व्यवसायीहरू हरिप्रसाद पाण्डे, देवकृष्ण मानन्धर, प्रताप तामाङ र आईपी प्रधानलाई सम्मान समेत गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया