Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण

एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण


काठमाडौं । एनआईसी एसिया बैंकका कर्मचारीमाथि भएको आक्रमणका विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले सरकारको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरु दिनानुदिन बढिरहेको प्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले ध्यानाकर्षण भएको जनाएको हो ।

सिबिफिनले विज्ञप्तिमार्फत भनेको छ, ‘जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको शृंखला आज ज्यान लिने गरी घटाइएको छ । यसै सन्दर्भमा मिति २०७९ चैत २ गतेका दिन गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरुपमा गरिएको सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाको सिबिफिन घोर भत्र्सना गर्दछ ।’ निहित स्वार्थपूर्तिका लागि बैंकिङजस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्न समेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गरिएको छ ।

वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक् घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थ व्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको सिबिफिनले जनाएको छ ।

‘आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्बाधरुपमा सञ्चालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा पुनः हार्दिक अपिल गर्दछौँ’, सिबिफिनले भनेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया