Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना भाइरसको असर एफडीआईमा देखिएन प्रतिबद्धता शतप्रतिशतले बढ्यो

कोरोना भाइरसको असर एफडीआईमा देखिएन प्रतिबद्धता शतप्रतिशतले बढ्यो


प्रवीण राउत
काठमाडौं, चैत ९
विश्वभर नोवल कोरोना भाइरस (कोभिड १९) को असर अधिकांश क्षेत्रमा पर्दा नेपालको उद्योग क्षेत्रमा गरिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा भने नपरेको देखिएको छ । नेपालको उद्योग क्षेत्रमा एफडीआईतर्फ भने गत आर्थिक वर्षको तुलनामा शतप्रतिशत अर्थात् एक खर्ब २७ अर्ब ९१ करोड ९१ लाख रुपैयाँले वृद्धि भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को आठ महिना अर्थात् साउनदेखि फागुनसम्मको अवधिमा नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरुले एक खर्ब २७ अर्ब ९१ करोड ९१ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुको सो लगानी प्रतिबद्धता दुई सय ४२ वटा उद्योग स्थापना तथा १५ हजार सात सय १३ जनालाई रोजगारी दिनेसहितको हो ।

गत वर्षको सोही समयमा विदेशी लगानीकर्ताहरुले उद्योग क्षेत्रमा १५ अर्ब ३६ करोड २६ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले दुई सय २५ वटा उद्योग स्थापना तथा आठ हजार एक सय आठ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत जनाएका थिए । विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले गत वर्षको तुलनामा चालू आवमा विदेशी लगानीकर्ताहरुले नेपालको उद्योग क्षेत्रमा गर्ने लगानी प्रतिबद्धता, रोजगारी र उद्योगको संख्यामा समेत वृद्धि भएको बताए ।

पछिल्लो समयमा भने कोरोना भाइरसको असर उद्योग क्षेत्रमा परेको बताउँदै उनले भने, ‘गत वर्षको तुलनामा एफडीआई स्वीकृति वृद्धि भए पनि चालू आवको पछिल्लो महिनामा भने एफडीआईमा कमी आएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण मानिसहरु अति आवश्यक कामबाहेक यात्र नगर्न आग्रह गरेसँगै विदेशी लगानीकर्ताहरु नेपाल आउन असम्भव हुँदा उद्योगमा विदेशी लगानीकर्ताले गर्ने लगानीमा प्रतिबद्धतामा कमी आएको छ । उनले पछिल्ला वर्षहरुमा सरकारले एकल विन्दु सेवा केन्द्र (ओएसएससी) तथा विदेशी लगानी तथा हस्तान्तरण ऐन २०७५ निर्माणलगायतको कार्य गरेको कारण नेपालको उद्योग क्षेत्रमा विदेशी लगानीकर्ताहरु आकर्षित हुँदा लगानी रकममा वृद्धि भएको बताए ।

विभागका अनुसार चालू आवको आठ महिनामा लगानीकर्ताहरुले सबैभन्दा धेरै ऊर्जामा तथा सबैभन्दा कम कृषिमा लगानी प्रतिबद्धता जनाएका छन् । विदेशी लगानीकर्ताहरुले ऊर्जामा ८० अर्ब ७९ करोड ३७ लाख तथा कृषिमा एक अर्ब १२ करोड ६४ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सूचना तथा प्रविधिमा दुई अर्ब ८४ करोड एक लाख यस्तै लगानीकर्ताहरुले पर्यटनमा १९ अर्ब ३७ करोड ७२ लाख, उत्पादनमा १६ अर्ब ९४ करोड ११ लाख, सेवामा छ अर्ब ८४ करोड पाँच लाख लगानी प्रतिबद्धता जनाएका छन् । उनीहरुले कृषिमा नौ वटा, ऊर्जामा ३६ वटा, सूचना तथा प्रविधिमा १७ वटा, उत्पादनमा ५७ वटा, सेवामा ३९ वटा, पर्यटनमा ८४ वटा गरी दुई सय ४२ वटा उद्योग स्थापना गर्ने जनाएका छन् भने १५ हजार सात सय १३ जनालाई रोजगारी दिने बताएका छन् ।

गत आवको सोही समयमा लगानीकर्ताहरुले कृषिमा नौ करोड ४० लाख, सूचना तथा प्रविधिमा ४६ करोड ५९ लाख, उत्पादनमा सात अर्ब ४८ करोड ८१ लाख लगानी प्रतिबद्धता जनाएका थिए भने खनिजमा एक करोड ८८ लाख, सेवामा एक अर्ब ९० करोड ३० लाख, पर्यटनमा पाँच अर्ब ३९ करोड २८ लाख लगानी प्रतिबद्धता जनाएका थिए । उनीहरुले कृषिमा नौवटा, सूचना तथा प्रविधिमा १७ वटा, उत्पादनमा ५२ वटा, खनिजमा दुईवटा, सेवामा ७६ वटा र पर्यटनमा ६९ वटा गरी कुल दुई सय २५ वटा उद्योग स्थापना गर्ने तथा आठ हजार एक सय आठ जनालाई रोजगारी दिने बताएका थिए ।

विभागका अनुसार नेपालको उद्योग क्षेत्रमा सबैभन्दा बढी लगानी प्रतिबद्धता जनाउनेमा छिमेकी मुलुकद्वय चिनियाँ र भारतीय लगानीकर्ताहरु रहेका छन् भने त्यसपछि बेलायती, अष्ट्रेलिया , बंगलादेश, हङकङ, जापान, संयुक्त अरब इमिरेट्स (युएई) पाकिस्तान र मलेसियाकालगानीकर्ताहरु रहेका छन् । विभागका अनुसार चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण चिनियाँ नागरिक तथा लगानीकर्ताहरु नेपाल आउन सम्भव छैन भने अन्य मुलुकको हकमा पनि सोही अवस्था रहेको हुँदा लगानीकर्ताहरु नेपाल आउन सम्भव नहुँदा अबको समयमा लगानी प्रतिबद्धतामा कमी आउने निश्चित रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया