Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको त्रासले औद्योगिक करिडोर प्रभावित

कोरोनाको त्रासले औद्योगिक करिडोर प्रभावित


विराटनगर, चैत ९
विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) बाट अहिलेसम्म सार्वजनिक स्वास्थ्यको संकटबाट जोगिएको नेपालको अर्थतन्त्रमा भने गम्भीर संक्रमण सुरू भएको छ । नेपाली अर्थतन्त्रलाई गति दिने पर्यटन, पूर्वाधार निर्माण, रेमिट्यान्स र वैदेशिक व्यापार अहिले ठप्प बनेसँगै अर्थतन्त्रमा गम्भीर संक्रमण सुरू भएको हो ।

कोरोना प्रकोपले निर्माणाधीन कैयौं जलविद्युत् आयोजना, सडक र विमानस्थलको काममा समेत अवरोध पु-याएको छ । कोरोना त्रासदीका कारण देशको मुख्य आकर्षण पर्यटकको आगमन नराम्ररी खस्किँदा पर्यटन क्षेत्र सुस्ताएसँगै अर्थतन्त्र नै धरापमा पर्न जानसक्ने सम्भावना बढेर गएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीको भनाइ छ । कोरोनाले अर्थतन्त्र विस्तारका थोक तथा खुद्रा व्यापार, यातायात, निर्माण, होटल तथा रेस्टुराँ, उद्योगमा सोझै असर पारेको छ ।

कोरोना भाइरसको जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ र तातोपानीबाट गत १६ माघदेखि नै आयात ठप्प छ । यसले बजारमा चीनबाट आउने विद्युतीय सामान, लत्ताकपडा, जुत्ता तथा मेसिनरी उपकरणको अभाव हुन थालेको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीहरूले बताए । गत वर्ष झण्डै ११ प्रतिशतले विस्तार भएको थोक तथा खुद्रा व्यापार क्षेत्र यो वर्ष आयातको सुस्ततासँगै औद्योगिक उत्पादनमा समेत शिथिलता आएको छ ।

कोरोना भाइरस संक्रमण विस्तारको अनिश्चयजस्तै नेपाली अर्थतन्त्रमा कोरोनाले गहिरो चोट पार्दै छ भन्ने प्रष्ट भइसकेको छ । तर यसको प्रभाव कति लामो र गहिरो पर्छ भन्ने विषय यो महामारी कतिन्जेल रहन्छ भन्नेमा निर्भर हुने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दरा बताउँछन् । कोरोनाको प्रभावले अर्को वर्षसम्म नै अर्थतन्त्रको विस्तारमा बाधा पु-याउने संकेतहरू मिलिसकेको हुँदा निजी क्षेत्रको मनोबल उच्च राख्नका लागि सरकारले चैत मसान्तमा बुझाउने सरकारी राजस्व र बैंक ब्याजमा सहुलियत दिनुपर्ने मुन्दराको भनाइ छ । उनले श्रीलंका सरकारले सबै बैंकहरुलाई छ महिनाको ब्याज मिनाहा गर्न निर्देशन गरेर निजी क्षेत्रको मनोबल उकास्ने काम गरेजस्तै नेपाल सरकारले पनि अर्थतन्त्रमा परेको असरलाई बेवास्ता नगरी छिटो आफ्नो धारणा सार्वजजिक गर्नुपर्ने उनले बताए ।

कोरोना भाइरसको महामारीले सुनसरी मोरङ औद्योगिक करिडोरमा आश्रित हजारौं मजदुरको दैनिकीलाई समेत खल्बल्याउन थालेको छ । कोरोना धक्काको असर उद्योगमा आश्रित मजदुरहरु र उनीहरूका परिवारले भोग्न थालेका छन् । बेरोजगारीले त्यस्ता परिवारलाई गरिबीतर्फ धकेल्ने जोखिम उच्च रहेको हुँदा समयमा नै सरकार सतर्क हुनुपर्ने उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं बागमती आयल इण्डष्ट्रिजका सञ्चालक नन्दकिशोर राठीले बताए ।

पछिल्लो समय बजारमा पनि विद्युतीय सामग्री, लत्ताकपडा, जुत्ता तथा घरायसी प्रयोगका सामानको व्यापारमा पनि केही संकुचन आएको उनको भनाइ छ । उनले भने, ‘नयाँ सामान नआएकाले बजारमा चहलपहल छैन । अझै केही महिना आउने देखिँदैन, यही स्थिति रहे धितो बैंकलाई बुझाएर हिँड्ने अवस्था छ ।’ विराटनगरमा सञ्चालित होटल एसियाटिकका सञ्चालक पुन्य प्रसाद भट्टराईले अर्बौं लगानीका होटलसहितका पूर्वाधार निर्माण भए पनि कोरोना त्रासका कारण व्यवसाय संकटमा धकेलिएको बताए । होटल तथा रेस्टुराँको व्यवसाय मात्र नभई ग्रामीण भेगका होमस्टे समेत थलिएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया