पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु
काठमाडौं । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए ।
चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी एवं स्थानीयलाई जात्रा हेर्न आउनु भनी निमन्त्रणा दिने लिच्छविकालदेखिको परम्परा रहेको जनाइएको छ ।
यसअघि बज्रेश्वरी, वत्सलेश्वरी, आकाशभैरव, पशुपति क्षेत्रका नौ शक्तिपीठलगायत स्थानमा देशोद्धार पूजा सम्पन्न गरिएको थियो । पूजा सम्पन्न गरी बज्रेश्वरी जात्रा सुरु गरिएको हो । वत्सलेश्वरी जात्रा आजदेखि तीनदिनसम्म मनाइन्छ । चैत्र शुक्ल द्वितीयाका दिन सिन्दुर जात्रा गरी वत्सलेश्वरी जात्रा समापन गरिन्छ ।
मुलुकमा शान्ति होस् भन्ने कामनाले पूजा एवं जात्रा गरिएकाले दूध खाने बालक पनि यो जात्रा हेर्न आउँछन् भन्ने विश्वास पशुपति क्षेत्रमा गरिन्छ । देशोद्धार पूजा र जात्रामा चार थरका मानिस प्रत्यक्षरुपमा संलग्न हुने गरेका छन् । उपाध्याय, वैद्य, डङ्गोल र सङ्गत गरी चार थर प्रत्यक्षरुपमा सहभागी हुने गरेको उनले सुनाए ।
वत्सलेश्वरीलाई नक्साल भगवतीको दिदीका रुपमा पूजा आराधना गरिन्छ । भगवान् शिवको पत्नीका रुपमा पूजिने वत्सलेश्वरीलाई पशुपतिबाट निकालेको भन्ने किंवदन्तीका आधारमा आज नक्साल भगवतीको जात्रा पनि पशुपति क्षेत्रमा लगिन्छ । नक्साल भगवतीले भगवान् शिवको ध्यानाकर्षण गराउन आज बेलुकी रथले पशुपतिको मूलढोकामा तीनपटक ठोकाएर फर्काउने प्रचलन रहिआएको छ ।
बहिनीले श्रीमान्को ध्यानाकर्षण गराएपछि वत्सलेश्वरी माता भने चैत्र शुक्ल प्रतिपदाका राति छोरा चन्द्रविनायककहाँ बस्न जाने परम्परा छ । यसै परम्पराअनुसार वत्सलेश्वरीको रथ तानेर चाबहिल गणेशसमेत भनेर पुजिने चन्द्रविनायकमा लगिन्छ । त्यहाँबाट पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाएर पशुपति अमालकोटमा ल्याई सिन्दुर जात्रा गरेपछि १० दिन लामो जात्रा सकिने परम्परा छ ।
प्रत्येक वर्ष यो जात्रा मनाएमा जनतामा रोगव्याध नलाग्ने तथा सुख, शान्ति हुने विश्वास रहेको छ । यसै विश्वासले बालबालिका पनि जात्रा हेर्न पशुपति क्षेत्रमा आउने गरेका छन् । जात्राका क्रममा जयवागेश्वरीको नवाली टोलमा वत्सलेश्वरी माताको रथलाई राखिएको थियो । सिफलचौरमा रथ घुमाएर जात्रा गरिन्छ । सिफल ढोकामा पशुपतिका कोटवालाले चमर पङ्खा हम्केर मातालाई आह्वान गर्ने विधि छ । चैत ९ गते बिहीबार यो जात्रा समापन हुन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
- बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक
- प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी
- युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल
- धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
- समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया